१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

नाटक 'ठूला माछा र साना माछा'माथि कविता प्रतियोगिता

कान्तिपुर संवाददाता

काठमाडौँ — शिल्पी थियटरले नाटक 'ठूला माछा र साना माछा'माथि कविता प्रतियोगिता 'शिल्पी नाट्य यात्रा २०७८' आयोजना गर्ने घोषणा गरेको छ । नाटक र कविताको सम्बन्ध बलियो बनाउन यो प्रतियोगिता आयोजना गरिएको नाटकका निर्देशक घिमिरे युवराज बताउँछन् ।

नाटक 'ठूला माछा र साना माछा'माथि कविता प्रतियोगिता

'हामी नाटक त गर्छौं कवितामा । तर कविहरुलाई नाटकमा जोड्यौं भने अलि बृहत हुन्छ कि भन्ने लाग्यो । नाटक हेरेर कविता लेख्ने भयो भने दर्शकले पनि नाटकको बारेमा सोच्न थाल्नेछन् । दर्शकसँग अलि बढी जोड्न सकिन्छ होला नाटकलाई भनेर कविता प्रतियोगिताको प्रयोग गर्न खोजेका हौं,'रंगकर्मी घिमिरेले भने,'धेरैको चासो पनि देखिरहेको छु यो प्रतियोगिताप्रति । त्यही हो एउटा सहयात्रा जस्तो हुनेछ ।'

'ठूला माछा र साना माछा'लाई लिएर घिमिरेको टिम ४ गते काठमाडौंबाट देश दौडाहमा निस्कनेछ । नाटक मञ्चनपछि दर्शकले नाटकको विषयवस्तुमाथि कविता लेखेर यो प्रतियोगितामा सहभागिता जनाउन सक्नेछन् । २१ ठाउँहरुमा नाटक मञ्चन गर्ने तयारी छ । सबै ठाउँमा नाटक मञ्चनपछि यो प्रतियोगिताबारे घोषणा हुनेछ । अधिकतम २ सय शब्दमा लेखिएको कवितालाई दर्शकले शिल्पीको वेब साइटमा अप्लोड गर्नुपर्ने छ ।

कविता आफूलाई सहज लाग्ने भाषामा लेखेर पठाउन सकिने बताइएको छ । सुनसरी, मोरङ र झापामा नाटक हेरेका दर्शकले २०७८ मंसिर ३० सम्म कविता पठाइ सक्नुपर्नेछ । नाटक हेर्न नपाउने दर्शकका लागि अनलाइनमा हेर्ने व्यवस्था गर्ने तयारीमा रहेको घिमिरे सुनाउँछन् । २१ ठाउँमा नाटक मञ्चन भइसकेपछि कविता प्रतियोगिताको विजेता छनौट गरिने व्यवस्था छ ।

कविता प्रतियोगिताको संयोजक सकुन्तला जोशी हुन् । पहिलो चरणमा उत्कृष्ट २० कविता छनौट गरिनेछ । ती कविताका लेखकहरुलाई काठमाडौं बोलाएर वाचन गर्न लगाउने र त्यसमध्यबाट उत्कृष्ट ४ लाई २०७९ वैशाख १५ गते छनौट गरेर विजेता घोषणा गर्ने तयारी छ । उत्कृष्ट ४ ले जनही २५ हजार रुपैँया दिने व्यवस्था गरिएको छ ।

'रङ्गकर्मीहरूका लागि कविता सधैं सिर्जनाको ऊर्जा हो । नाटक र कविताको साँच्चै प्रेमिल सम्बन्ध छ । हामीले धेरै पटक कविता माथि नाटक बनायौं । गजब भयो । नाटक र कविताको सम्बन्ध अझै बलियो बनाउन नाटकमाथि कविता लेख्ने अभियान हो यो,' कविता प्रतियोगिताबारे शिल्पीले सार्वजनिक गरेको जानकारीमा उल्लेख गरिएको छ ।

प्रकाशित : कार्तिक २, २०७८ २२:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?