उपन्यास अंश : पहेँलपुर- साहित्य/विविध - कान्तिपुर समाचार

उपन्यास अंश : पहेँलपुर

‘पर्वतारोहीलाई चिप्लिएको देखेर पर्वतको शिखर आफैँ आएर उसको पाउमा झुक्दैन । ठूलो सपनाले ठूलै कुर्बानी माग्छ बोधी ! यति सानो असफलतामा नै हार खायौँ भने यो दुनियाँमा आफ्नो व्यापारी झण्डा गाड्न कसरी सकिएला ?’
जीएस पौडेल

कहिलेकाहीँ मालिकको बेचैनी धेरै नै बढ्थ्यो । त्यस्तो अवस्थामा मालिकले प्रोफेसरको चिठ्ठी दोहोर्‍याइ तेहेर्‍याइ पढ्नुहुन्थ्यो । त्यो चिठ्ठी, जो हामी अमलापुर आउनुभन्दा केही दिनअघि आएको थियो । अथवा भनौँ त्यो चिठ्ठी नै थियो, जसले मालिकलाई महत्त्वाकांक्षी बनाएर पहाडतिर डोर्‍याएको थियो । पटनाको धन्दा बन्द गर्नुपरेको अवस्थामा मालिकले पठाउनुभएको नैराश्य भावको चिठ्ठीको आशावादी जवाफ थियो त्यो ।

अझै भनौँ कि त्यो केवल चिठ्ठी थिएन, सपनाको नयाँ उचाइ थियो । प्रोफेसरले त्यो चिठ्ठीमा लन्डनमा फस्टाउँदै गएको उनको व्यापारको बारेमा लेखेका थिए । शीतयुद्धको चरम कडीमा बाँधिएको युरोपमा बढ्दै गएको त्यो मन्दविषको माग भित्रभित्रै बढिरहेको थियो । उनले चिठ्ठीमा मालिकलाई हरेस नखान सम्झाएका थिए । त्यति मात्र होइन उनले त्यो बिजनेसको भविष्यको बारेमा पनि बताएका थिए । मालिकलाई नयाँ सपनाको लट्टामा बेरेका थिए । मालिक युरोपमा बढिरहेको त्यो धन्दामा आफू एउटा पार्टनर भएको सपना बोकेर पहाड हानिनुभएको थियो । प्रोफेसरको चिठ्ठी पढेपछि मालिकभित्र योजना सफल पारेरै छाड्ने दृढता जाग्थ्यो ।

“डियर बोधी,

तिम्रो पत्र पाएँ, पढेँ र अचम्मित भएँ ।

चाँडै हताश हुने तिम्रो बानीबाट म यसअघि नै परिचित भइसकेको छु । जसरी हताश भएर तिमीले पारसफूललाई वाहियात भन्यौ र पछि आफ्नो गल्ती महसुस गर्‍यौ, मलाई लागेको थियो कि तिमीले त्यसबाट केही सिक्यौ होला तर सिकेका रहेनछौ । तिम्रो प्रोफेसर हुनुको नाताले पनि तिमीलाई जिन्दगीको कक्षामा सहयोग पुर्‍याउनु मेरो कर्तव्य हो । उसैमा हामी जुन व्यापारका कारणले तरक्कीको बाटोमा हिँड्दैछौँ, त्यसको पहिलो प्राप्ति तिमीलाई नै भएको थियो । तिमीलाई छोडेर म एक्लै अगाडि लम्किनु अन्याय होला ।

हेर बोधी !, यति ठूलो पृथ्वीमा आज हामी कुनै पनि कुनामा पुग्न सक्छौँ र अनुकूलता हेरेर यो फूलको खेती गर्न सक्छौँ । यो पृथ्वीमा पटना मात्र छैन र पटनाको असफलता सबै ठाउँको असफलता पनि होइन । हामीसँग जुन मन्दविषको हतियार छ यो चानचुन होइन बोधी ! म यो भन्दिनँ कि तिमीलाई यसको महत्त्व थाहा छैन तर एउटा कुरा के हो भने तिमी परिपक्व हुनु जरूरी छ । पर्वतारोहीलाई चिप्लिएको देखेर पर्वतको शिखर आफैँ आएर उसको पाउमा झुक्दैन । ठूलो सपनाले ठूलै कुर्बानी माग्छ बोधी ! यति सानो असफलतामा नै हार खायौँ भने यो दुनियाँमा आफ्नो व्यापारी झण्डा गाड्न कसरी सकिएला ?

