'जिउनुको मज्जा' लोकार्पण- साहित्य/विविध - कान्तिपुर समाचार

'जिउनुको मज्जा' लोकार्पण

कान्तिपुर संवाददाता

काठमाडौँ — बौद्ध भिक्षु तथा आध्यात्मिक गुरु योङ्गे मिङ्युर रिम्पोछेद्वारा अंग्रेजी भाषामा लिखित पुस्तक 'द जोय अफ लिभिङ'को नेपाली अनुवाद 'जिउनुको मज्जा' लोकार्पण भएको छ । पुस्तकलाई डा. सरोज धितालले अनुवाद गरेका हुन् ।

'ह्याप्पी म्यान अफ द वर्ल्ड'को रूपमा समेत चिनिएका रिम्पोछेको सो पुस्तक न्युरोसर्जन डा. वसन्त पन्त, गायिका आनी छोइङ डोल्मा, अनुवादक डा. सरोज धिताल र लेखक रिम्पोछेले संयुक्त रूपमा लोकार्पण गरेका हुन् ।

'आध्यात्मिक गुरुको यो पुस्तकले विज्ञानतिर फर्केर ज्ञानको मार्गमा लाग्न हरेक व्यक्तिलाई प्रेरित गर्छ,' डा. वसन्त पन्तले पुस्तकबारे बोल्दै भने, 'जीवन बुझ्नलाई मृत्युबारे चिन्तन गर्नुपर्ने र त्यसलाई पनि उत्सवका रूपमा लिन सकियो भने जीवनमा खुशी प्राप्त गर्न सकिन्छ ।'

गायिका आनी छोइङ डोल्माले आजको जीवनमा आफू आइपुग्न मिङ्युर गुरुको पथप्रदर्शक भएको बताउँदै पुस्तकले हरेक व्यक्तिलाई खुसीको मार्गमा डोर्‍याउने बताइन् ।

अनुवादक डा. सरोज धितालले बौद्ध दर्शनमा शान्तिको मार्ग भएकोले त्यसले हरेक व्यक्तिलाई सुखको बाटोमा लैजाने भन्दै अनुवाद गर्दाका अनुभव बाँडेका थिए ।कार्यक्रममा रिम्पोछेले ध्यानको तरिका सिकाउँदै चेतनालाई सधैँ जागृत राखे क्लेशमुक्त हुन सकिने बताए । उनले भने, 'निर्वाणका निम्ति नभै नहुने आधारभूत गुण पहिलेदेखि नै मानवमा भएकाले त्यसलाई चिन्नका लागि आफ्नो जीवन-मार्गसँगै आफूले आर्जन गरेको ग्यानलाई पुस्तकमा प्रस्तुत गरेको हुँ ।'

न्युयोर्क टाइम्स बेस्टसेलर 'द जोय अफ लिभिङ' पेनगुइन अमेरिकासँग अनुवाद अधिकार लिई बुक-हिलले नेपाली भाषामा प्रकाशन गरेको हो ।

३०० पृष्ठको किताबको बजार मूल्य ५०० रुपैयाँ राखिएको छ ।

प्रकाशित : मंसिर २०, २०७८ ११:४८
प्रतिक्रिया
पठाउनुहोस्

रुसी राष्ट्रपति पुटिन आज दिल्ली आउँदै

पुटिन र मोदीबीच महत्त्वपूर्ण सुरक्षा सम्झौताहरु हुने
राजेश मिश्र

नयाँ दिल्ली — रुसका राष्ट्रपति भ्लादिमिर पुटिन सोमबार भारत भ्रमणका लागि आउँदैछन् । दिल्लीमा केही घण्टा मात्रै व्यतित गर्ने पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बीचको भेटवार्तालाई महत्त्वका साथ हेरिएको छ ।

रुसी राष्ट्रपति भ्लामिदिर पुटिन तस्बिर : रोयटर्स

साँझ ५: ३० बजे पुटिन र मोदीबीच शिखर वार्ता हुने बताइएको छ । यद्यपि पुटिन कति बजे नयाँ दिल्ली आइपुग्ने अझैसम्म सार्वजनिक गरिएको छैन । सुरक्षाको कारण दर्शाउँदै उनको कार्यसूचीलाई गोप्य राखिएको छ । मोदीसँगको वार्ता र रात्री भोजपछि राति नै पुटिनले नयाँ दिल्ली छाड्ने छन् ।

