सिक्किममा तीनदिने ‘दलित र सबाल्टर्न’ संगोष्ठी

मनोज बोगटी

सिक्किम — आधुनिक भारतीय नेपाली साहित्यमा दलित र सबाल्टर्न शीर्षकमा सिक्किमको नाम्ची महाविद्यालयले तीनदिने अन्तर्राष्ट्रिय संगोष्ठी सञ्चालन गरेको छ । भारत सरकारको मानव संसाधन विकासको प्रकल्प राष्ट्रिय उच्चतर शिक्षा अभियानले आयोजना गरेको उक्त कार्यक्रममा तीन दिनमा ६ वटा प्राविधिक सत्र चलेको थियो । 

सिक्किममा तीनदिने ‘दलित र सबाल्टर्न’ संगोष्ठी

नेपालका समालोचक गोविन्दराज भट्टराईले प्रमुख वक्तव्य दिएका थिए । सबाल्टर्न र दलित अध्ययन सम्बन्धमा राखेको वृहत् संगोष्ठीलाई सम्बोधन गर्दै भट्टराईले भने‚ ‘अबको बेला भनेकै पुराना कुरालाई स-सम्मान फुकाएर नयाँ दिशातिर लैजानुपर्ने बेला हो । हाम्रा सिर्जनाहरूलाई विश्वमा कुन र कस्ता दृष्टिकोणबाट देखाउने त ? अब त्यसको सम्भावना र सिद्धान्त बनाउनु अनिवार्य छ। त्यसको सुरुवात सिक्किमबाट भयो ।’

आयोजकको पक्षबाट नाम्ची कलेजका प्राचार्य दीपक तिवारीले भने, ‘किनारका सन्दर्भलाई केन्द्रमा ल्याउने र डिस्कोर्स निर्माण गर्ने हाम्रो प्रयास हो। नेपाल र भारतबाट लेखिने नेपाली साहित्यमा कहिलेकाहीं अवधारणागत विरोधाभास देखिन्छन् । त्यही संशयहरू केलाउने अभ्यास हो ।’

कवि मनप्रसाद सुब्बाले विषयको चुरो खोले । उनले सबाल्टर्न चेतनाको निर्माणमा सामाजिक परिवेश, राज्य-व्यवस्था, सत्ता र शक्ति-केन्द्रको सोझो हात रहने बताए ।

‘भारत र नेपाल दुवैतिरका समाजमा जात, व्यवसाय, लिंग र अन्य आधारमा हुने गरेका विभेदकारी कारकका आधारमा नै दलित विमर्शको स्वरूप चिन्ने हो,’ उनले भने ।

प्रकाशित : वैशाख २४, २०७९ ११:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?