यता लन्डनमा हाम्रो व्यापार चकाचक चल्दै छ । बितेका यी वर्षहरूमा हामीले व्यापारलाई निकै फस्टाएका छौँ । सुरुवाती वर्षहरूबाट नै हामीले पश्चिममा वेल्स र पारी डब्लिनमा पारसमणि सप्लाई गरिरहेका थियौँ । त्यतैका केही स्थानीय तस्करहरूले हाम्रो माल उठाइरहेका थिए । तर हाम्रो नजर त्यताभन्दा पनि पूर्वको इङग्लिश च्यानल पार गर्नेतिर थियो । हामीले त्यतै आफ्नो बजार खोज्न सुरु गर्‍यौँ र त्यो सही दिशामा अगाडि बढ्दै गयो । हामीले पेरिसमा आफ्नो बजार बनाइसकेका छौँ । त्यहीँको स्थानीय गिरोहले हाम्रो माल खरिद गर्छ । त्यो गिरोहको नाइके इङग्लिश नभए पनि इमान्दार छ । अब हाम्रो बजार बर्लिनमा विस्तार हुन गैरहेको छ । बर्लिनमा जुन गिरोहले हामीसँग कन्ट्रयाक्ट गर्दै छ त्यो गिरोह राम्रो भाउ दिन राजी भएको छ । हामीले कम्प्लिट डोजको पुडिया बनाएर बेच्ने गरेका छौँ तीस दानाहरूको । एक पुडियाको मूल्य एक सय बीस पाउण्ड । सोच त बोधी !, हामी कति कमाउन सक्छौँ ? मात्र तीस पुडियाको डोज बेच्न सक्यौँ भने, वी क्यान बाइ अ हाउस ओर अ कार । थिन्क बोधी !, हाउ मच वी क्यान अर्न ? म र ब्रुक एकपटक बर्लिन पुगेर फर्किसकेका पनि छौँ । त्यहाँको माहोल अत्यधिक तातो छ । विश्वास गर बोधी !, बर्लिनमा हाम्रो व्यापार यति फस्टाउने छ कि हामीलाई सधैँको लागि मालामाल बनाइदिने छ । यो हामी दुई प्रोफेसरहरूको विश्लेषण हो ।

यतिखेर पूरै यूरोप शीतयुद्धको चक्रवातबाट घेरिएको छ । बाह्र वर्ष पहिलेको त्यो लन्डनको ग्रेट स्मोगभन्दा खतरनाक अदृश्य चक्रवातमा । विश्वयुद्धपछिको नयाँ शक्ति सन्तुलन खोजिरहेछ समस्त युरोप यतिखेर । पराजित जर्मनीलाई टुक्रा टुक्रा पारेका अलाइड शक्तिहरूले बर्लिनलाई पनि उस्तै रेखाहरूमा टुक्रा टुक्रा बनाएका छन् । यतिखेर तिनै शक्तिहरूबिचमा एउटा चरम अविश्वासको स्थिति छ । खास गरी सोभियत एकातिर र अरू तीन देशहरू अर्कोतिर फर्किएका छन् । यो सबको बिचमा छ बर्लिन । शीतयुद्धको केन्द्रमा परेको छ बर्लिन सहर यतिबेला । षड्यन्त्र, धोखा, इख, आरिस, बदला, डिप्रेशन, फ्रस्टेशन आदि इत्यादि चिजहरूले खचाखच भरिएको छ बर्लिन । हाम्रो व्यापारले उत्कट उचाई लिन गइरहेको छ बोधी !

तिमीलाई लाग्यो होला कि हामी यो फूलका दानाहरूको प्रयोगलाई कसरी मार्केटिङ गरिरहेका छौँ र सफलता हासिल गरिरहेका छौँ । सायद यस प्रक्रियाका बारेमा हामीले यसअघि खुलेर कुरा गरेनौँ । आज म तिमीलाई प्रक्रियाको बारेमा थोरै बताउँछु, किनभने चाँडै नै ब्रुक र म एउटा निर्णयमा पुग्दै छौँ । हामीले तिमीलाई पार्टनरका रूपमा सँगै अगाडि लैजाने बारेमा सोचेका छौँ ।

