रेग्मीको शैक्षिक उपन्यास ‘उज्यालोतिर’ सार्वजनिक

काठमाडौँ — टीकाराम रेग्मीको नयाँ उपन्यास ‘उज्यालोतिर’ सार्वजनिक भएको छ । उपन्यास कक्षाकोठाका क्रियाकलापलाई समेटेर तयार पारिएको हो ।

रेग्मीको शैक्षिक उपन्यास ‘उज्यालोतिर’ सार्वजनिक

लामो समय शिक्षणमा बिताएका रेग्मीको उपन्यासमा शैक्षिक समाजलाई उज्यालोतिर डोर्‍याउने प्रयास गरिएको छ । कक्षा कोठाका क्रियाकलापलाई समेटेर कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने कुराहरू समेटेर उनको कृति प्रकाशनमा आएको हो ।

आफू शिक्षण पेसामा रहँदा केही आफूले गरेका र केही सपना देखेर पनि गर्न नसकेका/नपाएका कर्महरूको धोको रेग्मीले उपन्यासका माध्यमबाट पूरा गरेको जनाएका छन् । पुस्तक सिकाइको सहजीकरणलाई विद्यार्थीकेन्द्रित र खुसीमय बनाउँदै पेसामा समर्पित भई सन्तुष्ट र सम्मानित जीवन जिउन उद्यत शिक्षकहरूलाई लक्षित छ ।

यसैबीच रेग्मीको उपन्यासबारे विमर्श गरिएको छ । काठमाडौंमा किताब किरोले शनिबार आयोजना गरेको ‘विद्यालय शिक्षाले बालबालिकालाई कस्तो दिशानिर्देश गर्छ ?’ विषयक विमर्श कार्यक्रममा प्राडा. मनप्रसाद वाग्ले, प्राडा. विद्यानाथ कोइराला, डा. काशीराज पाण्डे र डा. मीनाक्षी दाहालले प्रस्तोता रोश्ना सुब्बासँग छलफल गरेका थिए ।

कार्यक्रममा वक्ताहरूले अहिलेको शिक्षाप्रणालीले बालबालिकाको मानसिकतामा पारेको प्रभाव र यसका विविध आयाममा आधारित रहेर संवाद गरेका हुन् । उनीहरुले विद्यालय, अभिभावक र शिक्षकहरुको भूमिकाका विषयमा पनि छलफल गरे । उक्त अवसरमा डा. मीनाक्षी दाहालले विद्यार्थीहरुलाई आफूअनुकूलको बनाउन खोज्न नहुने बताउँदै आफ्नो क्षमताअनुसारको बन्न उनीहरुलाई स्वतन्त्र छाडिदिनुपर्नेमा जोड दिइन् । डा. पाण्डेले रुपान्तरणमुखी शिक्षामा जोड दिनुपर्ने बताएका थिए ।

कार्यक्रममा ‘उज्यालोतिर’ उपन्यास पढेर आफ्नो फेसबुक, ट्विटर, इन्स्टाग्रामलगायत सामाजिक सञ्जालमा यस पुस्तकबारे #ujyalotira #kitabkiro ह्यासट्याग राखेर पोस्ट गरिदिनेमध्ये एक जनालाई १५ हजार दिने घोषणा गरिएको छ । आगामी फागुन मसान्तसम्म सामाजिक सञ्जालमा अनिवार्य उल्लिखित ह्यासट्याग प्रयोग गर्नेमध्ये एक जनाले उक्त पुरस्कार पाउनेछन् ।

साहित्यिक क्षेत्र, शिक्षा क्षेत्र र विद्यार्थीका लागि गरी रेग्मीका दर्जनभन्दा बढी पुस्तक प्रकाशित छन् ।पुस्तकलाई सुनवर्षी बुक हाउसले बजारमा ल्याएको हो ।

प्रकाशित : पुस १८, २०७८ १०:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?