प्राध्यापक लामाको ‘ओ दार्जिलिङ !’ सार्वजनिक

कान्तिपुर संवाददाता

काठमाडौँ — दार्जिलिङका लेखक एवं प्राध्यापक महेन्द्र पी. लामाको पुस्तक ‘ओ दार्जीलिङ ! सीमा वारिपारिका परिवेश र मन्थन’ बजारमा आएको छ । यो पुस्तक भारतका नेपालीभाषी र उनीहरूले माग गर्दै आएको गोर्खाल्यान्डको मुद्दा लगायतका विषयमा केन्द्रित छ ।

दार्जीलिङले आफ्नो स्वाभिमानका निम्ति सय वर्षदेखि गर्दै आएको संघर्षको झलक पुस्तकमा रहेको लेखक लामाले बताएका छन् । पुस्तकमा दार्जिलिङ सँगैको अर्को राज्य सिक्किमसँग जोडिएका प्रसंग पनि पुस्तकमा छन् ।

‘आफ्नो जन्मथलो, जाति, क्षेत्रका जल्दाबल्दा मुद्दालाई टाढाबाट हेर्दा र फेरि भित्रै पसी केलाउँदा पाइएका सोच, धारा र प्रवृत्ति पुस्तकमा छन्,’ प्राध्यापक लामाले भनेका छन्, ‘मैले जन्मथलो छोडेर कर्मथलोमा जरा गाडेको ४० वर्षभन्दा ज्यादै भएछ । तर मेरो मन, भोगेको तन र निफन्ने ऐतिहासिक परिप्रेक्ष्यचाहिँ दार्जिलिङकै वरिपरी छ ।’

किताब पब्लिसर्सले प्रकाशित गरेको यो पुस्तकमा भारतबाट हेर्दा नेपाल कस्तो देखिन्छ ! तिब्बत र चीनतिर चियाउँदा के–के पाइन्छ ! कूटनीति, भूराजनीति र अन्तर्राष्ट्रिय सम्बन्धका नयाँ मुद्दाहरू के हुन्– यी र यस्ता विषय पनि समेटिएका छन् । विभिन्न समयमा लेखिएका र छापिएका ४९ वटा फरकफरक आलेखहरूको संग्रहमा सीमावारि र हिमालपारिका विविध विषयलाई समेटेको छ ।

लेखक लामा नयाँ दिल्लीको जवाहरलाल नेहरु विश्वविद्यालयको स्कुल अफ इन्टरनेसनल स्टडिजका वरिष्ठ प्राध्यापक एवं विकास अर्थशास्त्री हुन् । भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार परिषद् सदस्य, सिक्किम सरकारको प्रमुख आर्थिक सल्लाहकार एवं भारत सरकारका विभिन्न राष्ट्रिय–अन्तर्राष्ट्रिय कमिटीहरूमा प्रतिनिधि रहिसकेका लामा कान्तिपुरका स्तम्भकार पनि हुन् ।

४३० पृष्ठको पुस्तकमा ‘पहाडकी रानी’, ‘हाम्रो आवाज र स्वाभिमान’, ‘नेपाललाई नियाल्दा’, ‘चीनतिर चियाउँदा’, ‘कूटनीति र यताउति’ तथा ‘अनुभूति र अवलोकन’ गरी ६ खण्डमा विभाजित छन् ।

‘मैले दार्जीलिङको विजनबारी, नेपालको हुम्ला–जुम्ला, भोटाङको सर्भाङ, जापानको हिरोसिमा, न्युयोर्कको कुइन्स, तिब्बतको भाखोर अनि अरूणाचलको पासीघाटसम्मै थुप्रै चाखलाग्दा पाठक पाएको छु,’ लामाले आफ्नो लेखनको अनुभव साट्दै भनेका छन्,‘कालिम्पोङको गाउँमा एकजना बूढा पाठकले मेरा स्तम्भहरू सबै काटेर होसियारसँग राखेको देख्दा र जेट एयरवेजका एयर होस्टेसहरूले उड्दै गरेको विमानमा लेखको उत्सव मनाउँदै केक काटेको देख्दा खुशीले मन रून्थ्यो, आत्माभरि ढक्कमक्क मखमली फुल्थ्यो र कहिले गएर फेरि लेखौं–लेखौं हुन्थ्यो ।’

