पुस्तक समीक्षा

बाराकको स्वप्निल संसार

ओबामाले किताबमा राजनीतिलाई मूल विषय बनाएका छन् । तर, एकान्तमा उनले फेर्ने जीवनका सुस्केरा किताबमा सुनिन्छन् । मञ्चमा उभिएर ओबामाले अगाडि सार्ने सम्भावना र आशाको सञ्चार हरेक पृष्ठमा छ । उनका कठिन दिनका निराशा पनि किताबमा तैरिएका छन् ।
भोजराज पौडेल

सन् २०१९ को ग्रीष्म ऋतुको एक साँझ म केन्याको राजधानी नैरोवीस्थित जोमो केन्यात्ता अन्तर्राष्ट्रिय विमानस्थलमा जहाजबाट उत्रें । अफ्रिकी महादेशको भूमिमा पहिलो पटक टेक्दै थिएँ । मस्तिष्कमा बाराक ओबामाको तस्बिर आयो । केन्या त्यही देश हो, जहाँबाट ओबामाका पिता उच्च शिक्षाका लागि अमेरिका पुगेका थिए । पिताको मृत्युको खबर सुनेको दिन ओबामा होटलको बारमा काम गर्ने एक काला जातिका कामदारसँग चुरोट मागेर सल्काउँछन् । एक सर्को चुरोटको धूवाँले दु:ख उडाउँदैन, बरु उदासी थपिदिन्छ ।

बाराकको स्वप्निल संसार

उदास र गम्भीर मुद्रामै ओबामा जवानी उडाइदिन्छन् । जिन्दगी घुम्तीमा आइपुग्छ । ओबामा बाटो मोड्दैनन्, बरु गन्तव्यतर्फको बाटो–विस्तारमा लाग्छन् । एक दिन अमेरिकी राष्ट्रपति बन्छन् । उनैको संस्मरणात्मक पुस्तक ‘अ प्रमिस्ड ल्यान्ड’ पढिसिध्याउन लामै समय लाग्यो ।

राष्ट्रपति पदमा छँदाको समयमाथि घोत्लिँदै सत्ता–शक्ति र त्यसका सीमिततामाथि ओबामाले पाठकसामु राखेको भिन्न प्रकृतिको संस्मरणात्क किताब औपन्यासिक छ । ७ सय पृष्ठ लामो पहिलो भाग सक्दा भाग दुईको पर्खाइ जागिरहन्छ । सायद त्यसैले लेखक चिमामान्डा अदिचीले ‘न्युयोर्क टाइम्स’मा पहिलो वाक्य नै ओबामाको लेखनशैलीको तारिफमा खर्चिएकी छन् ।

सन् २००० अगस्टमा क्यालिफर्नियामा आयोजित ‘डेमोक्र्याटिक नेसनल कन्भेन्सन’ को प्रवेशद्वारबाटै फर्काइएका ओबामाले २००४ मा बस्टनमा सम्पन्न सभामा प्रमुख वक्ताका रूपमा उपस्थित भएर राष्ट्रिय, अन्तर्राष्ट्रिय छवि बनाए । चार वर्षपश्चात् अर्थात् सन् २००८ मा उनी स्वयं अमेरिकाको राष्ट्रपति पदको दाबेदारका रूपमा चुनावमा होमिए । लगातार दुई पटकसम्म राष्ट्रपति पदको जिम्मेवारी सम्हालेपश्चात् सन् २०१६ मा अन्तिम पटक एअरफोर्स वनमा सवार हुँदा पहेंलो प्याडमा कलमले कोरे संस्मरणको खाका ।

सन् २०२० को सुरुआततिर आइपुग्दा पुस्तकको पाण्डुलिपि नै तयार पारेर प्रकाशकको जिम्मा लगाइसकेका ओबामाले जम्माजम्मी सोह्र वर्षमा आफ्नो जीवनको कायापलट त गरे नै, काला जातिको समुदायबाट सर्वशक्तिमान मुलुक अमेरिकाको राष्ट्रपति पदमा पुगेर विश्व इतिहासलाई नै नयाँ पथतर्फ डोर्‍याए । एक व्यक्तिले जम्मा सोह्र वर्षमा जति गरे पनि त्यसको प्रतिफल निर्धारण हुनुमा विभिन्न संयोगले भूमिका खेलिरहेका हुन्छन् । तिनै सोह्र वर्षमा ओबामाले भोगेको समयको चित्र हो यो किताब ।