तिमी पछिल्लो पटक इण्डिया फर्किसकेपछि म र ब्रुकले यसको मार्केटिङको बारेमा धेरै सोच्यौँ । मान्छेले मान्छेलाई सिध्याउन त हामीले युगौँ अघिबाट सिक्दै आएका हौँ । केवल तरिका बदलिएको हो । विश्वयुद्धपछि ‘आर्म्ड वार’ मा नियन्त्रण भए पनि ‘वार’ सकिएको कदापि थिएन र यो सकिने पनि छैन । युद्धका नियमहरू बदलिएका छन्, अरू बदलिने छन् । चालहरू फेरिएका छन् र अरू फेरिने छन् । यहाँ कूटनीति नामको भ्रमित खोस्टोभित्र स्वार्थहरूको विश्वयुद्ध जारी नै छ र यो अनवरत रहन्छ ।

धेरै विचार गरेपछि हामी एउटा निर्णयमा पुग्यौँ । फिल्टर चुरोटको हतियार प्रयोग गर्ने । यद्यपि दोस्रो विश्वयुद्ध अघिबाट नै सुरु भएको फिल्टर चुरोटको प्रयोग त्यो बेलासम्म पनि व्यापक भइसकेको थिएन तथापि हामीलाई काम सुरु गर्न त्योभन्दा अरू सजिलो उपाय सुझेन । हामीले मिथक फूलका दानाहरूलाई फिल्टरभित्र सियोको मद्दतले प्वाल पारेर राख्ने योजना बनायौँ । ब्रुकले दानाहरूलाई स्टेरिलाइज गर्ने योजना बतायो, जसले ती दानाहरूलाई इन्फर्टिलाइज गरिदिन्थ्यो । त्यो आवश्यक थियो, व्यापारिक नियन्त्रणको लागि । त्यसरी फिल्टरमा दानाको स्विच जडान गरेपछि हामीले लन्डनका नवरङ्गीन रातका गल्लीहरू चहार्‍यौँ । यी दिनहरूमा लन्डनका रातहरूलाई ड्रगको मदहोशीमा झुम्म पर्ने बानी लागेको छ, जसरी बाँकी युरोपलाई लागेको छ । लन्डनका गल्लीहरूमा हामीले केही ड्रग एडिक्टहरूलाई साथी बनायौँ । उनीहरूलाई ड्रग किन्ने पैसा पनि दियौँ र दैनिक हाम्रो फिल्टरबाट सिगरेट पनि पिलायौँ, पिलाउँदै गयौँ । कसैलाई एक डोज, कसैलाई दुई डोज, कसैलाई पाँच डोजसम्म पनि दियौँ र कसैलाई दिन बिराएर र दुई दिन बिराएर डोजहरू दियौँ ।

लगभग एक महिनासम्मको प्रयोगपश्चात् दिन बिराएर दिएका डोजहरूबाहेक अरू पहेँलिदै जान थाले । दिन बिराएर डोज लिएकाहरूलाई हामीले अरू केही समय डोजको निरन्तरता दियौँ । तर त्यो सफल हुन सकेन, उनीहरू पहेँलिएनन् । नियमित एक दाना लिएकाहरूदेखि पाँच दाना लिएकाहरू चाहिँ सँगै पहेँलिए । उनीहरूले निकै उपचारको खोजी गरे तर बाँचेनन् । उनीहरूमध्ये सबैभन्दा लामो बाँच्ने भिक्टिम एक सय बीस दिन बाँच्यो । फिल्टरभित्र दाना फुटेको केही समयसम्म मात्र त्यसको विषको असर रहन्छ, त्यसैले उचित समयमा पारसमणि फुटाइनुपर्थ्यो । एक दाना विषको असर परेपछि चौबिस घण्टासम्म त्यसको असर रगतमा प्रवाह भइरहन्थ्यो । त्यसले कलेजोमा आक्रमण गथ्र्याे, जुन कुरा मैले तिमीलाई बोटानिकल टक्सिनको क्लासमा यही मिथक फूलका बारेमा पढाउँदा भनेको थिएँ । तर निश्चित समयसम्म त्यो प्रवाहको निरन्तरता आवश्यक र अनिवार्य देखियो । डिपेन्डिङ्ग अन बडी रेसिस्टेन्ट पावर, यसको टक्सिनले तीनदेखि बढीमा चार हप्ताभित्र लिभरको बिलिरुबिन छान्ने प्रक्रियालाई पूरै ध्वस्त पारिदियो र ती गल्लीका ड्रग एडिक्टेडहरू पहेँला हुँदै गए ।

परीक्षण र अध्ययनपछि हामीले रिपोर्ट बनायौँ र त्यसैको आधारमा प्रयोग विधि निर्धारण गर्‍यौँ । अब बाँकी थियो उच्च कोटीका ड्रग माफियाहरूलाई खोज्नु र आफ्नो विषालु ड्रग इन्ट्रोड्युस गर्नु । त्यो काम हामीले लन्डनबाटै सुरु गर्‍यौँ र विभिन्न सहरहरूमा विस्तार गर्‍यौँ ।

