२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

फातसुङको अङ्ग्रेजी अनुवाद सार्वजनिक

कान्तिपुर संवाददाता

काठमाडौँ — फातसुङ उपन्यासको अङ्ग्रेजी अनुवाद नेपाल, भारत र युकेबाट एकसाथ सार्वजनिक भएको छ ।

फातसुङको अङ्ग्रेजी अनुवाद सार्वजनिक

लेखक एवम् प्रकाशक अजित बरालले गरेको अनुवाद नेपालमा फाइनप्रिन्ट, भारतमा रचना बुक्स र बेलायतमा बलेस्टियर प्रेसले प्रकाशन गरेका छन् ।

सन् २०१९ मा सर्वप्रथम नेपालीमा प्रकाशित फातसुङ बङ्ला भाषामा प्रकाशित छ भने हिन्दीमा प्रकाशन हुने क्रममा छ ।

आफ्नो कृति अङ्ग्रेजीमा अनुवाद भएकोमा खुसी साट्दै लेखक काविमोले भने, ‘अनुवाद त्यो पुल हो, जसले एउटा भाषालाई अर्को भाषासँग जोड्छ । एउटा साहित्यलाई अर्को साहित्यसँग जोड्छ । र एउटा समाजलाई अर्को समाजसँग जोड्छ । फातसुङ अहिले त्यही पुलपछिको नयाँ यात्रामा छ । आशा राखें, यहाँबाट आम अङ्ग्रेजी पाठकले एउटा सुन्दर यात्रा हिँड्नेछन्, जहाँ दार्जीलिङे जीवनका केही भोगाइ छन् । केही सुस्केरा छन् । सबैभन्दा धेर अधुरो सपनाको एउटा गीत छ, जसलाई अङ्ग्रेजी पाठकले पक्कै गुनगुनाउनेछन् ।’

अनुवादक बरालले भने, ‘अन्तर्राष्ट्रिय साहित्यलाई फाट्टफुट्ट भए पनि नेपालीमा अनुवाद गर्ने काम भएका छन् । तर नेपाली साहित्यको अङ्ग्रेजी वा अन्य भाषामा राम्रो अनुवाद भएकै छैन भने पनि हुन्छ । त्यसैले स्तरीय नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउन हामी नेपाली साहित्यलाई अङ्ग्रेजीमा अनुवाद गर्ने प्रयासमा लागेका छौं । त्यही प्रयासको प्रतिफल हो सङ अफ द सोयल ।’ सशस्त्र माओवादी द्वन्द्वसँग धेरै समानता राख्ने राख्ने दार्जीलिङको पहिचानको सङ्घर्षको सुन्दर कथा र छुदेन काविमोको भाषिक मिठासले फातसुङको अनुवाद गर्न आफूलाई प्रेरित गरेको उनले बताए ।

प्रकाशित : कार्तिक ५, २०७८ १५:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?