संस्मरणमा ७ अध्याय छन् । संस्मरणको पहिलो अध्यायमा ओबामाले स्वयंमाथिको विश्वास र दृढसंकल्पले सम्भव बनेका सपना लेखेका छन् । दोस्रोमा छ— संसार सम्भव छ भन्ने सन्देश । तेस्रोमा छ— पदमा पुगेपछि कसरी सिद्धान्तसँग सम्झौता गरेर व्यावहारिक हुनुपर्दोरहेछ भन्ने अनुभव । चौथोमा छ— सबै व्यवधानका बाबजुद पनि जिन्दगीमा लड्नैपर्ने लडाइँहरूको फेहरिस्त । पाँचौंमा छ— संसारको रीत र विश्वराजनीतिका यथार्थहरू । छैटौंमा छ— पदमा रहँदाका गम्भीर असुविधाका क्षण । र, अन्तिममा छ— ‘रिज्योलुट डेस्क’ मा बसेर बोक्नुपर्ने दुनियाँका जिम्मेवारी । अमेरिकी राष्ट्रपति कार्यालयको ५९० किलोग्राम काठले बनेको त्यो डेस्क सन् १८८० मा महारानी भिक्टोरियाले उन्नाइसौं अमेरिकी राष्ट्रपति रथरफोर्ड हाएसलाई उपहार दिएकी थिइन्, जुन अहिले पनि छ ।

‘द अडासिटी अफ होप’ र ‘ड्रिम्स फ्रम माई फादर’ लगायत दुई पुस्तकका लेखक ओबामाको लेखनको मिठास र कथाको सुगन्धले ७ सय पृष्ठ लामो पुस्तक पढ्दा दियोको उज्यालोमा बसेझैं लाग्छ, संसार सुन्दर लाग्छ । ओबामाका दुवै किताब पढिसकेका पाठकका लागिसमेत बाल्यकाल तथा युवावस्थाका केही नयाँ कुरा यो संस्मरणमा खोतलिएका छन् । कथाका पत्रहरू थप खोलिएका छन् । ओबामाले केही अन्तरंग यो संस्मरणमा खोतलेका छन्, जुन अघिल्ला किताबमा छैनन् ।

संसारको सबैभन्दा शक्तिशाली मुलुकको राष्ट्रपति पदमा रहँदासमेत मान्छेलाई केको चेतले शालीन भइरहन सघाउँछ ? आठ वर्ष निरन्तर ‘वेस्ट कोलोनेड’ (निवास र कार्यालय जोड्ने प्यासेज) वारपार गर्दा आउने सोचाइ र भावनासमेत ओबामाले लेखेका छन् । ह्वाइटहाउसमा उनको सबैभन्दा प्रिय स्थान नै यही भएको बताउँदै उनी लेख्छन्, ‘मिनेट लामो खुला हावाको हिँडाइमा पूरा हुने पैदलपथले मेरो दिनचर्याको झलक दिन्थ्यो ।’ पूरै एक मिनेटमा उनी खुसी र उदास दुवै हुन्थे ।

समयरेखा केवल अगाडि मात्र हुत्तिन्छ । रातको सुनसानमा धेरै पटक समयलाई रोकेर आफंैसँग कुराकानी गर्ने जमर्को गर्छन् ओबामा । कागजातले भरिएको ब्रिफकेस लिएर साँझ घर फर्केपछि आफू कहिले सुस्ताउन त कहिले रोकिन प्रयत्न गर्ने खुलाएका छन् । पदमा रहँदाभन्दा त्यहाँ पुग्नुअघिका उनका आरोह–अवरोह नै बढी लोभलाग्दा छन् । संघर्षको कथा किन पनि मीठो लागेको होला भने सबै दु:ख सफलताको स्वादमा मिसिएको छ ।

