कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

‘प्राचीन लिपि वर्णमाला’ पुस्तक प्रकाशित

कान्तिपुर संवाददाता

काठमाडौँ — लिपिविद् रविशन शाक्यले ‘प्राचीन लिपि वर्णमाला’ पुस्तक प्रकाशनमा ल्याएका छन् । त्रिभुवन विश्वविद्यालय नेपाली इतिहास संस्कृति तथा पुरातत्व केन्द्रीय विभाग प्रमुख प्राध्यापक मदनकुमार रिमालले यो पुस्तकले नेपालको मध्यकालमा प्रचलनमा रहेका लिपिहरू अध्ययन गर्न, बुझ्न र पढ्न सक्ने बताएका छन् । थ्याका रिसर्च सेन्टरले पुस्तक प्रकाशन गरेको हो ।

‘प्राचीन लिपि वर्णमाला’ पुस्तक प्रकाशित

पुस्तकमा ब्राम्ही, पूर्व लिच्छवि, सिद्धं र उत्तर लिच्छविकालका अभिलेखहरूमा प्रयोग भएका चार प्रकारका लिपिका अक्षरहरू समेटिएका छन् । ती लिपिका स्वर वर्णहरू, व्यञ्जन वर्णहरू, मात्रा तथा संयुक्ताक्षरहरूको परिचय दिइएको छ । ‘अभिलेखहरूमा लिखित विवरण पाइए तापनि यस्ता अभिलेखीय सामग्रीहरूमा प्रयोग भएको भाषा र लिपि आम सर्वसाधारणका लागि सहज र बोधगम्य हुँदैन,’ एक–दुई शताब्दी पुराना अक्षरहरू आम मानिसले बुझ्न नसक्ने उल्लेख गर्दै प्राध्यापक रिमालले पुस्तकबारे भने, ‘इतिहास र पुरानो संस्कृतिको अध्ययनका लागि अभिलेखका अक्षरहरू पढ्ने र बुझ्ने कार्य आज पनि उत्तिकै महत्वपूर्ण कार्य मानिन्छ । सर्वसाधारणले बुझ्न र पढ्न यो पुस्तकले सहयोग पुग्नेछ ।’

राष्ट्रिय अभिलेखालयकी निमित्त महानिर्देशक सौभाग्य प्रधानाङ्गले यस पुस्तक ऐतिहासिक महत्वको भएको उल्लेख गरेकी छन् । ‘प्राचीन अभिलेख तथा इतिहासहरूको अध्ययन अनुसन्धान कार्यमा यो पुस्तक सहयोगी हुने विश्वास लिएको छु,’ उनले भनिन् ।

लिपिको उद्गम मानिने ब्राम्ही लिपि लगायत अरु तीन लिपिका स्वर वर्ण, व्यञ्जन वर्ण र अक्षरहरूको लेख्ने प्रक्रिया दिइएको छ । त्यसैगरी स्वर संयुक्त व्यञ्जन वर्ण, न, म, य, र ल, व को संयुक्त व्यञ्जन वर्ण, पञ्चम वर्ग व्यञ्जन वर्ण, दित्व व्यञ्जन वर्ण, मिश्र वर्ण र अंक समेत समावेश गरिएको छ । त्यसलाई उच्चारण गर्न देवनागरी र रोमन लिपिमा अनुवाद गरिएका छन् ।

पुस्तकमा चाँगुनारायणस्थित मानदेवको शिलालेख, लिच्छवि लिपि अंकित मुद्रा, कुटिला लिपि गाथाभिलेख भएका माटाका छापहरू, ताडपत्र, थ्यासफुलगायत अभिलेख समेटिएका छन् ।

प्रकाशित : श्रावण १४, २०७८ १८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?