नइ रजत महोत्सवमा त्रिपाठीसहित ५० स्रष्टा पुरस्कृत- साहित्य/विविध - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नइ रजत महोत्सवमा त्रिपाठीसहित ५० स्रष्टा पुरस्कृत

कान्तिपुर संवाददाता

काठमाडौँ — नइ प्रकाशनको रजत महोत्सवका अवसरमा प्रा. डा. वासुदेव त्रिपाठीलाई ‘महासमालोचक’ उपाधि प्रदान गरिएको छ । प्रकाशनले शनिबार राजधानीमा गरेको कार्यक्रममा वाङमय शताब्दी पुरूष सत्यमोहन जोशीद्वारा त्रिपाठीलाई ताम्रपत्रसहित ५ लाख रुपैयाँ र ‘नइ रजत महोत्सव पुरस्कार’ प्रदान गरिएको हो ।

नेपाली साहित्यमा बहुआयामिक, समन्वयवादी र युगकै केन्द्रीय समालोचकका रुपमा त्रिपाठीको स्थान उच्च रहेकाले उपाधि प्रदान गरिएको नइका सदस्यसचिव नरेन्द्रराज प्रसाईँले बताए । कार्यक्रममा उनलाई १ लाख राशीको ‘नइ ईश्वर बराल पुरस्कार’ समेत प्रदान गरियो । यस अवसरमा प्रा डा त्रिपाठीले वाङमय शताब्दी पुरूष जोशीलाई ‘नइ रजत महोत्सव पदक’ प्रदान गरेका थिए ।

प्रकाशनले कोरोना महामारीका कारण रोकिएको २०७६ र २०७७ सालका पुरस्कार स्रष्टाहरुलाई एकैसाथ प्रदान गरेको हो । समारोहमा भारतीय नेपाली साहित्यकार दुर्गाप्रसाद श्रेष्ठलाई २ लाख रुपैयाँ राशीसहित ‘नइ देरुनीख अन्तर्राष्ट्रिय पुरस्कार’ प्रदान गरियो ।

यस्तै चिकित्सकहरु डा.गौरीशङकरलाल दास र डा.मणिन्द्र रञ्जन बराललाई ‘नइ भावी पुरस्कार’, नेपालको राष्ट्रिय झण्डाका मानक निर्माता इन्जिनियर शङ्करनाथ रिमाल र पूर्व उपप्रधानमन्त्री कमल थापालाई ‘नइ कीर्तिनिधि पुरस्कार’, अभिनेत्री मनीषा कोइराला र प्राध्यापक राजेन्द्र विमललाई ‘नइ भूपालदुर्गा पुरस्कार’, हास्यव्यंग्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य साथै कलाकार नीर शाहलाई ‘नइ देरुनीख सुकृति पुरस्कार’ प्रदान गरिएको छ ।

चूडामणि रेग्मी र संगीतकार सन्तोष शर्मालाई ‘नइ भाजप पुरस्कार’बाट सम्मान गरियो । उनीहरुलाई पुरस्कारको रुपमा जनही एक लाख रुपैयाँसमेत प्रदान गरिएको नइ प्रकाशनले जनाएको छ ।

यस्तै परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठ, साहित्यकार लक्ष्मीदेवी राजभण्डारी, दुर्गा पौडेल, महेश थापा, सोफी सुनुवार, सिविरा लामा, शशीकला तिवारी, जंगबहादुर शाह, साहित्यकार वसन्तकुमार चौधरी, साहित्यकार घनश्याम राजकर्णिकार, भवानी क्षत्री, राधिका दासी लगायत ५० सर्जकलाई एकैसाथ आआफ्ना विधाका पुरस्कार वितरण गरिएको थियो । प्रकाशनबाट यस वर्ष प्रकाशित १६ वटा कृति सत्यमोहन जोशीले लोकार्पण गरेका थिए ।

प्रकाशित : आश्विन २३, २०७८ २१:१४
प्रतिक्रिया
पठाउनुहोस्

नेपालबाट मनसुन बाहिरिन सुरु, ठूलो वर्षाको सम्भावना कम

रासस

काठमाडौँ — ठूलो जनधनको क्षति गराउँदै औषत मितिभन्दा छ दिन ढिला गरी नेपालबाट मनसुन बाहिरिन थालेको छ । मनसुन बहिर्गमनको औसत मिति अक्टोबर २ भए पनि शुक्रबार (अक्टोबर ८)मा नेपालको पश्चिम क्षेत्रबाट मनसुन बाहिरिन थालेको हो । नेपालको सुदूरपश्चिम र कर्णाली प्रदेशमा पूर्ण र लुम्बिनी प्रदेशको पश्चिमी भू–भागबाट मनसुन बहिर्गमन भएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अबको केही दिनमा देशका बाँकी भू–भागबाट मनसुन बहिर्गमन हुने अनुमान गरिएको महाशाखाका मौसमविद् मञ्जु बासीले जानकारी दिइन् ।

मौसम पूर्वानुमान महाशाखाले नियमितरूपमा मनसुन बहिर्गमन प्रक्रियालाई अनुगमन गरिरहेकाले थप जानकारीपछि अद्यावधिक गरिने जनाएको छ । अहिले मनसुनको ठूलो प्रभाव नरहे पनि प्रदेश १, २, वाग्मती र गण्डकीमा हल्का बदलीको अवस्था रहेको छ । अब ठूलो वर्षाको सम्भावना भने कम छ ।

ती भू–भागका एक–दुई स्थानमा हल्का वर्षा पनि भएको छ । शनिबार राति मुलुकभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, वागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । बङ्गालको खाडी आसपास विकसित भएको (न्यून चापीय क्षेत्र)का कारण मुलुकको पूर्वी भेगबाट गएको जेठ २८ मा मनसुन (वर्षायाम) भित्रिएको थियो । उक्त दिन नेपालको प्रदेश १, २ र वाग्मती प्रदेशमा भित्रिएकामा जेठ ३० मा मुलुकभर नै फैलिएको थियो । सरदरभन्दा बढी पानी पर्ने आकलन गरिएको नेपालमा सोहीअनुसार नै वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

सामान्यतः विगतमा १० वर्षयता जुन १० मा मनसुन भित्रिएर सेप्टेम्बर २३ मा बाहिरिन्थ्यो । यस वर्षदेखि मनसुन भित्रिने दिन जुन १३ थियो । त्यसको दुई दिनअघि नै मनसुन भित्रिएको थियो भने छ दिनपछि बहिर्गमन हुन थालेको छ । सरदर वर्षाको आँकडा विष्लेषण गरेर मनसुनको मिति तय गरिनेछ । कहिलेकाहीँ केही दिन ढिला र केही दिन चाँडो पनि मनसुन भित्रिने र बाहिरिने हुन्छ । यसपालि पनि त्यही भएको मौसमविद्को भनाइ छ । यसपालिको मनसुनका समयमा मुलुकका धेरैजसो भू–भागमा सरदरभन्दा बढी वर्षा हुने आकलन गत वैशाखमा गरिएको थियो ।

प्रकाशित : आश्विन २३, २०७८ २१:०५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×