अमृत योन्जनको ‘तामाङ ताम’ सार्वजनिक- साहित्य/विविध - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अमृत योन्जनको ‘तामाङ ताम’ सार्वजनिक

कान्तिपुर संवाददाता

काठमाडौँ — भाषा विज्ञानका अध्यता, मातृभाषा तथा बहुभाषिक शिक्षाका अभियन्ता अमृत योन्जन तामाङको ‘तामाङ ताम’ तामाङ भाषा सिक्ने हाते पुस्तक सार्वजनिक भएको छ ।

शुक्रबार बौद्धस्थित तामाङ भवनमा लेखक योन्जनसहित मानवशास्त्री मुक्त सिं तामाङ, नेपाल तामाङ घेदुङका महासचिव बाबु घिसिङ लगायतको उपस्थितिमा जापानका लागि पूर्व नेपाली राजदूत गणेश योन्जनले पुस्तकको लोकार्पण गरे । पुस्तक तामाङ भाषाका व्याकरणिय कोशीय मूल शब्दमा आधारित छ ।

तामाङ भाषा सिक्न चाहनेहरुका लागि पुस्तक निकै उपयोगी हुने लेखक योन्जनले बताए । उनका अनुसार स्वयं शिक्षण विधिबाट तयार गरिएकोले जो कोहीले यसबाट आफै तामाङ भाषा सिक्न सक्छन् । ‘स्वदेश तथा विदेशमा तामाङ भाषा सिकाएको मसँग अनुभव थियो’ उनले भने,‘भाषा कक्षामा सहभागीले तामाङ भाषा सिक्ने पुस्तक लेख्न अनुरोध गरेकाले सिकाइलाई स्थायित्व दिन पठन सामग्रीको रुपमा पुस्तक तयार गरिएको हो ।’ तामाङ भाषा नजानेकालाई मात्र होइन जानेकाहरुलाई पनि विभिन्न क्षेत्रमा सोही भाषा प्रयोग गर्ने गरेकालाई समेत पुस्तक उपयोगी हुने योन्जनको दाबी छ । भाषाले मानिसलाई जोड्ने काम गर्ने बताउँदै योन्जनले तामाङ समुदायमा सेवा प्रदायकको हातहातमा पुस्तक पुग्न जरुरी रहेको सुनाए ।

प्रकाशित : मंसिर २४, २०७८ २२:१३
प्रतिक्रिया
पठाउनुहोस्

मञ्चमा देखिए रोचक र घोचक दृश्य

–भारतीय नेतालाई मञ्च व्यवस्थापनमा अन्योल
–कांग्रेस कार्यकर्तामा पनि ओली–क्रेज
मातृका दाहाल

काठमाडौँ — कांग्रेसको १४ औं महाधिवेशन उद्घाटन समारोहमा केही रोचक र घोचक दृश्य देखिए । शीर्ष नेताका अभिव्यक्तिले थुप्रैलाई कानेखुसी पनि गरायो । शुभकामना दिन उपस्थित कांग्रेस र अन्य राजनीतिक दलका नेताबीच शुभकामना मन्तव्यमै कटाक्ष भयो ।

कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाभन्दा अघि सम्बोधन गरेका वरिष्ठ नेता रामचन्द्र पौडेलले ‘केपी शर्मा ओलीको सरकार हटेपछि पनि सुशासन आउन नसकेको’ भन्दै सरकारको आलोचना गरे । लगत्तै उद्घाटन सत्र समापनको सम्बोधन गर्न आएका देउवा पनि के कम, औपचारिक सम्बोधनअघि नै देउवाले पौडेललाई कटाक्ष गर्न भ्याए, ‘रामचन्द्रजी चिसोको कारणले बोल्न पनि सक्नुभएन, बिचराले के गर्ने ?’ त्यसपछि फ्लोरबाट देउवाको पक्षमा हुटिङ चल्यो ।

सभापति देउवा र वरिष्ठ नेता पौडेलबीच औपचारिक कार्यक्रममा देखिएको यो ‘घोचपेच’ विगतदेखिकै द्वन्द्वको अभिव्यक्ति हो । औपचारिक कार्यक्रम सुरु हुनुअघिका प्रसंग झनै रोचक छन् । देउवा मञ्चमा उपस्थित भएको केही समयमै केही विदेशी पाहुना आइपुगे । भारतीय जनता पार्टीका नेता हर्षवद्र्धन र कंग्रेस आईका महासचिव मुकुल वास्निकलाई उठेर देउवाले स्वागत गरे । छेवैमा बसेका वरिष्ठ नेता पौडेल पनि उठे । तर, भारतीय नेता देउवासँग आमने–सामने भलाकुसारीमा केन्द्रित भएपछि पौडेल आफ्नै सुरमा कुर्सीमा बसे । केहीबेरमा भारतीय नेताद्वयले आफूतिर नजर लगाएपछि मात्रै पौडेल उठे । त्यसपछि भारतीय नेतालाई मञ्चको कुन ‘लेयर’ मा राख्ने भन्नेमा पनि अन्योल देखियो । अतिथि व्यवस्थापनमा अलमल भएपछि प्रधानमन्त्री देउवा नेता प्रकाशशरण महततर्फ केन्द्रित भई रिसाएजस्तो देखिए । त्यसपछि अघिल्लो तहमै भारतीय नेताको व्यवस्थापन गरियो ।