समयको क्रमसँगै हामीलाई यो व्यापारमा झनै अनुकूल भएको छ । तिमीलाई थाहा छ बोधी !, पोहर सालबाट युरोप बजारमा फिल्टर सिगरेटको प्रयोग नाटकीय ढंगले बढेको छ । पोहर साल यहाँ जब ‘कटन् फिल्टर’ सिगरेटले धुम्रपानका अन्य माध्यमभन्दा ‘सुरक्षित’ भएको मान्यता पायो तब यसको प्रयोग एकाएक व्यापक भएको हो । यसको व्यापकतासँगै अब हाम्रो मार्केट पनि व्यापक भएको छ । यसरी ह्वात्तै फिल्टर सिगरेट्का प्रयोगकर्ताहरू बढ्नुले हाम्रो बजारलाई सर्वानुकूल बनाएको छ ।

तर यी यावत् अनुकूलताहरूमा पनि एउटा कुराको चिन्ताले हामीलाई सताइरहेको छ । लन्डनका फाँटहरू अब गोप्य भइरहन सक्ने स्थिति रहेन । इङ्ग्लिशहरूलाई हिजोआज अरूको प्रगतिमा चासो राख्ने बानी परेको छ । कसले के गरेर पैसा कमाइरहेको छ ? खुबै चासो राख्न थालेका छन् । लन्डन यस्तो भइसकेको छ कि पैसा कमाउनु नै जिन्दगीको अर्को नाम हो यहाँ । यो फूलको रहस्यको गोपनीयता हाम्रो व्यापारको मुख्य ताकत हो । यसलाई खुकुलो पारेर तरक्की गर्न सकिँदैन । अर्कोतर्फ जो कोहीलाई पार्टनर बनाएर विश्वास गर्न पनि सकिँदैन । अब यो व्यापारलाई ब्रुक, तिमी र म भएर अगाडि बढाउनुपर्छ बोधी ! दक्षिण एसियाका अधिकांश पहाडी इलाकाहरू अझै पनि भर्जिन छन् । आजसम्म एन्टिबायोटिकसम्म देख्न नपाएका ती पहाडी गाउँहरूमा छिर्नुपर्छ हामी । यसको उत्पादनको गोपनीयता त्यस्ता पहाडी गाउँहरूमा निकै सुरक्षित रहने छन् । तिमी दक्षिण एसियामा उत्पादन गर, हामी युरोपमा बजार बनाउँछौँ । तिमीले गरिरहेकै काम भएकाले अरू काम तिमीले जानी नै सकेका छौ । अब तिमी उत्पादन गर्न सकिने पहाडी या देहाती इलाकाहरूको खोजी गर । एउटाबाट सुरु गर, बाँकी त इस्ट इण्डिया कम्पनीले हिन्दूस्तानलाई सिकाएरै आएको छ कि व्यापारलाई कसरी बिस्तार गर्नुपर्छ । तिम्रो आफ्नै शरीरमा पनि व्यापारीको खुन दौडिएको छ । मैले सिकाइरहनै पर्दैन ।

ब्रुक र म अर्को महिनाको दोस्रो सातातिर बर्लिन जाँदै छौँ । बर्लिनमा जुन प्रकारको सम्झौता हुने अपेक्षा छ, त्यो हुना साथ हामीलाई तुरुन्तै थप उत्पादनको आवश्यकता पर्ने छ । हामी तीन जना मिल्यौँ भने यो व्यापारलाई ठूलो उचाइमा लैजान सक्छौँ । हामी तेत्तिस तेत्तिस प्रतिशतको पार्टनर हुने छौँ र बाँकीको एक प्रतिशत हाम्रो जोइन्ट शेयर हुने छ । तिमीलाई मन्जुर छ भने तिमी तुरुन्तै योजनामा लागिहाल बोधी ! हामीसँग समय खेर फाल्ने छुट छैन । पत्र पाएपछि तार गरेर मलाई आफ्नो जवाफ पठाऊ । मलाई पूरा विश्वास छ कि हाम्रो भविष्य वैभवशाली हुने छ ।

आफ्नो ख्याल राख !

