बहसमा ताम्बा दर्शन, मातृभाषा र लोकसाहित्य

भक्तपुर — दर्शन तथा भाषा विज्ञहरुले तामाङ जातिको ताम्बा दर्शन, मातृभाषा र लोकसाहित्य विषयमा परिचर्चा गरेका छन् ।

बहसमा ताम्बा दर्शन, मातृभाषा र लोकसाहित्य

नेपाल प्रज्ञा–प्रतिष्ठान अन्तर्गत दर्शनशास्त्र, मातृभाषा तथा साहित्य विभागले ममता केन्द्र नेपालसँगको सहकार्यमा भक्तपुरमा शनिबार गरेको ‘ताम्बा दर्शन’, ‘तामाङ भाषा’ एवम् ‘तामाङ लोकसाहित्य’ विषयक विचार गोष्ठीमा विज्ञहरुले ताम्बा दर्शन, तामाङ मातृभाषा र तामाङ लोकसाहित्यसम्बन्धी गहन विमर्श गरे ।

कार्यक्रमका प्रतिष्ठानका सदस्य सचिव एवम् दर्शनशास्त्र विभागका प्रमुख जगत्प्रसाद उपाध्यायले ताम्बा दर्शन, तामाङ मातृभाषा र तामाङ लोकसाहित्यका कारण तामाङ जाति विशिष्ट जातिका रुपमा रहेको बताए ।

गोष्ठीमा क्रमश: ताम्बा दर्शनसम्बन्धी भाषाविद् अमृत योञ्जन, तामाङ मातृभाषासम्बन्धी अजितमान तामाङ र तामाङ लोकसाहित्यसम्बन्धी निष्णु थिङले गोष्ठीपत्र प्रस्तुत गरे ।

प्रतिष्ठानका भाषा (मातृभाषा, कोश र व्याकरण) विभाग प्रमुख योगेन्द्रप्रसाद यादवले दर्शन, मातृभाषा तथा लोकसाहित्य कुनै पनि जाति/समुदायको पहिचान भएको सुनाए । उनले भने, ‘लोक साहित्य तथा भाषा लोप भएमा सभ्यता र ज्ञानको क्षेत्र नै हराएर जान्छन् । त्यसको संरक्षण र सम्वद्र्धनका लागि सम्बन्धित पक्ष सचेत हुनुपर्छ । उनले लोप हुने खतरामा रहेका दर्शन, मातृभाषा तथा लोकसाहित्यलाई डिजिटल आर्काइभमा सुरक्षित गर्नुपर्ने धारणा राखे । प्रतिष्ठानका साहित्य (मातृभाषा) विभाग प्रमुख लक्ष्मी मालीले मातृभाषा, संस्कृति तथा लोकसाहित्यको संरक्षण तथा सम्वद्र्धनका लागि घर घरमा सबैले अनिवार्यरूपमा मातृभाषा बोल्नुपर्नेमा जोड दिइन् ।

गोष्ठीमा ताम्बा सङ्घका अध्यक्ष पासाङ मोक्तानले ताम्बा दर्शनको संरक्षण आजको आवश्यकता भएको उल्लेख गर्दै तामाङ समुदायमा अनियन्त्रितरूपमा बढिरहेका थरहरूको व्यवस्थापन गरिनुपर्ने बताए ।

तामाङ कलाकार टोलीद्वारा डम्फूको तालमा साङ सेग्र्याम (स्वस्ति) गानबाट सुरु गरिएको कार्यक्रममा कुमार स्याङ्बो, योगेश राल्फाली, रचना मोक्तान, सीमा तामाङ, गायक भीम बैरागी लगायतका स्रष्टाले तामाङ भाषाका सिर्जना प्रस्तुत गरेका थिए ।

प्रकाशित : पुस १२, २०७८ १२:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?