२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

२३ वर्षीय ‘लिपि’ लेखक

अर्जुन राजवंशी

बिर्तामोड — दिगो हुने कीर्ति राख्न केही गर्ने चाहना भएका एक युवक २३ वर्षमै आफ्नो जातिका भाषा विज्ञ बनेका छन् । झापाको बाह्रदशी–२ राजगढका शिव मुर्मु लोपोन्मुख सन्थाल जातिका पहिलो ‘लिपि’ लेखक बनेका हुन् ।

२३ वर्षीय ‘लिपि’ लेखक

स्नातक अध्ययनरत उनले नेपालमा बसोबास गर्ने अल्पसंख्यक सन्थालका लागि ‘ओलोचिकी’ लिपिमा वर्णमाला तयार गरेका छन् । ‘शिवु भाइले सन्थाली भाषाबाट लिपि तयार गरेका हुन्,’ नेपाल सन्थाल आदिवासी उत्थान संघ झापाका अध्यक्ष लखन हेमरमले भने, ‘हाम्रो जाति र भाषा नै लोप हुने डर रहेको बेला नयाँ पुस्ताले यो बहुत ठूलो काम गरेका हुन् ।’

शिवुलाई लिपि तयार गर्न करिब ५ वर्ष लाग्यो । देवनागरीबाट पढेका उनलाई ओलोचिकी सिक्न निकै मिहिनेत गर्नुपर्‍यो । नेपालमा सन्थाली भाषाको अध्ययन छैन । ओलोचिकी लिपि जानेका भेटिँदैनन् । तर, आफ्नो जातीय लिपि सिक्ने र लेख्ने हुटहुटीले उनलाई सफलता प्राप्त भएरै छोड्यो । जातीय लिपि सिक्न उनले भारत झारखण्डका विद्वान्हरूलाई सम्पर्क गरे । इन्टरनेटका कक्षाहरू लिए । सन्थाली पुस्तकहरू मगाएर पढे । लगातारको प्रयासपछि लिपि सिक्न सफल भए ।

‘हाम्रो भाषामा किताब रहेनछ,’ मुर्मुले भने, ‘जति सक्छु लिपि लेख्छु भनेर लागें ।’ उनले ‘सन्थाली वर्णमाला’ नाम दिएर लिपि पुस्तक तयार पारेका हुन् । संस्कार, भाषालगायत समेटेर पुस्तकको दोस्रो संस्करणसमेत तयार गरेका छन् ।

‘यसपालिको जनगणनामा हामीले ओलोचिकी लिपिलाई नै टिपोट गरायौं,’ अगुवा देवान टुडुले भने, ‘आफ्नै भाषा, लिपि हुँदाहुँदै पनि स्कुलमा पढाइ नहुँदा हाम्रा पुस्ताले ओलोचिकी लिपि सिक्न/पढ्न पाएका छैनन् ।’ उनका अनुसार जिल्लाका दुई विद्यालयमा सन्थाली भाषाको पठनपाठन हुन्थ्यो । हल्दिबारीस्थित राष्ट्रिय एकता प्रावि र कोरोबारीस्थित आधारभूत जनकल्याण प्राविमा । तर, अहिले दुवैमा बन्द छ ।

‘करिब एक सय जना सन्थाली विद्यार्थीलाई आफ्नै लिपिबाट पठनपाठन गराउँदै थियौं । राम्रो भएको थियो । घरमा बोल्ने भाषाबाटै स्कुलमा पनि पढ्न पाउँदा विद्यार्थीले पढाएको राम्ररी बुझ्थे पनि,’ शिक्षक दीपक हेमरमले भने, ‘२०६४ देखि करिब ४ वर्ष जति ओलोचिकी लिपिबाट पढायौं । त्यसपछि पाठ्यपुस्तक आएन,  कतैबाट कुनै सहयोग पनि भएन । अनि, पठनपाठन नै बन्द भयो ।’ सरकारी बेवास्ताका कारण सन्थाल समुदाय पिछडिएको लखन हेमरमको आरोप छ ।

प्रकाशित : पुस १२, २०७८ ०८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?