सन् २००९ डिसेम्बरमा ओस्लोको एक होटल कोठामा शान्तिका लागि नोबेल पुरस्कार थाप्ने समारोहका लागि ‘टक्सिडो’ पहिरिँदै थिए ओबामा । निजी सहयोगीले ढोका ढक्ढकाउँदै झ्यालबाट बाहिर हेर्न सुझाए । झ्यालका पर्दा सारेर बाहिर चियाउँदा हजारौं मानिस हात–हातमा प्रज्वलित दीप लिएर निकै शान्त रूपमा साँघुरो बाटोबाट अगाडि बढिरहेका थिए । लेख्छन्, ‘तल मानिसहरूको भीडले एउटा भ्रममा खुसियाली मनाइरहेको थियो कि म अथवा अन्य कोही एक व्यक्तिले यो संसारमा आदर्श सुशासन ल्याइदेला ।’

नोमिनेसनदेखि चुनावी प्रचारप्रसारको प्रक्रिया हुँदै राष्ट्रपति पदको शपथ लिँदासम्मका घटना प्रस्तुत गर्ने क्रममा ओबामा जीवन, दर्शन र साहित्यका सम्पूर्ण अवयव जोड्छन् । हरेक घटनाका पछाडि अनेकन व्याख्या पस्कन्छन् । लयात्मक रूपमा प्रस्तुत गरिएका कथाले पाठकलाई खिचेर राख्छ भने विश्व राजनीतिको केन्द्रलाई दैनिक रूपमा अवलोकन गर्ने एउटा आँखीझ्याल ओबामा प्रदान गर्छन् ।

‘सबैको भलाइका लागि’ भन्ने काल्पनिकीलाई यथार्थका रूपमा अंगीकार गर्न र त्यसलाई अगाडि सार्न हामी ईश्वरका नाममा शपथ लिन्छौं । अन्त्यहीन यात्रामा कहिंकतै छिद्र हुन सक्छन् र तिनलाई हामी सही तरिकाले टाल्ने प्रयत्न गर्छौं ताकि डुंगा नडुबोस् । त्यस्ता घुम्तीहरूमा हामी भावुक हुन्छौं । ती भावनामा हाम्रा निजी स्वार्थ हुन्छन् । यद्यपि हरेक कर्मको बृहत्तर फल धेरैभन्दा धेरै मानिसलाई उपलब्ध होस् भन्ने हामीले सोच्नुपर्छ,’ शपथ लिएको रात ओबामा अबेरसम्म बस्छन् र सोचमग्न हुन्छन् । ह्वाइटहाउसका आफ्ना पूर्वजबारे सोच्छन्, ‘उनीहरूका दैनिकी कस्ता हुन्थे वा सामान्य जीवनयापन क्रममा उनीहरूलाई राष्ट्रपतिको पदले कुनै असर पार्‍यो कि पारेन होला † यी प्रश्नको जवाफ मसँग छिट्टै हुनेछ ।’

संस्मरणमा उनको दैनिक जीवनका उहापोहदेखि अन्तर्राष्ट्रिय राजनीतिका आयाम यत्रतत्र छन् । उनकी धर्मपत्नी मिसेलसँगको प्रेमसँगै वैवाहिक सम्बन्धका सामान्य–असामान्य घर्षणबाट पैदा हुने संगीतको लयलगायत छोरीहरूसँग उनले बिताउने समयको गुणात्मकता पुस्तकमा छ । यी सबै पक्षले किताबलाई बढी लयात्मक बनाएको छ । ओबामाको अब्बल पक्ष नै जीवनका टुक्रे संयोगको कथा बुन्न र सुनाएर मन्त्रमुग्ध पार्न सक्नु हो ।

