कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

मोती शोभाका लघु उपन्यास सार्वजनिक

कान्तिपुर संवाददाता

काठमाडौँ — लामो समय सरकारी सेवामा बिताएकी मोती शोभा श्रेष्ठले चार लघु उपन्यास सार्वजनिक गरेकी छन् । महिला पात्रमा केन्द्रित श्रेष्ठका ‘प्रकृति’, ‘सम्झनाको डायरी’, ‘सत्य र आमा’ र ‘आँसु’ लघु उपन्यासहरू पूर्वप्रधानमन्त्री तथा साहित्यकार लोकेन्द्रबहादुर चन्द, कवि तथा गीतकार कालीप्रसाद रिजाल, साहित्यकार तथा पूर्वअर्थमन्त्री शंकर कोइराला, साहित्यकार तथा चलचित्र निर्देशक यादव खरेललगायतले शनिबार राजधानीमा लोकार्पण गरेका हुन् ।

उपन्यासमा पितृसत्तात्मक नेपाली समाजमा सामान्य परिवार, महिलाको जीवन हेर्ने, बुझ्ने र महसुस गर्ने तरिका तथा तिनका भोगाइहरू समेटिएको श्रेष्ठले बताइन् । ‘मैले पहिलो लकडाउनको तीन/चार महिनामा नै यी उपन्यासहरू तयार पारें,’ श्रेष्ठले भनिन् ।

‘प्रकृति’ मा श्रेष्ठले नेवारी समाजका रीतिरिवाज, आर्थिक अवस्था र युवापिँढी विदेशिन बाध्य हुनुका कारणहरू समेटेकी छन् । ‘सम्झनाको डायरी’ मा मानिसमा साहस, हिम्मत भएमा समाज र राज्यका लागि योगदान गर्न सक्ने र समयको सही सदुपयोगले जीवन सुखमय हुन्छ भन्ने भाव समेटिएको छ । ‘सत्य र आमा’ कृतिमा भने उनले बालश्रम शोषणबारे उल्लेख गरिएको छ । ‘भोको पेट र टुक्रिएको हृदयले जीवनमा महत्त्वपूर्ण पाठ सिकाउने कुरालाई मनन गरी यो उपन्यास लेखेकी छु,’ उनले लेखेकी छन् । चौथो कृति ‘आँसु’ मा उनले नेपालको ग्रामीण परिवेशमा जन्मीहुर्की, सानै उमेरमा विवाह गरेर संघर्षरत एक महिलाको कथालाई समेटेकी छन् ।

काठमाडौंको मरुटोलमा जन्मिएकी श्रेष्ठ श्रम तथा यातायात व्यवस्था मन्त्रालयमा सहसचिव, वाणिज्य विभागमा निर्देशक, जनसंख्या तथा वातावरण तथा उद्योग मन्त्रालयमा उपसचिवको जिम्मेवारी सम्हालेकी थिइन् । श्रेष्ठले यसअघि ‘नेपालमा घरेलु उद्योगका विकास’ नामक पुस्तक प्रकाशित गरेकी थिइन् ।

प्रकाशित : आश्विन १०, २०७८ ०८:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?