प्रकाशित : मंसिर १९, २०७८ १४:१५
प्रतिक्रिया
पठाउनुहोस्

राप्रपामा अब गुटहरू छैनन् : लिङ्देन

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टीका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीभित्र गुटहरू नहुने दाबी गरेका छन् । आइतबार पार्टीको अध्यक्षमा विजयी भएपछि आयोजित सभामा बोल्दै नवनिर्वाचित अध्यक्ष लिङ्देनले भने, ‘ आजबाट कुनै गुट छैन राष्ट्रिय प्रजातन्त्र पार्टीमा । कोही कसैको मान्छे छैन, सबै राप्रपाको मान्छे भएका छन् ।’

उनले पार्टीलाई विगतको जस्तो गतिहीन र निस्क्रिय बनाउने छुट आफूलाई नरहेको भन्दै पार्टीलाई मात्र नभइ पार्टीका मुद्दालाई जोड दिने बताए । उनले बाध्यकारी कदमको रुपमा नेतृत्व परिवर्तन गर्नुपरेको भन्दै अब राप्रपामा गुटहरु नहुने समेत दाबी गरे । ‘अब पार्टीका नेता, कार्यकर्ताले कोही एक व्यक्तिको नामबाट नभई राप्रपाको कार्यकर्ता भएर भोट माग्न जान पाउने बताए,’ उनले भने ।

पार्टीको महाधिवेशन आन्तरिक चुनाव भएकाले विजय जुलुस निकाल्न, माला र खादा लगाइदिन र मुर्दावाद र जिन्दावादको नारा लगाउन आवश्यक नरहेको अध्यक्ष लिङ्देनको भनाइ थियो ।

अध्यक्ष लिङदेनले भने, ‘मैले गाउँ घरतिर भोट माग्दा भन्थो, थुक्क यो राजेन्द्र मोरा पनि उस्तै चोर रहेछ, भन्ने काम म गर्न दिने छैन । भन्ने मौका दिने छैन भनेको थिएँ । आज राप्रपाका तमाम देशभरका महाधिवेशन प्रतिनिधि साथीहरुलाई, नेता, कार्यकर्ता साथीहरुलाई पनि भन्न चाहन्छु, यो पनि उस्तै रहेछ भन्ने मौका म दिन्नँ । तपाईंहरुको शिर झुक्ने काम गर्दिनँ । यो आन्तरिक चुनाव हो, कुनै पनि प्रकारको हामीले विजय जुलुस निकाल्नु पर्दैन । कुनै जिन्दवाद, मुर्दावादको नारा लगाउनु पर्दैन । सकियो आजबाट । कसैले फूलमाला लिएर पनि आउनु पर्दैन । राजेन्द्रलाई खादा लिएर गएन भने, माला लाइदिएन भने मलाई नराम्रो ठान्छ कि, त्यो केही गर्नु पर्दैन ।’

नवनिर्वाचित अध्यक्ष लिङ्देनले नेपालको राजनीतिमा स्थापित नेतृत्वसँग प्रतिस्पर्धा गरेर राप्रपाको नेतृत्व परिवर्तन गर्नु सानो कुरा नभएको बताए । उनले नेतृत्व परिवर्तन नगरी देश विकास हुँदैन भन्ने कुरामा मात्रै सीमित रहेका देशका ठूला राजनीतिक पार्टी नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा एमालेका पुस्तान्तरणका कुरा गर्नेहरुलाई अब राप्रपाले नेतृत्व गर्ने बताए ।

अध्यक्ष लिङ्देनले नेकपा माओवादीले परिवर्तनको नाममा १० वर्ष ध्वंसात्मक गतिविधि सञ्चालन गरेर पुरानो भत्काउने नयाँ बनाउने भने पनि नयाँ योजना नै बनाउन नसकेको आरोप लगाउँदै अब राप्रपाले पुरानोलाई निरन्तरता दिँदै सिर्जनात्मक तरिकाले देशको विकास गर्ने बताए ।

प्रकाशित : मंसिर १९, २०७८ १३:५७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×