‘चीनले अमेरिकाको शक्ति निस्तेज पार्न सक्दैन’

काठमाडौँ — विगतमा कवि–नियात्राकारका रूपमा परिचित बेलायतवासी स्रष्टा विश्वासदीप तिगेलाले अन्र्तराष्ट्रिय सम्बन्धको विद्यार्थी बनेर चिनियाँ आर्थिक साम्राज्य र बजारीकरणका बारेमा कृति निकालेका छन् । 

‘चीनले अमेरिकाको शक्ति निस्तेज पार्न सक्दैन’

‘ह्वाई चाइना इज नट रिप्लेसिङ अमेरिका’ शीर्षकमा प्रकाशित कृतिमा अन्र्तराष्ट्रिय सम्बन्धका विविध पक्षमा सरोकार राख्ने सोधकर्ताले सधैं विश्व राजनीति तथा भू–रणनीतिको मामलामा भारतलाई केन्द्रमा राख्ने गरेकोमा तिगेलाले भने चीनलाई प्राथमिकतामा राखेर तुलना प्रस्तुत गरेका छन् ।

‘अध्येताहरूले प्रायः भारतलाई केन्द्रमा राखेर अन्र्तराष्ट्रिय सम्बन्ध तथा राजनीतिक सन्तुलनको कुरा गर्ने गरेको मैले पाएको छु,’ काठमाडौं भ्रमणमा रहेका लेखक तिगेलाले कान्तिपुरसँग भने, ‘मैले भने विश्वशक्तिको दृष्टिकोण र प्रभाव–पहुँच आधारमा आगामी दिनमा अमेरिका र चीनको स्थानबारे तुलनात्मक निचोड प्रस्तुत गरेको छु ।’ चिनियाँ अर्थतन्त्रले विश्व शक्ति राष्ट्रको प्रभाव–पहुँच(वल्र्ड–अर्डर) लाई तलमाथि पार्छ वा पार्दैन भन्ने बहस चलिरहेका बेला तिगेलाले भू–राजनीति तथा भू–रणनीतिको आधार र चीनभित्रकै आन्तरिक राजनीतिका कारण पनि अमेरिकाको वर्चस्व तत्काल कमजोर नहुने मूल्यांकन प्रस्तुत गरेका छन् ।

चीनभित्रको मानव अधिकार र आन्तरिक लोकतन्त्रको बहस, ताइवान–हङकङदेखि तिब्बतसम्मको अन्र्तद्वन्द्व तथा अस्थिर विदेश नीतिका कारण पनि चीनले विश्वमञ्चमा अमेरिकाको अग्रतालाई जित्न नसक्ने मूल्यांकन तिगेलाले आफ्नो कृतिमा समेटेका छन् । चीनमा माओको जीवन–दर्शन, राजनीतिक प्रभुत्व, बेल्ट एण्ड रोड इनिसिएटिभ(बीआरआई) देखि भारतसँगको सीमावर्ती विवादका थुप्रै भू–राजनीतिक सरोकारलाई पनि तिगेलाले उधिनेका छन् ।

विगतमा विश्व नेपाली साहित्य महासंघका अध्यक्षसमेत रहेका तिगेलाका यसअघि नियात्राहरु ‘गृहयुद्धको पीडा’ र ‘देश बोक्नुको पीडा’ तथा कविता संग्रह ‘परदेशीका कोसेली कविता’ आदि प्रकाशित छन् । गोर्खा सैनिकका अवकाशप्राप्त सिपाही तिगेलाको पछिल्लो अंग्रेजी भाषाको ‘ह्वाई चाइना इज नट रिप्लेसिङ अमेरिका’ भने बेलायतको इन्डिपेन्डेन्ट पब्लिकेसनबाट प्रकाशित भएको हो ।

प्रकाशित : माघ १५, २०७८ ०८:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?