कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

नेपाली दर्शनका तीन कृति

काठमाडौँ — अन्तर्राष्ट्रिय दर्शन दिवसका अवसरमा नेपाली दर्शनका तीन अनुसन्धानात्मक कृति सार्वजनिक भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान दर्शनशास्त्र विभागले गोपीरमण उपाध्यायको ‘वैदिक साम्यवाद र वैज्ञानिक समाजवादको तुलनात्मक अध्ययन’, अशोकविक्रम जिसी (समीर सिंह) को ‘साङ्ख्य दर्शन र माक्र्सवाद’ र प्रतिष्ठानकै ‘दर्शनावली भाग–८’ प्रकाशन गरेको हो । त्यसैगरी, साहित्यकार प्राडा. उषा ठाकुरको ‘नेपाली साहित्य सर्वेक्षण र समीक्षा’ समालोचना पनि सार्वजनिक गरिएको छ ।

नेपाली दर्शनका तीन कृति

बिहीबार आयोजित ‘वर्तमान सन्दर्भमा मानवतावादको महत्त्व’ विषयक विचार–गोष्ठीमा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले पुस्तक सार्वजनिक गरेका हुन् । कार्यक्रममा प्राध्यापक वीरेन्द्रकुमार मिश्रले वर्तमान युग मानवतावादको युग भएको बताए । ‘मानवतावादको मोटिभेसन करुणा हो,’ उनले भने, ‘हरेकलाई आफ्नो भाग्यरेखा कोर्ने, जीवनको अस्तित्व बचाउने वातावरण चाहिन्छ ।’ प्रतिष्ठानका सदस्यसचिव जगत्‌प्रसाद उपाध्यायले जयपृथ्वीबहादुर सिंहले नेपालमा मानवतावादी दर्शनको प्रवर्तन गरेको उल्लेख गरे । ‘सन् १९२३ मा जयपृथ्वीबहादुर सिंहले जातभात, छुवाछूतविरुद्ध बोल्नुभयो, लेख्नुभयो,’ उनले भने, ‘नेपालको सन्दर्भमा त्यो नै मानवतावादको पहिलो चरण थियो ।’

इतिहासविद् प्रा. दिनेशराज पन्तले नेपाली दर्शनका ग्रन्थ प्रकाशन भएसँगै नेपालले छुट्टै ‘दर्शन दिवस’ मनाउनुपर्ने आवश्यकता रहेको बताए । युनेस्कोले सन् २००२ मा विश्व दर्शन दिवस मनाउन प्रस्ताव गरेको थियो । महासभाले २००५ मा निर्णय गरेपछि हरेक वर्ष नोभेम्बर तेस्रो साताको बिहीबार यो दिवस मनाउने गरिएको छ । २०६६ सालमा दर्शन विभाग गठन गरेका प्रतिष्ठानले हालसम्म दर्शनावलीका आठ भाग प्रकाशन गरेको छ ।

प्रकाशित : मंसिर ९, २०७८ २१:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?