बहुभाषिक कवि गोष्ठीमा पाँच कविता उत्कृष्ट- साहित्य/विविध - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बहुभाषिक कवि गोष्ठीमा पाँच कविता उत्कृष्ट

कान्तिपुर संवाददाता

सुनसरी — धरान उत्सवको अवसरमा धरान प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित बहुभाषिक कविता गोष्ठीमा पाँच कविका कविताले उत्कृष्ट पुरस्कार प्राप्त गरेका छन् । 

मातृभाषा र नेपाली भाषामा सुनाउनुपर्ने प्रावधान रहेको उक्त गोष्ठीमा मुन्धुम साहित्यकार प्रदीप मेन्याङ्बोको लिम्बु भाषाको ‘माङ्गेना’, भोजराज श्रेष्ठको नेवारी भाषाको ‘छेपारे प्रवृत्ति’ प्रर्मिला मुकारुङको वान्तवा भाषाको ‘गाउँमा अचेल’, सेम्माङ याक्खाको याक्खा भाषाको ‘समावेशी गीतहरू’, इन्दु योञ्जनको तामाङ भाषाको ‘बहुभाषिक सुन्दरता’ कविता उत्कृष्ट ठहरिएको थियो ।

गोष्ठीमा विभिन्न ११ जातिको भाषामा ३० कविहरूले आफ्नो मातृभाषा र नेपाली भाषामा कविता सुनाएका थिए । कवि तथा साहित्यकार वम देवान, उपप्राध्यापक डा महानन्द तिम्सिनालगायतको निर्णाक टोलीले उत्कृष्ट घोषित गरेका कविताका सर्जकलाई जनही नगद ७ हजार ५ सयका दरले पुरस्कृत गरिएको थियो ।

प्रकाशित : पुस २२, २०७८ १४:३४
प्रतिक्रिया
पठाउनुहोस्

माओवादी केन्द्रीय कार्यालयका कर्मचारीलाई कोरोना, दाहालले रोके भेटघाट

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयका कर्मचारीलाई कोरोना संक्रमण भएको छ । केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायसहितका कर्मचारीलाई कोरोना पुष्टि भएको हो ।

कोरोना संक्रमण पुष्टि भएपछि आफूहरू आइसोलेसनमा बसेको सचिव उपाध्यायले जानकारी दिए । त्यस्तै कार्यालयका अन्य कर्मचारी यविन्द्र पराजुली, सञ्जीव थापा, विनोद थापा, अंशु थापा र शिवकुमार बस्नेतलाई संक्रमण पु्ष्टि भएको हो ।

कर्मचारीलाई संक्रमण भएपछि अध्यक्ष पुष्पकमल दाहालले भेटघाटका कार्यक्रम स्थगित गरेको उनको सचिवालयले जनाएको छ । दाहालको सचिवालयले जारी गरेको सूचनामा भनिएको छ, 'राजनीतिक कामको व्यस्तता, भीडभाड र स्वास्थ्य सतर्कताको कमीका कारण काठमाडौंलगायतका विभिन्न स्थानमा बढेको कोभिड संक्रमण तथा स्वास्थ्यकर्मीहरुको समेत सुझावलाई मध्यनजर गर्दै विगत तीन दिन यतादेखि भौतिक रूपमा भेटेरै भैरहेको बधाई एवं शुभकामना आदानप्रदानलाई आजैका दिनदेखि रोकेको कुरा जानकारी गराउदछौं । यसकारण पर्न गएको अफ्ठ्यारोका लागि सचिवालय क्षमा चाहन्छ । '

माओवादी केन्द्रले भर्खरै काठमाडौंमा ८औं महाधिवेशन सम्पन्न गरेको छ । महाधिवेशनका लागि देशभरबाट प्रतिनिधि आएका थिए ।

प्रकाशित : पुस २२, २०७८ १४:२९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×