कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

महिला लेखक भन्छन् : लेख्नु छ, दरिलो लेखक हो भनेर प्रमाणित पनि गर्नु छ  

‘मैले औपचारिक शिक्षा ६ कक्षासम्म मात्रै पढेको छु, यसैलाई लिएर मेरो लेखन क्षमतामाथि प्रश्न गरिन्छ, त्यति थोरै पढेकोले कसरी किताब लेख्न सक्छ र ! अरुले नै लेखिदिएका हुन् भनेर महिला लेखकहरूले नै भन्नुहुन्छ ।’
विद्या राई

काठमाडौँ — पूर्वी पहाडको इलाम पुर्ख्यौली थलो भएकी तारा राई १४ वर्षकै कलिलो उमेरमा सशस्त्र द्वन्द्वमा होमिइन् । माओवादी छापामार हुँदाको जीवन भोगाइलाई उतारेर ०६८ सालमा ‘छापामार युवतीको डायरी’ लिएर नेपाली लेखन क्षेत्रमा उदाइन् ।

महिला लेखक भन्छन् : लेख्नु छ, दरिलो लेखक हो भनेर प्रमाणित पनि गर्नु छ  

उनको नामजस्तै जीवन भोगाइको किताब पनि पाठकमाझ लोकप्रिय छ । प्रकाशनमा आएको दशक भइसक्दा हालसम्म १३औं संस्करण बजारमा आइसकेको छ ।

‘छापामार युवतीको डायरी’ लाई अनुवाद तथा सम्पादन गरेर बेलायतबाट ‘गुरिल्ला गर्ल’ को नामबाट अंग्रेजी संस्करणमा प्रकाशित गरिएको छ । लेखनमा छुट्टै पहिचान बनाएकी भए पनि उनको क्षमतालाई लिएर औंला उठाउनेहरुको अझै कमी छैन । ‘मैले औपचारिक शिक्षा ६ कक्षासम्म मात्रै पढेको छु, यसैलाई लिएर मेरो लेखन क्षमतामाथि प्रश्न गरिन्छ, त्यति थोरै पढेकोले कसरी किताब लेख्न सक्छ र ! अरुले नै लेखिदिएका हुन् भनेर महिला लेखकहरूले नै भन्नुहुन्छ,’ यसले आफूलाई नमिठो महसुस गराउने गरेको मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सुनाइन् । उपन्यास लेखनमा व्यस्त उनले भनिन्, ‘यति धेरै लेख्न मन छ कि ती भ्रमहरुलाई चिर्नुछ, ‘लेखक हुँ’ भनेर प्रमाणित गरेर देखाउनुछ ।’

धनगढीमा बसेर लेखनमा क्रियाशील लेखक सानु चौधरी संघर्षको कथा सुनाउँदै १६ वर्षअघि फर्किइन् । उनी त्यतिबेला १५ वर्षकी थिइन् । पतिको मृत्यु हुँदा उनको काखमा ४ महिनाको छोरा थियो । पतिको मृत्युपछि परिवार, नातेदार, आफन्त, छरछिमेक तथा समाजबाट चरम विभेद भोगिन् । पति बितेको ८ वर्षपछि उनको दोस्रो विवाह भयो । यद्यपि लवाइखुवाइ, हिँडडुललगायत उनका हरेक गतिविधिमा अनावश्यक चियोचर्चा र कुरा काट्ने काम बन्द भएन । यसले उनलाई विद्रोही हुन सिकायो र एकल महिला भएकैले खपेका भोगाइलाई कवितामार्फत प्रस्तुत गर्न थालिन् ।