प्रोफेसर प्याट्रिक कोल्लिन्स

९ जुलाई १९६१

बेन्स्टिड्, लन्डन”

+ + +

प्रोफेसरको पत्रले मालिकलाई निदाउन दिएको थिएन । भनेँ नि, त्यो पहाडी योजना त्यसै तयार भएको थिएन । पहाडी चिसो हावामा षड्यन्त्रको तातो बाफ मिसिँदै थियो, सुस्त सुस्त, मन्द मन्द । दिनचर्याहरू बित्दै थिए । अब योजना द्रुत गतिमा अघि बढाउने मनस्थितिमा हुनुहुन्थ्यो मालिक । गाउँलेहरूलाई ललाइफकाइ गर्ने तयारी शिघ्र गर्नु थियो । बडासाहेब खुसी भएको बेला छोपेर, त्यसको लागि राजी बनाउनु थियो । यसैबिचमा मैले मालिकको दैनिकीमा एउटा कुराको हेक्का गरेँ । मलाई लागेको थियो कि अमलापुरमा नोकर्नीहरूलाई नल्याएर मालिकले आफ्नो आदतलाई सुधार्नुभयो तर म गलत सबित भएँ । एक दिन गफिँदै गर्दा बडासाहेबले भन्नुभएको थियो, “मीतछोरा, यतिलामो बस्ने गरेर आएका रहेछौ, बुहारीलाई पनि सँगै ल्याउनुपथ्र्याे नि ।”

“ल्याउने मन त थियो मीतबाबा, उनी दुई जिउकी छिन् । पछि नाति–नातिना बोकेरै आउँला नि भेट्न ।”

मालिकको त्यो जिम्मेवारीपूर्ण जवाफ मैले पनि सुनेको थिएँ । मलाई साँच्चै नै लागेको थियो कि मालिक सुध्रिनुभयो । फगत झुठ रहेछ मेरो आफ्नै सोच ।

मालिकको जिभ्रोले दरबारकी एउटी नोकर्नीतिर फर्किएर फणा नचाउन सुरु गरिसकेको रहेछ । ऊ विधवा थिई, त्यस्तै बाइस–तेइस वर्षकी, सबैले ‘सेती’ भनेर बोलाँउथे । कलिली थिई केटी, निर्दोष खरायो जस्ती । उसकी आमा बडासाहेबको खान्दानी सुसारे । तेत्तिस वर्षको हुनुहुन्थ्यो मालिक त्यतिबेला, म अठ्ठाइसमा थिएँ । देहभोगको के जाद्रो भोक जाग्दो हो कुन्नि कि थाम्नै नसकिने । उसैमा नोकर्नीहरूप्रतिको त्यो कस्तो आकर्षण ? म पनि बैँसको उन्मादी दिनहरूमै थिएँ, म त संयम नै थिएँ । बहुस्त्रीगमन लालची देहको जरूरत हुँदो हो, एउटा पुरुषको जरूरत कदापि होइन । मालिकको त्यो कमजोरी देखेर दया पनि लाग्थ्यो । तर म फगत एक सेवक, मैले आफ्नो हैसियत बिर्सन सक्दैनथेँ ।

तिनै दिनहरूको बीचमा एक दिन बडासाहेब किञ्चित् दोधार मनस्थितिमा देखिए । उपयुक्त मौका पारेर मालिकले सोध्नुभयो, “मीतबाबा कुन दोधारमा अड्किँदै छ हजुरको मन ? दुई दिन भयो कुनै कुरामा घोरिए झैँ देख्छु हजुरलाई ।”

“तिम्लाई के लुकाउनु छोरा, बहिनीको बिहेको कुरा आएको छ । त्यसैले दोधारमा छु ।”

“तर बाबा बहिनीको बिहे गर्न आत्तिहाल्नुपर्ने त छैन ।”

“आत्तिएको होइन छोरा ! तर जुन खान्दानबाट कुरो आएको छ त्यो सजिलै नकार्न नसकिने पनि छ ।”

“कहाँको केटा हो बाबा ?”

“नौतुनाका हुन् उनीहरू तर सुनौलीमा पनि घर छ । सुनौलीमै बस्छन् सपरिवार । गल्लाको ठूलो कारोबार छ परिवारको । अरू केही व्यापारहरू पनि छन् रे । त्यहाँको सबैभन्दा ठूलो व्यापारी घराना । त्यो परिवारको छोरोको बिहेको कुरा आएको छ । छोरोबाहेक परिवारको अर्को सन्तान भनेको एउटी लाटी छोरी ।”

“के केटाको बाबाको नाम गिरिधारी पाठक हो बाबा ?” मालिकले निकै उत्साहपूर्वक सोध्नुभयो ।

अचम्मित बडासाहेबको अनुहारले सोध्यो, “तिमी कसरी चिन्छौ उनलाई छोरा ?”