अमेरिकी राष्ट्रपति पदका पनि सीमितता छन् । उनले चाहँदैमा राम्रा काम गर्न नपाएका अनेक अनुभव होलान् । एक रात खाना खाने बेला ठूली छोरीले बाघ जोगाउन ओबामाको योजना के हो भनेर सोध्छिन् । बाघ मालियाको सबैभन्दा मनपर्ने वन्यजन्तु भएको बताउँदै पितालाई बाघ सुरक्षाबारे प्रश्न गर्दा ओबामा नाजवाफ बस्छन् । त्यस घटनालाई ओबामाले विम्बात्मक रूपमा पदको सीमितता र असमर्थताको रूपमा प्रस्तुत गरेका छन् । सायद त्यो हदसम्मको विनीत भावले नै हो, ओबामा सबैलाई सहज लाग्ने † हामीले राजनेता खोजी गरेका छौं । तर, यथार्थमा हामीले एउटा सुल्झेको सरल मानव खोजेका हौं, जो भावनात्मक रूपमा पहुँचयोग्य होस् । उसका भावना र हाम्रा संवेदनाको मेल कतै भेटियोस् । आम मान्छेमा हुने कमी–कमजोरीलाई जोडेर सामूहिक सद्भावको जालो बुनोस्, न कि ती कमजोरीमाथि राजनीति गरोस् । ओबामा त्यो माली भए ।

रोजगारी सृजना तथा अन्तर्राष्ट्रिय वित्त संकटले जनजीवनमा पारेका असरलाई कम गर्न ओबामाले गरेका प्रयास र तिनका अन्तर्निहित कथासमेत संस्मरणमा छन् । ओबामाले कल्पना गरेको एक आम अमेरिकीको स्वास्थ्य सुरक्षा प्रत्याभूति, जसलाई उनले ‘ओबामाकेयर’ को नामले अगाडि सारे । यो प्रयाससँग जोडिएको उनको भावनात्मक लडाइँ र आफूले सिञ्चित गरेका सपनालाई पूर्ण रूप दिन ओबामाले गरेको मिहिनेतको मिठास छ पुस्तकमा । यति धेरै सानातिना काम र प्रयासको विस्तृतीकरण भए पनि बडप्पनको गुञ्जायस कतै भेटिँदैन ।

उनी लेख्छन्, ‘एक मिनेटका लागि किताब पर सारेर झ्याल खोली कोठामा ताजा हावा बहन देऊ । बीस वर्षको युवावस्थामा जिन्दगीले दिने अनन्त सम्भावना र खुसीहरूसँग रमाऊ ।’ ओबामाको एउटा विशेषता, जो उनी स्वयं स्विकार्छन्— हर कुरालाई अत्यन्तै गम्भीर रूपमा लिनु । तर, विरोधाभास आफ्ना पिताको निधनको खबर पाएर पनि जिन्दगीको नियमित काममा तल्लीन रहन्छन् ओबामा, चुरोट सल्काउँछन् र पर चौरतिर लम्किन्छन् ।

राजनीतिलाई दार्शनिकीकरण गर्छन् । लेख्छन्, ‘अनेकन झमेलाबाट गुज्रनु राजनीतिको प्रकृति नै हो वा भनौं राष्ट्रपति पदको । साना त्रुटि, परिस्थितिजन्य कारण, अलोकप्रिय निर्णय, जनतालाई राम्रोसँग विषयवस्तु बुझाउन नसक्दा अखबारका पानामा राजनीतिज्ञ छाउँछन् । नागरिक क्रुद्ध हुन्छन् । पीँधको खोजी नै अन्तिम उपाय हो ।’ यहाँ पीँध भनेका नागरिक हुन्, जसले मात्र नेतालाई उभ्याउन सक्छन् ।

ओबामाले आफू स्टेट सिनेटर बन्दाको संयोगलाई नै दुर्लभ आकस्मिकताका रूपमा प्रस्तुत गरेका छन् ।

