कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

‘बेलायतमा नेपाली गीत’ संग्रह सार्वजनिक

गणेश राई

काठमाडौँ — तमु संस्कृतिविद् एवं गीतकार एकेन्द्र गुरुङको सम्पादनमा ‘बेलायतमा नेपाली गीत’ संग्रह सार्वजनिक भएको छ । नेपालमा जन्मे, हुर्केका र हाल बेलायतमा रहेका स्रष्टाका गीति रचनालाई यस संग्रहमा समेटिएका छन् । यसै साता बेलायतमा सम्पन्न ‘नेपाली मेला’ उक्त कृति सार्वजनिक गरिएको हो । 

‘बेलायतमा नेपाली गीत’ संग्रह सार्वजनिक

गुरुङ साहित्यिक मञ्‍च नेपालले प्रकाशन गरेको कृतिभित्र ८० जना स्रष्टाका दुई–दुई रचना समेटिएका छन् । रचनाकारमध्ये २१ जना नारी स्रष्टा रहेका छन् । प्रत्येक स्रष्टाको फोटोसहित संक्षिप्त परिचय रहेको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति जगमान गुरुङले स्रष्टाको परिचयमा उल्लेख कृति र संलग्न संघसंस्थाले विदेशमा रहेर नेपाली भाषा साहित्यको श्रीवृद्धिमा पुर्‍याएको योगदानको मूल्यांकन गर्ने आधार बनेको उल्लेख गरेका छन् । ‘यस गीत संग्रहमा नेपालको बाटोघाटो, भञ्‍ज्याङ, चौतारी र द्यौराली, लेक–बेंसी, महभीर, खर्क र खर्चरी, सिमेभूमे सबै प्राकृतिक स्रोत र संस्कृतिले बास गरेको छ,’ शुभकामना दिँदै उपकुलपति गुरुङले भनेका छन्, ‘सम्पूर्ण नेपालको प्रतिनिधित्व भएको छ । अतः कृतिमा नेपाल र नेपालीप्रति अपनत्वभाव झल्केको छ ।’

त्यसैगरी बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले यस गीति संग्रहले प्रवासमा रहेका स्रष्टाहरूको रचनाले समाजलाई दिशानिर्देश गर्ने उल्लेख गरेका छन् । सन् १८१६ मा सुगौली सन्धि भएपछि नेपाल र बेलायतबीच कूटनीतिक सम्बन्ध स्थापना भएको हो । बेलायतमा सन् १८३० मा पहिलो पटक नेपालीको पाइला परेको थियो भने १८५० मा तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले औपचारिक भ्रमण गरेका थिए । बेलायत सरकारले भूतपूर्व गोर्खा सैनिक र तिनका परिवारलाई आवासीय सुविधा दिएसँगै सन् २००० बाट त्यहाँ स्थायी बसोबास गर्ने नेपालीको संख्या बढेको सम्पादक गुरुङले उल्लेख गरेका छन् ।

‘मानिसहरू जहाँ जान्छन् आफ्नो संस्कार र संस्कृति पनि सँगै लैजान्छन्,’ लमजुङको पसगाउँमा जन्मे हुर्केका सम्पादक गुरुङले भनेका छन्, ‘बेलायतमा बसोबास गर्ने नेपालीहरूले नेपालीपन पनि सँगै ल्याएका छन् । वीरता, बहादुरी, इमानदारी, सरलता, मिलनसार नै नेपालीको पहिचान हो ।’

साहित्यमा गीत सशक्त विधा भएकोले बेलायत तथा नेपाली डायस्पोराको प्रतिनिधित्व हुने गरी स्रष्टालाई एकमुष्ट चिनारी दिन कृति प्रकाशन गरिएको जनाइएको छ ।

प्रकाशित : भाद्र १७, २०७८ १८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?