‘साखुङ्बारा’ सार्वजनिक

काठमाडौँ — युद्ध साहित्यका स्रष्टा काङमाङ नरेश राईको सांस्कृतिक पुस्तक ‘साखुङ्बारा’ (रजश्वला) सार्वजनिक भएको छ । यस पुस्तकमा किरात राई जातिभित्रको २२ वटा भाषिक समुदायले मुन्दुम विधिअनुसार जन्मदेखि मृत्युपर्यन्तसम्मको संस्कारका विषय समेटिएका छन् ।

‘साखुङ्बारा’ सार्वजनिक

किरात राई यायोक्खा प्रारम्भिक कार्यसमिति लण्डनले प्रकाशन गरेको पुस्तक शनिबार बेलायतमा सार्वजनिक गरिएको हो ।

पुस्तकमा आठपहरिया, कुलुङ, कोयी/कोयू, खालिङ, चाम्लिङ, छिन्ताङ, छिलिङ, थुलुङ, दुङमाली, दुमी, देवास, नाछिरिङ, पुमा, बान्तावा, बाहिङ/बायुङ, बुङलावा, मेवाहाङ, याम्फु, लुङखिम, लोहोरुङ, वाम्बुले र साम्पाङ राई रहेका छन् । किरात जातिले आफूलाई पितृ र प्रकृति पूजक मान्दछन् । किरात राई जातिको सांस्कृतिक अनुष्ठान अलिखित मुन्दुम फलाकेर सम्पन्न गरिन्छ । साधारण बोलीचालीको भाषा र मुन्दुम फलाक्दा बोलिने भाषा अलग हुन्छ । मुन्दुमको सार एउटै भएपनि मुन्दुम जान्ने मानिसले फलाक्ने शब्द फरक हुन्छ ।

पुस्तकभित्र कतिपयमा राई जातिमा बच्चा गर्भमा बसेपछि कोख पूजा गर्ने गरेको उल्लेख छ । त्यसैगरी जन्मेपछि न्वारान, भातखुलाइ, छेवर, गुन्युचोली, विवाह र विवाहकार्यमा धरतीको सृष्टिदेखि मानव विकासको चर्चा गरिएको छ । मृत्युपछि गरिने मुन्दुम कर्महरूबारे उल्लेख गरिएको छ ।

बेलायती सेनबाट अवकासप्राप्त लेखक राईको यसअघि ‘युद्ध बोकेको सिताङ’ (उपन्यास), ‘खुकुरीको धारमा’ (कथा), ‘एघार नोभेम्बर’ कथा संग्रह, ‘पप्पी फूल’, ‘अनुहारमा लुकाइएका चोटहरू’ र आँसुको दोभान’ कवितासंग्रह प्रकाशित छन् ।

प्रकाशित : भाद्र २१, २०७८ १४:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?