१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

दयाकृष्ण राईको कवितासंग्रह ‘अश्वेत महावाणी’ सार्वजनिक

काठमाडौं — बेलायतलाई कर्मथलो बनाउँदै आएका भोजपुर, ठूलोदुङ्माका कवि तथा निबन्धकार दयाकृष्ण राईले नयाँ कविता कृति ‘अश्वेत महावाणी’ सार्वजनिक गरेका छन् ।

दयाकृष्ण राईको कवितासंग्रह ‘अश्वेत महावाणी’ सार्वजनिक

ब्रिटिस गोर्खा सेनाबाट सेवा निवृत्त राईको कृतिलाई हालै राजधानीमा भएको एक समारोहमा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति कवि तथा मुन्धुमविद् बैरागी काइँला, समालोचक गोविन्दराज भट्टराई, कवि श्रवण मुकारुङ लगायतकाले लोकार्पण गरेका हुन् ।

‘अश्वेत महावाणी’ कवि राईको छैठौँ कृति हो भने कविता विधाको चाहिँ तेस्रो कृति हो । कृतिलाई छ खण्डमा विभाजन गरिएका छन् । पहिचान, युद्ध, यौन, भूकम्प, कोभिडलगायत कविताका विषय बनाइएका छन् । पुस्तकबारे बोल्दै बैरागी काइँलाले राईको पुस्तकलाई नेपालीपनको बेलायती कृतिका रुपमा लिए । ‘यसलाई नेपालका लागि साहित्यिक रेमिट्यान्सको रूपमा लिनु पर्दछ’, उनले भने, ‘यो कृतिले जाति, धर्म, वर्ण र रङ्गभेदविरुद्ध चोटिलो प्रहार गर्ने क्षमता राख्दछ । सङ्ग्रहमा समाविष्ट कविताहरू उच्च वैचारिक चेतबाट ओतप्रोत रहेका छन् ।’

कविता कृतिको समीक्षा गर्दै समालोचक भट्टराईले कवि राईले विश्व चेतनाबाट प्रेरित भएर कविता लेखेको पाइएको र यस्ता कविता राई नेपालमै भएको भए बन्न नसक्ने जिकिर गरे । उनले भने, ‘विश्वको गति र मानवीयस्थितिको समय चेत कवितामा छ । मेरो तेरो भन्ने कुरा विश्वव्यापीकरणले चुँडिएको छ ।’ अहिले हामी सबै एक हौँ भन्ने सन्देशसहितको उच्च वैचारिक र बौद्धिक चेत कवितामा भएको ठहर गर्दै उनले यस्ता सिर्जना नेपालमा अहिलेसम्म नआएको दाबी गरे । कृतिलाई समयचेतका विज्ञबीच राखेर बहस गरिनुपर्ने उनको धारणा राखे ।

कवि श्रवण मुकारुङले जब अमेरिकामा बाराक ओबामा राष्ट्रपति भए अनि ह्वाइट हाउसमा काला मान्छे पसे, त्यही घटनाको प्रेरणाबाट यो सङ्ग्रह तयार भएको हुनसक्ने बताए । उनले भने,‘नेपालमा पनि त्यस्तै भैदिए हुन्थ्यो, दलित, जनजाति, महिला प्रधानमन्त्री भए दिए हुन्थ्यो भन्ने लागेर त्यो भावनाले यो कविता लेखिएको हुनुपर्छ ।’

पुस्तकलाई नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले प्रकाशन गरेको हो ।

प्रकाशित : चैत्र २७, २०७८ १४:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?