अझै सर्वाधिक पढिन्छन् देवकोटा–बीपी

श्यामसुन्दर शशि

जनकपुर — नेपाली र मैथिली भाषाका नयाँनयाँ पुस्तक जनकपुरका बजारमा आइरहन्छन् । पठनीय कृति पाठकका रोजाइमा पर्नु नौलो होइन । यहाँका पाठकको पहिलो रोजाइमा भने अहिले पनि लक्ष्मीप्रसाद देवकोटा र विश्वेश्वरप्रसाद कोइरालाकै पुस्तक पर्ने गरेको छ । मैथिली साहित्यका पुस्तक उनीहरूको दोस्रो रोजाइका बनेको छ ।

अझै सर्वाधिक पढिन्छन् देवकोटा–बीपी

साझा प्रकाशन जनकपुरका अनुसार देवकोटाको अमरकृति ‘मुनामदन’ अझै पनि सर्वाधिक बिक्री हुने पुस्तक हो । साझाको जनकपुर शाखाले हरेक वर्ष ३ सयदेखि ५ सय थान मुनामदन बिक्री गर्छ । त्यसपछि कोइरालाका उपन्यासहरू र ‘जेल जर्नल’ पाठकको रोजाइमा पर्ने गरेको छ । देवकोटाको ‘शाकुन्तल’ महाकाव्य र मदनमणि दीक्षितको ‘माधवी’ उपन्यासको बिक्री पनि राम्रो रहेको साझाले जनाएको छ । जनकपुर शाखा प्रमुख दिलीप गुप्ताले पछिल्लोपटक कृषिसँग सम्बन्धित ‘किट तथा कीरा नियन्त्रण’, ज्योतिषसम्बन्धी ‘द्रव्यगुण विज्ञान’, सीटीईभीटीको

पाठ्यक्रमसँग सम्बन्धित पुस्तक तथा अनुसन्धानमूलक पुस्तकको माग धेरै रहेको बताए । मैथिली कला, साहित्य, संस्कृति तथा इतिहाससँग सम्बन्धित पुस्तकको माग अधिक भए पनि त्यस्ता पुस्तकको अभाव रहने गरेको गुप्ताको भनाइ छ ।

साझा प्रकाशनले आफ्ना प्रकाशनका अतिरिक्त नेपाल प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित पुस्तक पनि बिक्री गर्छ । दुवैले मैथिली भाषामा भने कमै पुस्तक प्रकाशन गरेका छन् । प्रतिष्ठान तथा साझाबाट प्रकाशित मैथिली पुस्तक रामभरोस कापडीको ‘विद्यापति आ नेपाल’, प्रफुल्लकुमार सिंह (मौन) को ‘मैथिली साहित्यिक इतिहास’, प्राडा योगेन्द्रप्रसाद यादवको ‘नेपाली–मैथिली–अंग्रेजी शब्दकोश’, प्राडा रामदयाल राकेशका पुस्तकसँगै मैथिली गद्यपद्य संग्रह, कथासंग्रहको माग अधिक रहेको गुप्ताले बताए । ‘हामीले आफैं पुस्तक खरिद गरेर बिक्री गर्ने होइन । केन्द्रीय कार्यालयले पठाएका मात्र बिक्री गर्छौं,’ उनले भने, ‘मैथिलीका पुस्तक खोज्न त धेरै आउँछन् तर अन्य प्रकाशनबाट प्रकाशित पुस्तक हामीसँग हुँदैनन् ।’ जनकपुरधाम–४ को दीपेश स्टेसनरीका सञ्चालक प्रकाश बरालले पनि साहित्यिक पुस्तकमा मुनामदनको बिक्री सर्वाधिक हुने गरेको बताए । पछिल्ला वर्ष साहित्यिक पुस्तक खरिद गर्नेको संख्यामा ह्रास आएको उनको अनुभव छ । ‘मुनामदन पाठकको रोजाइ हो । योसँगै मदन पुरस्कारप्राप्त पुस्तकको खोजी धेरै हुन्छ ,’ उनले भने ।

जनकपुरमा २०२७ सालमा खुलेको साझाको क्षेत्रीय कार्यालय जनकपुर वार्षिक करिब ५० लाखको पुस्तक बिक्री गर्ने मुलुककै राम्रो व्यापार गर्ने शाखामा पर्छ । शाखा प्रमुख दिलीप गुप्ताका अनुसार कार्यालयमा नयाँ र पुराना गरी झन्डै एक करोड बराबरका पुस्तक छन् । पुस्तक बिक्रीसँगै साझालाई पुस्तकालयका रूपमा समेत विस्तार गर्नुपर्ने उनको भनाइ छ ।

प्रकाशित : मंसिर ४, २०७८ ०७:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?