कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नयाँघरेको ‘याकजी’ विमोचन

काठमाडौँ — निबन्धकार तथा नियात्राकार युवराज नयाँघरेको ‘याकजी’ निबन्ध संग्रह विमोचन भएको छ । प्राज्ञ तथा प्रसिद्ध नाटककार अशेष मल्लले विमोचन गरेको उक्त नियात्राका कृतिमा तल्लो र माथिल्लो डोल्पाको भूगोल, संस्कृति, जनजीवन र विकटताको वर्णन छ ।

नयाँघरेको ‘याकजी’ विमोचन

विमोचनपछि नाटककार मल्लले भने‚ ‘डोल्पाली समाजको असाध्यै सूक्ष्म वर्णन गरिएको यो कृति कला र शिल्पको हिसाबले महत्त्वपूर्ण छ । यो कृति यात्रा मात्रै नभएर सामाजिक रुपमा गहिरो अध्ययन गरिएको विशेष ग्रन्थ हो ।’

कार्यक्रममा समालोचक महेश पौडेलले भने‚ ‘याकजी उपल्लो डोल्पाको समग्र अध्ययन र साहित्यिक स्वाद दिनका लागि सक्षम भएको छ । विवरणभन्दा अनुभूतिले भरिभराउ यो कृति यात्रा लेखनको एक मानक ग्रन्थ बन्न पुगेको छ । पुस्तकमा नयाँघरेशैली मजाले भेट्न सकिन्छ ।’

नियात्रा समाज नेपालका अध्यक्ष तथा नियात्राकार प्रतीक ढकालले याकजी नेपाली यात्रा साहित्यको एक अमूल्य कृतिका रुपमा आएको बताए । ‘कला, शिल्प र शैलीको एक विशेष र चमत्कारिक अनुहार हामी यहाँ भेट्न सक्छौं । नयाँघरेको मौलिक भाषिक प्रयोग र ठेट नेपालीपनलाई यहाँ पनि आत्मसात् गरिएको अनुभव गर्न सकिन्छ । डोल्पाली समाजलाई अत्यन्तै सूक्ष्म र विशेष कलाकारिता प्रस्तुत गरी लेख्नमा नयाँघरे सफल छन्‚’ उनले भने ।

याकजीका लेखक युवराज नयाँघरेले आफ्नो लेखकीय अनुभव बताउँदै कर्णालीको विकट क्षेत्रको यात्राबाट आफूले जीवनकै गहिरो दर्शन प्राप्त गरेको बताए । उनले भने‚ ‘डोल्पा नेपालको एउटा विशेष प्रतिबिम्ब हो । विकटताभित्र रहेको सरलता र शान्तिको एक विशेष अनुभूतिका लागि हामीले यी भूभागहरू घुम्नुपर्छ । यो यात्राबाट मैले समाज र सरकारलाई हेर्ने एउटा फरक भावना हुर्काएको छु । हरेक व्यक्तिले समय, समाज र संस्कृतिको समग्र अवस्था अध्ययनका लागि डोल्पाजस्ता विकट र कष्टकर भूभाग एक पटक भ्रमण गर्नु पर्छ ।’

नियात्राकार नयाँघरेको यो १८औं कृति हो ।

प्रकाशित : वैशाख ११, २०७९ १२:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?