१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

कोहलपुरको मञ्चमा स्रष्टा

मधु शाही

बाँके — ‘खस्नु त हाम्रो नियति नै रहेछ....’
यो कविताको मध्यम श्लोक थियो । कोभिडले विरसिलो बनेको कोहलपुरमा धेरै समयपछि भौतिक सर्जक–श्रोताको भौतिक उपस्थितिमा कविता वाचन गरिएको छ । जसमा नेपालगन्जका युवा कवि बीपी अस्तुले आफ्नो रचनामार्फत श्रोताको मन जिते । ‘नखस्नु’ शीर्षकको कविता सुनाएका उनले दर्शकको ‘वन्स मोर’ पाए । उनीसँगै कविता पस्कन काठमाडौंदेखि आएकी कवि सुनिता खनालले आफ्नो रचनाको बेग्लै छाप छोडिन् ।

हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानले कोहलपुरमा दुई युवा कविलाई रचना वाचन गर्ने अवसर जुराएको थियो । प्रतिष्ठानका अध्यक्ष कपिल अञ्जान भन्छन्, ‘झन्डै डेढ वर्षदेखि यस्ता कार्यक्रम गर्न पाएका थिएनौं, अब सिलसिला सुरु भएको छ ।’ उनका अनुसार कुनै समय सर्जकहरू भेटेर चौतारीमा वरिपरि बस्दै सुन्ने र सुनाउने गरिन्थ्यो । प्रत्यक्ष सुनेर साथीभाइले तुरुन्तै भावसहितको प्रतिक्रिया दिन्थे । सर्जक उत्साहित हुन्थे । तर, पहिलो लकडाउनयता भौतिक उपस्थितिको साटो भर्चुअल प्रस्तुति बाध्यकारी भएर आयो । त्यसमा सर्जक र पाठकले स्वाद मानिरहेका थिएनन् ।

लामो अन्तरालको भर्चुअल गतिविधिको क्रमभंग गर्दै सिर्जना लिएर आएका बीपी र सुनिताले दर्शकको ओठमा मुस्कान छरे । सुनिताले आमा, ओ नायक, आगोको ठेगाना, चित्कार, पैसा फल्ने रुख, तिमी आएपछि लगायत रचना सुनाइन् । त्यस्तै, बीपीले विवशहरू, रोइदिएको भए, प्रेम कल्प, हिँडाइ, युद्ध मृत्युसित, शान्ति, नखस्नु, जेठको धूपमा मेरो गाउँ सिर्जना बाचन गरे । बीपीको कवितामा सामाजिक पात्रलाई उठान गरेर विसंगतिप्रतिको विद्रोह भाव झल्किन्थ्यो भने सुनिताको रचना सुन्दा नरम खालका तर, सन्देश चोटिला थिए ।

कार्यक्रममा प्रतिष्ठानले नेपालगन्जका ८० वर्षे उर्दु सायर अब्दुल लतिफ शौकलाई ‘तुलसी राम स्मृति पुरस्कार २०७७’ बाट सम्मान गरिएको थियो । उर्दु र नेपाली दुवै भाषामा लेख्ने गरेका अब्दुलले धेरै समयपछि मञ्चमा रचना वाचन गरेको बताए ।

प्रकाशित : आश्विन २१, २०७८ ०९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?