मालिकको गर्विलो जवाफ, “उहाँ पिताजीको पुरानो मित्र हुनुहुन्छ । हामी दिल्ली सरेपछि, उहाँहरू नौतुना सर्नुभएको थियो । उहाँले चिन्नुहुन्छ मलाई ।”

त्यो संयोग एक प्रकारले भन्ने हो भने बिहेको कुरोलाई अगाडि बढाउनैका लागि जुरेको हुनुपरथ्यो । बडासाहेबलाई लमीले धेरै कुरा सुनाएर गएको थियो केटाको खानदानको । बडासाहेबको हैसियत गाउँमै सीमित थियो, केटा पक्षको हैसियत सहर र सिधा राजाको निगाहसम्मको थियो । व्यापार पनि उस्तै ठूलो । बडासाहेबको आफ्नै हैसियत बढाउन पनि यो अवसर अत्यन्त उपयोगी हुन्थ्यो । बडासाहेब उत्साहित हुनुभयो ।

“छोरा तिमीलाई एउटा कुरा भन्छु, मान्छौ ?”

“के कुरा बाबा, भन्नुस् न ।”

“एक पटक हामी बाउछोरा सुनौली जाउँ न है । हेरौँ, केटाको खानदान कस्तो रहेछ । राम्रो लाग्यो भने दिने हो छोरी, आखिर दिनु नै छ एक दिन त ।”

“हुन्छ बाबा, हजुरको मर्जी ।”

मालिकले आफ्नो मीतबाबालाई खुसीको टेवा दिनुभयो ।

+ + +

सुटुक्क सुनौली पुगेका बडासाहेब र मालिक केही दिनमै फर्किए । बडासाहेब गिरिधारी पाठकको रवाफले निकै प्रभावित भएछन् । रिस्ता पक्का गर्ने विचारमा पुगे बडासाहेब । उनले आफ्नो एकतर्फी फैसलाको खबर पटना पु¥याए तर आफ्नी छोरीलाई बताउन आवश्यक ठानेनन् । उताबाट पनि धनहजुरीलाई भेट्ने इच्छा जाहेर भएको थियो । चाँडै नै बन्दोबस्तीका साथ एउटा औपचारिक पारिवारिक भेटघाटको तयारी हुने भयो । त्यही भेटमै मगनी हुने र बिहेको मिति तय हुनेसम्मको सम्भावना अधिक थियो । धनहजुरी भने यो सब कुरासँग बेखबर थिइन् । बडासाहेब निकै खुसी देखिन्थे । मालिकलाई उनको खुसीले खुसी तुल्याएको थियो । अब मालिकले बडासाहेबसँग आफ्नो योजना कार्यान्वयनको सहयोग लिने सही समय भएको थियो ।

त्यसको भोलिपल्ट बिहानको कुरा हो । म दरबारभित्रै कतै केही गरिरहेको थिएँ अचानक दमाहाको डम्–डम् आवाज सुनेँ । बाहिर प्राङ्गणमा सानो भिड जम्मा भइसकेको रहेछ । म दगुर्दै त्यहाँ पुगे । मालिक अघिबाट नै त्यहाँ हुनुहुन्थ्यो । बडासाहेब दलिनअगाडि उभिएर गम्मक परेका थिए । मानौ भर्खरै उनले आफ्नो तागतको परीक्षण गरेका छन् र विजीत भएका छन् । उनको सामुन्ने एउटा परिवार हात जोडेर बिन्ती बिसाइरहेको छ । एउटा किशोर केटो, जसलाई भर्खरै बडासाहेबका भुसतिघ्रेहरूले भकुर्नु भकुरेका हुँदा हुन् । उसको मैलो कमिजमा रगतका छिटाहरू छन् । मुख रगताम्य भएर फुलेको छ । विचारो आँसुले भलभल बगेको र हात जोडेर उभिएको । उसको पछाडि उसको बा, आमा र अर्की एक वृद्धा सायद हजुरामा हुँदी हुन्, सबै जना रुँदै बिन्तीभाउ बिसाइरहेका छन् । तर बडासाहेबको फर्मान जारी भइसकेको छ ।

एकैछिनमा भुसतिघ्रेहरूले त्यो केटालाई च्याप्प समातेर छेउतिर लतारे र छुराले उसको कपालको पाटा मुड्न लागे । त्यो गरिब किशोर, मैलो कमिजमा रगताम्य भएको त्यो केटो, घ्वाँघ्वाँ रुन लाग्यो र रुवाइमा रुमल्लिएको उसको हारगुहार सन्त्रासमा घुमिरह्यो “मैले क्यै गरे छैन मैयाँ हजुरलाई, ह्वाँ ह्वाँ, बा सत्ते मैले जिस्काको हैन मैयाँहजुरलाई ह्वाँ ह्वाँ, नाइँ म खौरिन्न, ह्वाँ ह्वाँ, बडासाहेब, ह्वाँ ह्वाँ !”

