‘लिम्बु पहिचान’ पुस्तक सार्वजनिक

कान्तिपुर संवाददाता

काठमाडौँ — ‘लिम्बु पहिचान : मौलिक याक्थुङ पहिचानको खोजी’ पुस्तक सार्वजनिक भएको छ । १२औं राष्ट्रिय जनगणनाको प्रश्नावलीमा समेटिएका जातीय पहिचानका विषयप्रति समुदायमा हुने गरेको अन्योललाई स्पष्ट पार्ने सामग्रीसहित पुस्तक प्रकाशनमा ल्याइएको जनाइएको छ ।

‘लिम्बु पहिचान’ पुस्तक सार्वजनिक

मुन्धुम एकेडेमीले प्रकाशन गरेको पुस्तकमा १५ जना लेखकका लिम्बु (याक्थुङ) जाति र समग्र किरातबारे विविध पक्षमा लेखहरू समेटिएका छन् । उक्त पुस्तक डीबी आङबुङ, टेक लावती र ट|s सेलिङले सम्पादन गरेका हुन् ।

आगामी कात्तिक २५ गतेबाट मंसिर ९ गतेसम्म देशभरि एकैसाथ राष्ट्रिय जनगणना हुँदैछ । जनगणनाको मुख्य प्रश्नावलीको व्यक्तिगत खण्डमा नाम, थर, लिंग, जात/जाति, पुर्खाको भाषा, मातृभाषा, दोस्रो भाषा र धर्म समेटिएको छ । आइतबार भर्चुअल माध्यमबाट सार्वजनिक गरिएको पुस्तकमा सम्बन्धित समुदायमाझ हुने दुविधालाई स्पष्ट पार्ने सामग्री रहेको जनाइएको छ ।

जनसंख्याविद् बालकृष्ण माबुहाङ्ले ‘राष्ट्रिय जनगणना र आदिवासी जनजाति याक्थुङ (लिम्बु)को पहिचान’, नन्द कन्दङ्वाले ‘जनगणनाको राजनीति, लिम्बु आदिवासीमा विवाद र समाधानको उपाय’ शीर्षक लेख र केदार धिमालले ‘आदिवासी धिमाल जातिको पहिचान र जनगणना’ आलेख प्रस्तुत गरेका छन् । लिम्बु र धिमाल जातिबीच ऐतिहासिक रूपमा एकै दाजुभाइ थिए भने सांस्कृतिक समानता रहेको पाइन्छ ।

पुस्तकमा समेटिएका आलेखमध्ये अरुना लिम्बुले ‘लिम्बु जातिमा मातृसत्ता, लोक देवीदेवता र धर्म’, भगिराज इङनामले ‘ऐतिहासिक दस्तावेजमा याक्थुङ्, लिम्बु र किरात’ शीर्षमा लेखेका छन् । डा. चैतन्य सुब्बाले ‘याक्थुङ–लिम्बुहरूको युमा धर्म’, धमेन्द्र नेम्बाङले ‘बहुल रङ्गवादी दृष्टिकोणमा जाति, भाषा, धर्म र संस्कृति’, दिलेन्द्र कुरुम्बाङले ‘मौलिक पहिचानको बहस’, डा. कमल तिगेलाले ‘आदिवासी लिम्बुको जाति, भाषा, धर्म र किरात धर्म’ शीर्षक आलेख रहेका छन् ।

यसैगरी खगेन्द्र माखिमले ‘पुरानो राज्यसत्ताको निरन्तरता कि परिवर्तन’, कृष्णविक्रम नेम्बाङले ‘प्राचीन किरात को हुन् र कुन सभ्यताबाट फैलिएका थिए ?’, लछामी शेर्मा पापोले ‘किरात धर्मको आत्मसमीक्षा’, मधुराज केरुङले ‘सांस्कृतिक पुनर्जागरण अभियान र लिम्बु जातिको जागरण पथ’ विषयमा लेखेका छन् । यसैगरी टंक सेलिङको ‘मौलिक मुन्धुम र धर्ममा वैज्ञानिक अवधारणा’ र टेक लावतीको ‘लिम्बुवानमा विभिन्न धार्मिक पन्थहरूको उद्भव, द्वन्द्व र कारकतत्व’ शीर्षक लेख समेटिएका छन् ।

‘समाजमा एकपक्षीय ढंगले प्रस्तुत हुने बानी परेको छ,’ मुन्धुम एकेडेमीका अध्यक्ष तथा सम्पादक डीबी आङबुङले भने, ‘त्यसैले सबै पक्षलाई बहुपक्षीय ढंग र प्राज्ञिक हिसाबले बुझाउने प्रयत्न स्वरूप यो पुस्तक प्रकाशनमा ल्याएका हौं ।’ अनुमानको भरमा कुतर्क गर्नेभन्दा यथार्थ बुझेरमात्र बोल्ने आधारका रूप पुस्तक प्रकाशन गरिएको आङबुङले दाबी गरे ।

प्रकाशित : आश्विन २४, २०७८ १३:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?