पत्रपत्रिकाहरु कविताहरु प्रकाशन हुन थाले । ती कविता र लेखहरु पढेर एकल महिलाहरुले खुसी व्यक्त गर्थे । उनलाई लेखनमा झन हौसला थप्थ्यो । तर लेखनलाई निरन्तरता दिन परिवारभित्रै संघर्ष गरिरहनुपरेको छ उनले । ‘दोस्रो विवाह गरे पनि म विधवा हुँदा भोगेको अनुभव अझै भुलेको छैन, यी विषयहरुमा लेख्न मन लाग्छ, लेख्दै आएको छु, तर विवाह भैसकेरपनि किन यस्तो लेख्छ भनेर मान्छेहरु नराम्रो तरिकाले हेर्छन्,’ लेखनलाई परिष्कृत र निरन्तरता दिन परिवारभित्रै संघर्ष गरिरहेकी उनले भनिन्, ‘तर मेरो कलमलाई कसैले रोक्न सक्दैन ।’ उनी महिलामाथिको थिचोमिचो, असमानता, भेदभावविरुद्ध लेखनमार्फत आवाज उठाउने गर्छिन् ।

लेखक शोभा दुलालले महिलाको लेख छाप्न प्रकाशकहरुले हत्तपत्त विश्वास नगर्ने दुखेसो पोखिन् । ‘हामीलाई विश्वास गर्दैनन्, जति पुरुषको लेखनलाई विश्वास गर्छन्, राम्रो लेख्यो भने पुरुषको हात छ यसमा भनेर भन्छन्, आफूलाई प्रमाणित गर्नकै लागि पनि निरन्तर लेखिरहन चाहन्छु,’ उनले भनिन् । गैरदलित र पितृसत्तात्मक समाजसँग संघर्ष गरिरहनुपरेको लेखक पञ्चकुमारी परियारले बताइन् ।

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर बेलायती राजदूतावासले आयोजना गरेको अन्तरक्रियामा महिला लेखकले आफ्ना अनुभव व्यक्त गरेका थिए । अन्तरक्रियामा बेलायती राजदूत निकोला पोलिटसँग देशभरमा महिला लेखकहरुबीच अनुभव आदानप्रदान भएको थियो । यसको संयोजन गर्ने सांग्रिला बुक्सकी सम्पादक तथा लेखक आन्विका गिरी, मनिषा गौचन (मुस्ताङ), पञ्चकुमारी परियार (खोटाङ), सीमा आभास (विराटनगर), शकुन्तला जोशी (इलाम), सानु चौधरी (धनगढी), तारा राई (झापा), लक्ष्मी माली र शोभा दुलालगरी ९ महिला लेखकहरुको सहभागिता थियो ।

सांग्रिला बुक्सकी सम्पादक तथा लेखक गिरीले सबै महिला लेखकहरुको लेखन संघर्षलाई संक्षेपिकरण गर्दै भनिन्, ‘हामी आफैले लेखेर, मेहनत गरेर पुरुषको दाँजोमा प्रतिस्पर्धामा आउनुपर्नेछ, लेख्नुछ, आफूलाई दरिलो लेखक हो भनेर प्रमाणित पनि गर्नुछ, हामी महिलाहरु दोहोरो जिम्मेवारीमा छौं ।’ लेखक मनिषा गौचनले भनिन्, ‘हामीले के लेखिरहेका छौं, कस्तो लेखिरहेका छौं भन्नेमा स्पष्ट हुँदै गुणस्तरीय लेखनलाई जोड दिनु जरुरी छ ।’

महिला लेखकहरुको अनुभव र संघर्ष सुनेपछि बेलायती राजदूत निकोला पोलिटले भनिन्, ‘बेलायतमा पनि महिला लेखकहरुले संघर्ष गरिरहेका छन्, नेपालबाट हेर्दा मात्रै सानो लागेको हो, उनीहरुले इन्टरनेट प्रविधिको माध्यमबाट स्वतन्त्र रूपमा आफैले पनि प्रकाशन गर्ने गर्छन्, नेपालमा पनि यो गर्न सक्नुहुन्छ, चुनौतीहरू सामना गर्न जरुरी छ ।’

प्रकाशित : वैशाख २०, २०७९ १६:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?