कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

सन् २०२२ को 'सामाजिक न्यायका लागि दर्नाल पुरस्कार' घोषणा

काठमाडौँ — यस वर्षको ‘सामाजिक न्यायका लागि दर्नाल पुरस्कार’(डीएएसजे) नेपालको समुदायमा आधारित कलासँग सम्बन्धित संस्था कर्णाली आर्टस् सेन्टर (केएसी) तथा संयुक्त राज्य अमेरिकामा रहेको दलित नागरिक अधिकारवादी संस्था इक्वेलिटी लायब्स (ईएल) लाई प्रदान गरिने भएको छ ।

सन् २०२२ को 'सामाजिक न्यायका लागि दर्नाल पुरस्कार' घोषणा

दर्नाल पुरस्कार छनोट समितिले जातीय असमानता र विभेद अन्त्य गर्न प्रतिबद्धता, साहस र कल्पनाशीलताका लागि दलित नेतृत्वका दुई संस्थालाई पुरस्कृत गर्ने निर्णय गरेको हो । पुरस्कार विजेता दुवै संस्थालाई जुन ८, २०२२ (जेठ २५, २०७९) मा काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा आयोजना हुने द्विवार्षिक अन्तर्राष्ट्रिय पुरस्कार वितरण समारोहमा प्रत्येकलाई २ लाख ५० हजार राशिसहित पुरस्कार प्रदान गरिने छ ।

यसबाहेक, दर्नाल पुरस्कार छनोट समितिले अन्य वर्षमा जस्तै सामाजिक न्यायको क्षेत्रमा क्रियाशील दलित समुदायका लेखक तथा पत्रकार ध्रुवसत्य परियार र मानव बेचबिखन विरोधी अभियन्ता करुणा त्रिखत्रीलाई सन् २०२२ को सम्मान प्रदान गर्ने निर्णय गरेको छ ।

'सन् २०२२ को ‘सामाजिक न्यायका लागि दर्नाल पुरस्कार’ को मूल विषय ‘कला र मानविकी’ भएकोले हामीले जातका प्रश्नमा रचनात्मक रूपमा क्रियाशील रहेका राष्ट्रिय र अन्तर्राष्ट्रिय मनोनयनको उल्लेखनीय सहभागिता प्राप्त गर्यौँ । कर्णालीको दुर्गम कुनादेखि सिलिकन भ्यालीको प्राविधिक हबसम्म फैलिएका उहाँहरूका संघर्ष र प्रतिरोधका कथाले जात एक विश्वव्यापी मुद्दा हो भन्ने प्रमाणित गर्छन्, किनभने जुनसुकै वर्ग र शैक्षिक स्तरका भए पनि दक्षिण एसियालीहरू जहाँ–जहाँ पुग्छन्, उनीहरूले सामान्यतः जातीय विभेद र छुवाछूत गरेका उदाहरण छन् । उहाँहरूका व्यक्तिगत, संस्थागत र अन्वेषणका कथाहरूले गहिरोसँग जरा गाडेका जातका मुद्दालाई शक्तिशाली ढंगले सम्बोधन गरिरहेका छन्, चुनौती दिइरहेका छन्, दलित कथाहरूको पुनर्कल्पना तथा पुनर्लेखन गरिरहेका छन्, ' पुरस्कार छनोट समितिले सोमबार एक विज्ञप्तिमार्फत भनेको छ ।

दर्नाल पुरस्कार र सम्मान समारोह सरिता परियार ट्रस्ट फण्डले समता फाउन्डेसनसँगको सहकार्यमा सामाजिक न्यायका अगुवा सुभास दर्नालको जीवन र सम्झनामा आयोजना गर्दै आएको छ । दलित जीवनका माया, ज्ञान, विवेक र प्रतिरोधजस्ता बहुआयामिक पक्षलाई उजागर गर्ने र उत्सव मनाउने क्रममा यस पुरस्कारले नेपालको विशिष्ट प्रकारको जातको इतिहासलाई केन्द्रमा राख्दै बहसलाई अगाडि बढाउन कोसिस गरिरहेको छ । त्यस्तै, सबैको समान भविष्य र न्यायको निम्ति हातेमालो गर्न सहयोगी संयन्त्र निर्माण गरिरहेको छ ।

प्रकाशित : जेष्ठ ९, २०७९ १३:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?