बसन्त बस्नेतको उपन्यास ‘महाभारा’ सार्वजनिक- साहित्य/विविध - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बसन्त बस्नेतको उपन्यास ‘महाभारा’ सार्वजनिक

कान्तिपुर संवाददाता

काठमाडौँ — पत्रकार एवम् लेखक बसन्त बस्नेतको उपन्यास ‘महाभारा’ सार्वजनिक गरिएको छ । काठमाडौंको बौद्धस्थित तारागाउँ म्युजियममा शनिबार आयोजित विशेष कार्यक्रममा बस्नेतकी छोरी अनुदिता बस्नेतले उपन्यास विमोचन गरेकी हुन् । 

युद्धको क्रूर समयमा हुर्केको सुन्दर प्रेम कथा नै ‘महाभारा’ रहेको लेखक उपेन्द्र सुब्बाले टिप्पणी गरे । ‘मलाई त यस्तो लाग्छ, यो पहरामा फुलेको अम्लारी फुङ (सुनाखरी फूल) हो,’ उनले भने ।

कार्यक्रममा लेखक एवम् पत्रकार शिवानीसिंह थारुले पुस्तक लेखनदेखि यसका पात्रहरूको मनोविज्ञानका विविध पक्षमा आधारित रहेर बस्नेतसँग संवाद गरेकी थिइन् । नेपाली भाषालाई लिम्बू लबजको व्याकरणमा मिलाएर लेखिनु नै यो उपन्यासको सबल पक्ष रहेको थारुले बताइन् ।

‘नेपालका विभिन्न क्षेत्रमा विभिन्न किसिमका लबजमा नेपाली भाषा बोलिन्छ । त्यसलाई साहित्यमा ल्याउने काम जटिल नै छ,’ उनले भनिन्, ‘तर बसन्तजीले पूर्वेली लिम्बू लवजलाई नेपाली भाषामा जसरी उतार्नुभएको छ, त्यो अति मीठो छ । यही नै यसको सशक्त पक्ष हो ।’

कोभिडका कारण सुरु भएको लकडाउनमा आफूले समय पाएको र त्यही बेला उपन्यास लेखनलाई गति दिएको लेखक बस्नेतले बताए । ‘लकडाउनले धेरैलाई कवि बनायो । मलाई उपन्यासकार,’ उनले भने, ‘एउटा कथानक धेरै अघिदेखि हृदयमा गुम्फिइरहेको थियो, जुनसुकै बेला ल्यापटपमा तप्किन तयार । पहिलो मस्यौदा लेखिइँदा म नेपाल म्यागजिन सम्पादन गर्दै थिएँ । अग्रज आख्यानकार नारायण वाग्लेलाई एकसरो देखाएर सुझाव लिने बेलासम्म पत्रिकाको नेतृत्वबाट बाहिरिइसकेको थिएँ । मसँग उपन्यासका लागि सोच्ने पर्याप्त समय भइदियो । फुर्सदमा व्यस्त बन्न पाएँ । त्यसैले यो किताब तयार हुन सक्यो ।’

संवादसँगै रिदम कँडेलले साङ्गीतिक प्रस्तुति समेत दिएका थिए । कँडेलको प्रस्तुतिपछि कवि नवराज पराजुलीले कविता प्रस्तुत गरेका थिए । कार्यक्रममा लोचन रिजालले समेत साङ्गीतिक प्रस्तुति दिएका थिए ।

कार्यक्रममा गायिका झुमा लिम्बू र उनको रैथाने समूहको प्रस्तुतिसमेत रह्यो । उनको समूहले विशेषगरी ‘महाभारा’ पुस्तकको थिममा आधारित रहेको साङ्गीतिक प्रस्तुति दिएको थियो । कार्यक्रममा टोमस कारोस्को र मनीष गन्धर्वको समेत प्रस्तुति थियो ।

प्रेम, राजनीति र धर्मको त्रिकोणात्मक द्वन्द्वमा बुनिएको महाभारा मूलतः मुख्य पात्र ‘डुक्पा’को कथा हो । ‘महाभारा’ मधुर पूर्वेली लवज र नेपाली साहित्यमा बिरलै देखिने सशक्त संवादको मीठो सम्मिश्रण भएको प्रकाशक अजित बरालले बताए । पुस्तक फाइनप्रिन्टले प्रकाशन गरेको हो ।

प्रकाशित : पुस २४, २०७८ २०:१४
प्रतिक्रिया
पठाउनुहोस्

पाकिस्तानमा हिउँमा फसेर २१ को मृत्यु

एजेन्सी

इस्लामाबाद — पाकिस्तानको उत्तरी क्षेत्रको सडकमा भारी हिमपातका कारण गाडीहरू फसेपछि कम्तीमा २१ जनाको ज्यान गएको छ ।

सेनाले हिउँमा फसेकाहरूको उद्धार गरी मुर्रेस्थित सडक खुलाउने प्रयास गरिरहेको अधिकारीहरूले जनाएका छन् । गृहमन्त्री शेख रसिदले कम्तीमा एक हजार गाडी हिउँमा फसेका जनाएका छन् । पञ्जाब प्रान्तको रावलपिण्डी जिल्लामा पर्ने मुर्रे पाकिस्तानको राजधानी इस्लामाबादबाट उत्तरतर्फ पर्छ ।

स्थानीय सञ्चारमाध्यमहरूका अनुसार शुक्रबारदेखि उक्त क्षेत्रमा हिमपात भएसँगै पर्यटक रोकिएका हुन् । त्यसयता हिउँ खेल्न कम्तीमा एक लाख निजी गाडी मुर्रे क्षेत्रमा पुगेका थिए । जसका कारण निकै लामो जाम परेको प्रहरीले जनाएको छ । २१ मध्ये ६ जनाको चिसोले गाडीभित्रै कठ्यांग्रिएर ज्यान गएको हो । अन्यको मृत्यु कारण थाहा हुन नसकेको प्रहरीले जनाएको छ ।


अधिकारीरूले मुर्रेलाई विपद् क्षेत्र घोषणा गर्दै मानिसहरूलाई अन्यत्रै रहन आग्रह गरेको छ । ‘मानिसहरूले निकै भयावह स्थितिको सामना गरिरहेका छन्,’ त्यस क्षेत्रमा अड्केका एक पर्यटक उस्मान अब्बासीले समाचार संस्था एएफपीलाई भने, ‘पर्यटकमात्र होइन, स्थानीय पनि निकै समस्यामा छन् । ग्यास र पानी अभाव भएको छ ।’

गृहमन्त्री रसिदले एक भिडियो सन्देशमा करिब २० वर्षयता हिउँ खेल्न मुर्रे क्षेत्रमा निकै ठूलो संख्यामा मानिसहरू पुगेका कारण ठूलो संकट उत्पन्न भएको बताएका छन् । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले ‘पर्यटकहरूको दुःखद मृत्युले आफू मर्माहत भएको’ बताएका छन् । ‘मैले यसबारे छानबिन गर्न र भविष्यमा यस्ता घटना हुन नदिन कडा नियमनका लागि निर्देशन दिएको छ,’ खानले ट्वीटरमा लेखेका छन् ।



प्रकाशित : पुस २४, २०७८ २०:११
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×