के भैरहेको थियो ? मैले त केही बुझ्नै सकिरहेको थिइनँ । पाटा मुडेर भुसतिघ्रेहरूले त्यो केटोको अनुहारभरि हाँडीको मोसो दले र बाटातिर घचेटे, ऊसँगै घचेटियो उसको परिवार । जुँगामा ताऊ लगाउँदै बडासाहेबले आफ्नो आदेश पुनः दोहोर्‍याए, “यो लेखे शर्माको परिवारले फेरि कहिल्यै यो गाउँमा कदम राख्न नपाओस् । काली कटाएर धपाउनू ।” दमाहा फेरि बज्यो, जोडले, डम्–डम्, डम्–डम्, डम्–डम डम्–डम !!”

“लेखे शर्मा ?” बाजेको कुरा सुनेर आलोकको आँखा तन्कियो ।

“हो आलोक बाबु !, तिम्रै जिजुबाको नाम, तिम्रै हजुरबा हुनुहुन्थ्यो त्यो किशोर जसको चारपाटा मुडिँदै थियो ।”

सेवक बाजेको कुरा सुनेर आलोकले आफ्नो टाउको समाउँछ र घुडाँमा घोप्ट्याउँछ । केही बेरपश्चात् टाउको उठाउँछ र एक खिल्ली चुरोट सल्काउँछ र लामो सासमा तानेर हावामा उडाउँछ । त्यसपछि बाजेको कथाले निरन्तरता पाउँछ ।

“गाउँमा मेरो कुरा काटिहिँड्ने हिक्मत त्यो पाजी बाउनको । म पापी रे, अत्याचारी रे, के सोच्यो तेल्ले आफूलाई ? यो गाउँमा मेरा कति कान र कति आँखा छन्, मैले था’पाउन्न भन्ठान्यो होला पाजी लेखेले । अझै त्यस्को छोरोले मेरी छोरीलाई जिस्काउने दुस्साहस गर्ने ?” साँझ मालिक र बडासाहेबको हुक्कासँगैका संवादहरू सुनेको थिएँ मैले ।

“तर बहिनीले त उसले जिस्काएको होइन भन्दै थिइन् त ।”

“यो शान यसै कायम रहिआएको होइन मीतछोरा ! राजकाज गर्न राजनीति बुझ्न अपरिहार्य हुन्छ । धनुको कुराको कुनै अर्थ छैन । राजनीति गर्नु औँलाले घ्यू झिकेर खानु जस्तो हो र ? तिक्डमबाजी जान्नुपर्छ । यो बात सधैँ यादमा राख मीतछोरा !”

मालिकले कुरा बुझ्नुभयो र मुन्टो हल्लाउनुभयो ।

त्यही साँझ मालिकले बडासाहेबसँग फूलखेतीको योजनाका बारेमा सल्लाह गर्नुभयो । गाउँलेहरूलाई आफ्नो खेतबारीमा अन्नबालीको साटो फूलखेती गर्न लगाउनु एउटा संवेदनशील कुरा थियो । किसानले खेतमा धान, गहुँ नफलाए के खाने ? कसरी बाँच्ने ? बडासाहेबको लागि पनि यो एउटा सोचनीय कुरा थियो । मालिकले किसानहरूसँग आफूले ती फूलहरूलाई दाम तिरेर खरिद गर्ने र त्यही पैसाले किसानहरूले नुन, तेल, चामल किनेर ल्याउन सक्ने विचार राख्नुभयो । धेरै खेती गर्न सक्नेले केही मोहरहरू बचत पनि गर्न सक्ने थियो । पैसाको अनुहार चिन्न पनि गाह्रो पर्ने गाउँलेहरूलाई मोहरी जाल फ्याँक्नुभएको थियो मालिकले । बडासाहेब भने निश्चिन्त थिएनन्, अन्न फलाउन छोड्लान किसानहरू ? विचार नगरी यसै भन्न सकिन्नथ्यो ।

“मीतछोरा !, म गाउँलेहरूको नाडी विचार गरुँला र यस बारेमा तिमीसँग फेरि कुरा गरुँला ।”

मीतछोराको उपहार, आफ्नो हातको जापानी घडीलाई लालटीनतिर फर्काउँदै बडासाहेबले भने,

“सुतौँ छोरा !, नौ बज्न आँटिसकेछ । म आज ज्यादै थाकेको छु ।”

“हस् ! मीतबाबा !”