सांस्कृतिक प्रस्तुति चल्दै गर्दा महामन्त्रीका प्रत्यासी गगन थापा २ बजेर १७ मिनेटमा कुनातिरबाट मञ्चमा देखिए । उनी नमस्कार गर्दै पछिल्तिर पुगेपछि उनको पक्षमा हुटिङ भयो । भाजपा नेता हर्षवद्र्धनले एउटै मञ्चमा यति धेरै पूर्वप्रधानमन्त्रीहरु आफूले पहिलोपटक देखेको बताए । मञ्चमा शुभकामना दिन पूर्वप्रधानमन्त्रीहरु केपी शर्मा ओली, पुष्पकमल दाहाल र माधवकुमार नेपालसहित विभिन्न दलका शीर्ष नेता उपस्थित थिए । हर्ष वर्दन नले दुई देशबीचको सम्बन्ध निकै राम्रो रहेको बताए ।

अतिथिलाई आसनग्रहणका लागि बोलाउने क्रममा जब पूर्वप्रधानमन्त्री ओलीको पालो आयो, तलबाट ताली बर्सियो । उनै ओलीको सरकार ढालेर देउवा प्रधानमन्त्री बनेका हुन् । तर, कांग्रेस कार्यकर्तामा पनि ओलीको हाउभाउ र भावप्रतिको क्रेज राम्रै देखियो ।

दिउँसो २ बजेर ११ मिनेटमा दाहाल मञ्चमा पुगेका थिए । त्यसअघि नै नेपाल पुगिसकेका थिए । दाहाल पुगेको ४० मिनेटपछि आइपुगेका ओली हँसिलो चेहरामा उभिएर देउवा बसेको देव्रे कुर्सीतिर बसे । दाहिनेतिर थिए दाहाल । ओली–दाहाल परैबाट कुराकानी गरेको दृश्य रोचक थियो । ओली र नेपालबीच भने कुराकानी हुन पाएन ।

आसनग्रहण गर्ने क्रममै उद्घोषक विश्वप्रकाश शर्माले राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनलाई आग्रह गरे । लिङ्देन उठेर नमस्कार गर्दा तलबाट उनको पक्षमा ताली पड्कियो । फरक विचार र राजनीतिक पृष्ठभूमिका लिङ्देन आफ्नै वरिष्ठ नेता कमल थापालाई पराजित गर्दै अध्यक्ष निर्वाचित भएका थिए । शुभकामना सम्बोधनमा पनि लिङ्देनको अभिव्यक्ति ‘बहसको केन्द्र’ बन्यो । लिङ्देनले राजनीतिक दलहरुले जनतामाझ विश्वास गुमाउँदै गएको र गाउँमा नेता जाँदा मान्छेले ‘कुनचाहिँ चोर आएछ भन्छन्’ भन्ने गरेको टिप्पणी हुन थालेको विषय उठाए । जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र राष्ट्रप्रमुखमा राजसंस्था हुनुपर्ने धारणा उनले राखे । माओवादी केन्द्रका अध्यक्ष दाहालले ‘गाउँमा नेता आउँदा चोर आयो’ भन्ने कुरा साँचो हो त ?’ भन्दै फ्लोरमा भएकालाई प्रश्न गरे । फ्लोरबाट ‘हो–हो’ भन्दै हुटिङ चल्यो । तर, दाहालले ‘होइन’ भन्दै हात हल्लाए । तलबाट ‘हो’ भन्दै फेरि हुटिङ चल्यो । लिङ्देनले गरेको कटाक्षप्रति ओलीले लिङ्देनलाई ‘भर्खर जन्मेको बाछो हिँड्न जान्दैन, अलि बढी कुद्छ क्या †’ भन्दै व्यंग्य गर्न भ्याएका थिए ।

दाहालले पुन: दोहोर्‍याए, ‘गलत हो, निरंकुश र तानाशाही जन्माउने षड्यन्त्र हो भनेर बुझ्न जरुरी हुन्छ ।’ दाहालअघि मन्तव्य राखेका नेकपा एसका अध्यक्ष नेपालले पनि पूर्वराजातर्फ संकेत गर्दै पार्टी खोल्न र व्यापार गर्न सुझाव दिए । ‘राजाले पनि एउटा नयाँ पार्टी खोले हुन्छ, व्यापार गरे हुन्छ, वंशको शासन स्वीकार्य छैन,’ नेपालले भने ।

शुभकामना दिन उपस्थित सबैले आआफ्ना तर्क र दलिल पेस गरे । उद्घाटन कार्यक्रममा देश झल्किने विविधतासहितका सांस्कृतिक कार्यक्रम प्रस्तुत भए । प्रदर्शनी स्थल उम्मेदवारका पर्चा/पम्प्लेट/पोस्टर र पार्टी झन्डाले सजिएका छन् । तर राजनीतिक दलका कार्यक्रममा राष्ट्रिय झन्डा पनि प्रयोग हुने गरेकोमा कांग्रेस महाधिवेशनमा त्यो देखिएन । महाधिवेशनका कारण पर्यटन बोर्ड अगाडि र पद्मोदय मोड भित्री भागमा सर्वसाधारणका सवारी प्रवेश निषेध गरियो । महाधिवेशनलाई लक्षित गरेर प्रहरीले सुरक्षा व्यवस्था थप कडा पारिएको जनाएको छ ।

प्रकाशित : मंसिर २४, २०७८ २१:५६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×