भारत र रुसबीच लामो समयदेखि स्थायी प्रकारको सम्बन्ध छ । भारतका लागि रुस महत्त्वपूर्ण सुरक्षा सहयोगी छ । रुस भारतका लागि महत्त्वपूर्ण हतियार आपूर्ति गर्ने देश हो । नयाँ दिल्लीमा हुने दुई देशबीचको शीर्ष तहको वार्तामा पनि आधुनिक हतियार खरिद तथा भारतमा हतियार उत्पादनको कारखाना चालू गर्ने सम्बन्धमा सहमति हुनसक्ने भारतीय सञ्चारमाध्यममा उल्लेख छ । यद्यपि भारतीय विदेश मन्त्रालयले यस विषयमा औपचारिक रुपमा केही जानकारी गराएको छैन ।

भारत रुसबाट अत्याधुनिक मिसाइल एस–४०० र एके–२०३ राइफल खरिद गर्न इच्छुक मानिएको छ । जुन सम्झौता ५ हजार १ सय करोड भारतीय रुपैयाँ बराबरको हुने बताइएको छ । उक्त राइफल उत्तर प्रदेशको अमेठीमा उत्पादन हुने हिन्दुस्तान टाइम्सले जनाएको छ । एके-२०३ राइफलले तीन दशक पुरानो इन्सास राइफललाई विस्थापित गर्नेछ । भारतीय सेनालाई करिब साढे ७ लाख संख्यामा उक्त राइफल उपलब्ध गराइने बताइएको छ । त्यस बाहेक दुई देशबीच व्यापार, उर्जा, संस्कृति, रक्षा, आंतरिक्ष तथा अद्यौगिक क्षेत्रमा कतिपय सम्झौताहरुको सम्भावना छ ।

पुटिन र मोदीबीच वार्ता हुनुपूर्व दुई देशका दुई–दुई जना मन्त्रीहरु (दुई जोड दुई) अवधारणा अन्तर्गत विभिन्न विषयमा बैठक गरी सहमति गर्नेछन् । उक्त वार्तामा भारतीय रक्षामन्त्री राजनाथ सिंह र विदेशमन्त्री एस जयशंकर तथा रुसका रक्षामन्त्री सेर्जेई शोइगु तथा विदेशमन्त्री सेर्जेई लाभरोभ सहभागी हुनेछन् । रुसका दुवैजना मन्त्री आइतबार राति दिल्ली आइपुगेका छन् । भारतले यसअघि अमेरिका, जापान र अस्ट्रेलियासँग दुई जोड दुई अवधारणाका बैठक गरिसकेको छ ।

भारतको चीनसँग खटपटपूर्ण सम्बन्ध छ । त्यस्तै, अफगानिस्तानमा तालिवानको नियन्त्रणपछि उसलाई हेर्ने नजर पनि फरक छ । यी दुवै देशसँग रुसको भने सम्बन्ध राम्रो छ । चीनसँग रुसको गहिरो र बलियो सम्बन्ध छ । त्यस्तै, तालिवान शासकलाई रुसले ‘उचित’ शासकको संज्ञा दिएको छ । अर्कोतिर अमेरिकासँग भारतको बढ्दो मित्रतालाई लिएर रुस सशंकित रहँदै आएको छ । यी सबै फरकफरक सम्बन्ध र मतभेदका बाबजुद भारत र रुसबीच द्विपक्षीय सम्झौताहरु हुनेछन् ।

द वायरकी कूटनीतिक संवाददाता देवी रुपा विभिन्न विषयमा दुवै देशका दृष्टिकोण फरक रहेपनि द्विपक्षीय मामिलामा दुवै मुलुक निकटतम मित्र रहेको बताउँछिन् । ‘अफगानिस्तानमा तालिवानको नियन्त्रणपछि त्यहाँको परिस्थितिलाई लिएर रुस र भारतको फरक फरक दृष्टिकोण छ,’ उनले भनिन् ‘त्यस्तै, इन्डो प्यासिफिक क्षेत्रलाई लिएर भारत अमेरिका, जापान तथा अस्ट्रेलियसँग जोडिएको विषयमा पनि रुसको मत फरक छ ।’ दुवै देशको अन्य देशसँग आ–आफ्नै खालका सम्बन्ध र खटपट भएपनि रुस र भारत दुवैले एक अर्काको सीमितता र निश्चित ‘रेड लाइन’ को ख्याल गरेर सम्बन्धलाई कायम राख्दै आएको उनले उल्लेख गरिन् ।

प्रकाशित : मंसिर २०, २०७८ ११:४२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×