मालिकले नमस्कार गरेर बिदा माग्नुभयो र भुईँतलाकै अर्को कोठातिर लाग्नुभयो । म बैठकमै बसेर हुक्काको भुङ्ग्रो सज्दै कुरा सुन्दै गरिरहेको थिएँ । उहाँहरू सुत्न निस्केपछि हुक्काको कोइला र खरानी बोकेर मैले रछ्यानमा मिल्काएँ । सेवकहरू, नोकरहरू सुत्ने एउटा कोठरीमा पसेँ र होचो खाटको बिछ्यौनामा पल्टिएँ ।

प्रकाशित : भाद्र २६, २०७८ १४:१८
प्रतिक्रिया
पठाउनुहोस्

संशोधनसहित एमसीसी सम्झौता पारित गर्ने एमालेको नीति हो : योगेश भट्टराई

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा एमालेका सचिव तथा प्रचार विभागका प्रमुख योगेश भट्टराईले मिलेनियमन च्यालेन्ज कर्पोरेसनसँग भएको सम्झौता संशोधनसहित पारित गर्ने पार्टीको नीति भएको बताएका छन् । 

तुल्सीलाल स्मृति भएको स्थायी कमिटीको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै भट्टराईले संशोधनसहित एमसीसी पारित गर्ने नेकपाकै समयमा भएको निर्णयमा अहिले पनि एमाले निर्णयमै कायम रहेको बताए ।

'नेकपा हुँदा नै तीन सदस्यीय कार्यदल बनाएका थियौं । त्यो कार्यदलको सुझावमा एमसीसीको सम्झौतालाई संशोधन सहित अघि बढाउने भन्ने सुझाव थियो । त्यसको अर्थ एमसीसीलाई अस्वीकार गर्ने वा एमसीसी हुँदै हुँदैन भन्ने हाम्रो निष्कर्ष होइन' उनले भने 'एमसीसीको सम्झौतामा रहेका कतिपय प्रावधानहरुलाई पुनर्व्याख्या गरेर नेपालको राष्ट्रिय हित थप अनुकुल बनाउनु पर्ने छ । यो सबै विषयमा आवश्यक संशोधन गरेर एमसीसी अघि बढाउने भन्ने त्यस समयको निर्णय हो । अहिले पनि हाम्रो पार्टी त्यो निर्णयमा कायम छ ।'

एमसीसी अनुमोदनको विषयमा सरकारले लिने नीतिमा आधारमा अघि बढ्ने रहेको भट्टराईले भने । एमालेले बुधबार बिहान भएको संसदीय दलको बैठकमा समेत एमसीसीको विषयमा छलफल भएको उनले बताए ।

'एमसीसीको विषयमा हाम्रो संसदीय दलको बैठकमा व्यापक छलफल गरेका छौं । एमसीसीको उपाध्यक्षसँग हाम्रो पार्टी अध्यक्षले पनि भेटघाट गर्नुभयो । पहिलो कुरा सत्तारुढ दल र गठबन्धनले एमसीसीलाई यो अधिवेशनमा टेबुल गर्नुहुन्छ वा गर्नु हुँदैन ? पहिले हामी त्यो हेर्दै छौं' सञ्चारकर्मीहरुसँग उनले भने 'टेबुल गर्दा कस्तो अवस्थामा गर्नुहुन्छ । जस्ताको त्यस्तै गर्नुहुन्छ कि संशोधन गरेर गर्नुहुन्छ कि त्यो विषयमा अहिले क्लियर छैन । अहिले नै त्यस विषयमा बोल्नु हतार हुन्छ । त्यो निर्णयमा सरकारको पोजिसन के हुन्छ त्यो हामी हेर्दै छौं ।'

नेपाल भ्रमणमा रहेकी एमसीसीको उपाध्यक्ष फातिमा सुमारसँगको भेटमा पनि एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारको पोजिसन हेरिरहेको बताएका थिए ।

प्रकाशित : भाद्र २६, २०७८ १३:४९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×