३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

साहित्यकार न्यौपाने र संस्कृतिविद् श्रेष्ठलाई धवल पुरस्कार

माधव अर्याल

पाल्पा — नेपालकै पहिलो सार्वजनिक पुस्तकालय धवल पुस्तकालयले स्थापना गरेको ‘धवल पुरस्कार’ साहित्यकार नीलकण्ठ न्यौपाने र ‘धवल सिर्जना पुरस्कार’ निर्मल श्रेष्ठको पुस्तक 'सांस्कृतिक नगर तानसेन'लाई शनिबार प्रदान गरिएको छ ।

साहित्यकार न्यौपाने र संस्कृतिविद् श्रेष्ठलाई धवल पुरस्कार

धवल सिर्जना पुरस्कार २०७७ 'सांस्कृतिक नगर तानसेन द लिभिङ म्युजियम' कृतिलाई प्रदान गरेको धवल पुस्तकालयले जनाएको छ । न्यौपाने र श्रेष्ठलाई साहित्यकार बुँद राना, धवल पुस्तकालयका अध्यक्ष युवराज पौड्याल, त्रिभुवन बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख टंकप्रसाद भट्टराई, कांग्रेसका जिल्ला सभापति हिमालदत्त श्रेष्ठ लगायतले पुरस्कार प्रदान गरे ।

न्यौपाने पूर्वखोला–३, रिङनेरह निवासी हुन् । उनी भाषा, साहित्य, संस्कृतिका क्षेत्रमा साधनारत छन् । उनी अठार महापुराणका वाचक हुन् । 'सांस्कृतिक नगर तानसेन द लिभिङ म्युजियम' कृतिका लेखक निर्मल श्रेष्ठ तानसेन नगरपालिका– ३, निवासी हुन् । उनी इतिहास र संस्कृतिका जानकार छन् ।

दुवै पुरस्कारको राशी नगद २५ हजार र प्रमाणपत्र रहेको महासचिव राजेशकुमार अर्यालले जानकारी दिए । तानसेन नगरपालिका–२, मेहल्धारामा अवस्थित धवल पुस्तकालयले राष्ट्रिय प्रतिभाप्रति सम्मान र प्रतिभाहरूमा उत्प्रेरणा जगाउने उद्देश्यले धवल पुरस्कारको स्थापना गरेको पुस्तकालय सञ्चालक समितिका सचिव टंक पन्तले जानकारी दिए । राष्ट्र र राष्ट्रियताप्रतिको भाव, जीवनप्रतिको चेतना, पाठकहरूको आकर्षण, विधागत सुझ भएको मौलिक कृतिको मूल्यांकन गरी धवल सिर्जना पुरस्कार प्रदान गर्ने उनले बताए ।

पुस्तकालय सञ्चालक समितिले पुस्तकालयका महासचिव राजेशकुमार अर्यालको संयोजकत्वमा प्राध्यापक डा. हिरण्य ज्ञवाली र त्रिभुवन बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख टंकप्रसाद भट्टराई रहेको सिफारिस समिति गठन गरेको थियो ।

धवल पुस्तकालयले प्रत्येक वर्ष धवल पुरस्कार र धवल सिर्जना पुरस्कार प्रदान गर्ने जनाएको छ । धवल पुस्तकालय नेपालको जेठो र ऐतिहासिक पुस्तकालय हो । तानसेनमा वि. स. १९८३ मा ‘पुस्तक पढ्ने दलाल’ को नामबाट सुरू भएको हो । जहानिया राणा शासनका बेला जनचेतनाको विगुल फुक्न अग्रणी मानिन्थ्यो ।

प्रकाशित : फाल्गुन ८, २०७८ १०:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?