राष्ट्रपति दाबेदारका रूपमा उठ्छु भन्दा मिसेल कडा प्रश्न गर्छिन् । ओबामाले अमेरिकी जनताभन्दा पहिले आफ्नी श्रीमतीका लागि चित्तबुझ्दो जवाफ तयार गर्नुपर्ने हुन्छ । यसले उनलाई कालान्तरमा सहयोग गर्छ । उनी थप प्रस्ट हुन्छन्, किन उनी नै राष्ट्रपति हुनुपर्‍यो † दैनिक जीवनयापन र खर्च जोहो गर्न अर्को एउटा किताब लेख्छु भन्दा मिसेल हाँस्छिन् । ‘तिमी जादुको छडीजस्तो कुरा नगर,’ मिसेलले भन्छिन् । तर, अन्तत: ओबामाले किताब लेखेनन् मात्रै त्यो सर्वाधिक सफल पनि भयो । ओबामा यी सबै घटनातिर फर्केर हेर्छन् र मुस्कुराउँछन् । श्रीमतीलाई भन्छन्, ‘जादुको छडी चल्यो त, प्रिय ।’ जीवन सहज कहाँ थियो र, तर ओबामाले अगाडि मात्रै हेरिरहे । संस्मरण लेखनका लागि पछाडि फर्केर धेरै गम खानुपर्ने हुन्छ । ओबामाले त्यो पनि मस्तसँग गरेका छन् । जीवनका केस्रा केलाएर शब्दमा उनेका छन् ।

किताबमा धेरै यस्ता प्रसंग छन्, जो राजनीतिमा खासै चासो नराख्नेलाई बेस्वादिला लाग्न सक्छन् । अमेरिकाका लागि महत्त्वपूर्ण हुने, तर बाँकी दुनियाँलाई खासै मतलब नहुने खाडी मुलुकको राजनीतिका सन्दर्भ छन् । अमेरिकाका रणनीतिक साझेदारसँगका सम्बन्ध, चीन, रसियालगायतका शक्ति राष्ट्रसँगका उठबसका घटना ओबामाले सुन्दर ढंगले वर्णन गरेका छन् । ती प्रसंगबाट केवल घटनाको जानकारी मात्र होइन, एउटा विवेचना र पृष्ठभूमिसमेत पाठकलाई उपलब्ध हुन्छ । अफ्रिकी मुलुकहरूको भ्रमणमा निस्कँदाका घटना र उनले महसुस गरेका भावनाले उनका पिताको जीवनसँग जोडिएका अन्तरंगसमेत खुल्छन् । यी भावनाका रङले ओबामाको संस्मरणलाई थप मीठो बनाएका छन् ।

सारा गुणका बाबजुद केही विषयमा भने ओबामालाई प्रश्न पनि उठ्नेछन् । आम पाठकलाई सुन्दर अमेरिका र आशावादी भविष्य मात्र देखाइरहन्छन् । बदलिँदो विश्वराजनीति, उदाउँदा अन्य शक्तिराष्ट्रहरू र तिनको नेतृत्वबारे उदार छैनन् । उनले जीवनमा हासिल गरेको उपलब्धि र महसुस गरेको खुसी अपवाद पो हो कि भनेर उनले अमेरिकी पद्धतिलाई आलोचनात्मक रूपमा हेर्न सकेका छैनन् ।

ओबामा एक असल मानिस, नेता र चिन्तक हुन् । यी सबैभन्दा बढी उनी सायद लेखक हुन् । हातले लेख्ने बानीलाई सुरुमै उल्लेख गरेर ओबामाले चिन्तनको शृंखला लामो हुने र जीवनको प्रक्रिया हात लाग्ने परिणामभन्दा बढी महत्त्वपूर्ण हुने संकेत गरेका छन् ।

छोरीहरूलाई सुत्न पठाएपछि सुनसान रातमा काम गर्न रुचाउने ओबामाले राजनीतिलाई मूल विषयको रूपमा संस्मरणमा उतारेका छन् । तर, एकान्तमा उनले फेर्ने जीवनका सुस्केरा किताबमा सुनिन्छन् । मञ्चमा उभिएर ओबामाले अगाडि सार्ने सम्भावना र आशाको सञ्चार हरेक पानामा छ । सँगै ओबामाका कठिन दिनका निराशा पनि किताबमा तैरिएका छन् । सुन्दर भविष्यको परिकल्पना गर्दै ओबामा किताबको सुरुआतमै नथाक्न सुझाउँछन् ।

प्रकाशित : श्रावण १९, २०७८ १३:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?