कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

नाट्य सम्राट समको स्मरण

काठमाडौँ — नेपाली वाङ्मय क्षेत्रका विशिष्ट साधक बालकृष्ण समको स्मरण गरिएको छ । सोमबार समको १२०औं जन्मजयन्तीका अवसरमा कमलपोखरी र प्रज्ञा परिसरमा अवस्थित बालकृष्ण समको प्रतिमामा माल्यार्पण तथा पुष्पगुच्छा अर्पण गरी समप्रति श्रद्धा अर्पण गरिएको थियो । 

नाट्य सम्राट समको स्मरण

त्यस्तै नेपाल प्रज्ञा प्रतिष्ठान र नेपाली शिक्षा परिषद्को सहकार्यमा प्रज्ञा भवनमा ‘बालकृष्ण समको व्यक्तित्व, कृतित्व र योगदान’ विषयक कार्यक्रम गरिएको थियो । कार्यक्रममा समले साहित्य लेखनमा पुर्‍याएको योगदानको परिचर्चा गरिएको थियो ।

वि.सं. १९५९ साल माघ २४ गते काठमाडौं ज्ञानेश्वरस्थित राणा परिवारमा जन्मिएका समले नेपाली वाङ्मयका कविता, नाटक, कथा लगायत विधामा उत्कृष्ट कृति रचना गरेका छन् । नाट्य क्षेत्रमा भने समले ‘नाट्य सम्राट’को उपाधि पाएका छन् । सम चित्रकारिता र अभिनयका क्षेत्रमा समेत उत्तिकै दख्खल राख्थे ।

प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, सदस्य सचिव एवम् दर्शनशास्त्र विभाग प्रमुख प्रा. जगतप्रसाद उपाध्याय, साहित्य (पद्य/काव्य) विभाग प्रमुख प्रा.डा. हेमनाथ पौडेल, शिक्षा परिषद्की अध्यक्ष प्रतिष्ठानकी प्राज्ञ सभा सदस्य रमा शर्मालगायतले समको योगदान र उनको व्यक्तित्वको चर्चा गरे ।

नेपाली वाङ्मयका प्रायः सबै विधामा समको विशिष्ट योगदान रहे पनि विशेषतः नाटकका क्षेत्रमा उनको योगदान अतुलनीय रहेको कुलपति उप्रेतीले बताए । उनले भने, ‘नाटकमात्र नभएर उहाँद्वारा रचना गरिएका कविता, नाटक, कथा उत्तिकै उत्कृष्ट छन् ।’

पारिवारिक परिवेशकै कारण वाङ्मय क्षेत्रप्रति आकर्षित भएको सुनाउँदै सदस्य सचिव उपाध्यायले राणा वंशमा जन्मिए तापनि प्रजातन्त्र, न्याय र समानताका साथै देश र जनताप्रति सम सधैं चिन्तित रहेको धारणा राखे ।

प्राज्ञ सभा सदस्य शर्माले नेपाली साहित्यका विशिष्ट साधक बालकृष्ण समको योगदान नेपाल र नेपाली कहिल्यै भुल्न नसकिने बताइन् । कार्यक्रममा साहित्य (लोकवार्ता र बालसाहित्य) विभाग प्रमुख देवी नेपालले समका रचनागत प्रवृत्ति झल्किने प्रतिनिधिमूलक कविताका अंशहरूको वाचन गरेका थिए ।

प्रकाशित : माघ २५, २०७८ १६:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?