कथा लेखनमा न्यौपाने पहिलो- साहित्य/विविध - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कथा लेखनमा न्यौपाने पहिलो

कान्तिपुर संवाददाता

काठमाडौँ — बाह्रखरी मिडियाले आयोजना गरेको तेस्रो डिसहोम १२खरी कथा लेखन प्रतियोगिताको प्रथम पुरस्कारद्वारा मनोजादित्य न्यौपानेको ‘अन्तिम अतिथि’ शीर्षकको कथा पुरस्कृत भएको छ । यस्तै, दोस्रो पुरस्कार स्वप्निल नीरवले ‘बुढो घर’ कथाका लागि प्राप्त गरेकी छन् भने तेस्रो पुरस्कार ‘मुडुली’ कथाका लागि रेणुका जीसीले प्राप्त गरेकी छन् । प्रथम, द्वितीय र तृतीय पुरस्कारको राशि क्रमश: एक लाख, ६० हजार र ४० हजार रुपैयाँ छ ।

शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा विजेता घोषणासँगै प्रतिस्पर्धामा आएका कथाहरूमध्ये उत्कृष्ट २५ कथाको सँगालो ‘उत्कृष्ट कथा–२०७८’ को पनि लोकार्पण गरिएको छ ।

प्रमुख अतिथि रक्षामन्त्री डा. मीनेन्द्र रिजालले विजेतालाई पुरस्कार वितरण तथा पुस्तकको लोकार्पण गरेका थिए । प्रमुख अतिथि डा. रिजालले प्रथम तीनसहित उत्कृष्ट २२ कथाकारहरूलाई पनि प्रमाणपत्रसहित पाँच–पाँच हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरे ।

उत्कृष्ट कथाकारलाई मन्त्री रिजालसँगै डिसहोमका प्रमुख कार्यकारी अधिकृत सुदीप आचार्य, नेपाल इन्भेस्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति पाण्डे, अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्री र नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेल, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल, १२खरी मिडियाका प्रधान सम्पादक प्रतीक प्रधान, प्रबन्ध निर्देशक ज्ञानेश्वर आचार्य, प्रबन्ध सम्पादक राजेश केसीलगायतले खादा, पुष्पगुच्छा, प्रमाणपत्र, नगद र ट्रफी वितरण गरेका थिए ।

यस वर्षका उत्कृष्ट २२ कथाकारहरूमा आन अच्युत, कमल नेपाल, डा. गोविन्दसिंह रावत, चन्द्र पन्जियार, जीवन खत्री, डीके विरही, तिलक राई, त्रिभुवनचन्द्र वाग्ले, बुद्धिराज पाण्डे, मनोहर पोखरेल, महेन्द्र उपाध्याय, मोद ढकाल, डा. राजु अधिकारी, वीरसिंह विश्वकर्मा, विशालबाबु बस्नेत, शारदा पराजुली, श्रेयज सुवेदी, सञ्जय भट्टराई, सपना अधिकारी, सरिता अर्याल, साजन केसी र हरिबोल काफ्ले रहेका छन् ।

प्रकाशित : मंसिर ३, २०७८ २०:३२
प्रतिक्रिया
पठाउनुहोस्

प्रकाश दाहाल स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिता सम्पन्न

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रकाश दाहाल स्मृति दोश्रो पुरुष तथा महिला राष्ट्रिय बक्सिङ प्रतियोगिताको महिला ५४ केजीमा नेपाल आर्मीकी मिनु गुरुङले स्वर्ण पदक जितेकी छन् ।

नेपाल बक्सिङ संघको आयोजना तथा प्रकाश दाहाल स्मृति प्रतिष्ठानको सहकार्यमा भएको प्रतियोगिताको शुक्रबारको फाइनलमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्णधारी मिनुले नेपाल प्रहरीकी निशा तामाङलाई पराजित गरेकी हुन् ।

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हाताको कराते हलमा भएको प्रतियोगिताको महिला ४८ केजीमा नक्सालकी सुष्मा तामाङले एचटुओकी अस्मिता दुवाल, ५० केजीमा एपीएफकी माला राईले कास्कीकी सोनिया बरुवाल तथा ५२ केजीमा आर्मीकी ललिता महर्जनले नक्सालकी शिला राईलाई फाइनलमा हराउँदै पहिलो स्थान हात पारे ।

स्वर्ण पदकका लागि पुरुषतर्फ ४८ केजीमा आर्मीका सुशील थापाले सुर्खेतका मोहन गुरुङलाई हराएका थिए भने ५१ केजीमा एपीएफका प्रदीप महर्जनले आर्मीका सुवास तामाङलाई, ५४ केजीमा आर्मीका प्रेम चौधरीले भूपु बक्सिङका उपास गुरुङलाई, ५७ केजीमा एपीएफका पुरन राईले बक्समान्डुका सुरज महर्जनलाई, ६० केजीमा बीएनकेबीका इन्द्रबहादुर सुनारले कञ्चनपुरका महेन्द्र चन्दलाई साथै ६३.५ केजीमा एपीएफका सोनम सार्कीले आर्मीका दोलबहादुर चौधरीलाई हराएका थिए ।

विजेतालाई पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, पूर्वमन्त्री विना मगर, युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मी, राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइराला, नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेलगायतले कार्यक्रमबीच पुरस्कार हस्तान्तरण गरे ।

प्रकाशित : मंसिर ३, २०७८ २०:२९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×