सिनासको जर्नल ३५ वर्षपछि पुन: प्रकाशन

नेपाली भाषाको ‘नेपाल अध्ययन जर्नल’ पनि सार्वजनिक

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयअन्तर्गत नेपाल र एसियाली अनुसन्धान केन्द्र (सिनास) ले ३५ वर्षपछि ‘नेपाल जर्नल अफ स्ट्राट्रेजिक स्टडिज’ जर्नल पुन: प्रकाशन सुरु गरेको छ । अंग्रेजी भाषामा रहेको जर्नलमा नेपाल र चीनको कूटनीतिक सम्बन्धलाई लिएर बृहत् विषय समेटिएका छन् ।

सिनासको जर्नल ३५ वर्षपछि पुन: प्रकाशन

नेपाल–चीनविज्ञ प्राध्यापकका अनुसन्धानात्मक आलेख, चीनका तीन प्राध्यापकको अनुसन्धान जर्नलमा प्रकाशित छन् । त्यसैगरी गणतान्त्रिक नेपालका राष्ट्रपतिको चीन भ्रमण अवलोकन, चीन नीतिबारे अन्तर्वार्ता र चीनका राष्ट्रपति सी चिङपिङको नेपाल भ्रमण र कूटनीतिक सम्बन्धका बारे सामग्री समेटिएको सिनासका कार्यकारी निर्देशक मृगेन्द्रबहादुर कार्कीले बताए । ‘सिनास अब नयाँ आयाम लिएर अघि बढेको छ,’ उनले भने, ‘सिनासका तत्कालीन कार्यकारी निर्देशक कुमार खड्गविक्रम शाहले निर्माण गरेको दृष्टिकोणलाई ब्युँताउने प्रयास गरेका छौं ।’

त्यसैगरी, सिनासले पहिलो पटक नेपाली भाषामा ‘नेपाल अध्ययन जर्नल’ पनि प्रकाशन आरम्भ गरेको छ । जर्नलमा गोविन्द टण्डनको ‘भगवान् पशुपतिनाथ, पशुपतिनाथ मन्दिर र पशुपति दर्शन’, ऋषिराम रेग्मीको ‘वेदमा रुद्रका स्वरूप’, लक्ष्मणप्रसाद गौतमको ‘बौद्धिक षड्दर्शनका प्रमुख मान्यता’, माधवप्रसाद पाण्डेयको ‘सृष्टिचक्रमा ज्योतिषशास्त्र र नेपालमा त्यसको प्रभाव’ तथा नारायणप्रसाद गड्तौलाको ‘पूर्वीय मिथकको परम्परा’ शीर्षक आलेख समेटिएका छन् । सिनासको ५०औं वार्षिकोत्सवका अवसरमा शुक्रबार आयोजित समारोहमा जर्नल सार्वजनिक गरिएको हो ।

सिनासले नयाँ र पुन: मुद्रणका गरी एक दर्जन अनुसन्धानात्मक पुस्तक प्रकाशनमा ल्याएको छ । प्राध्यापक देवराज दाहालको ‘स्मल स्टेट’, प्राध्यापक त्रिरत्न मानन्धरको ‘नेपाल–भोट विवाद’ लगायत नयाँ कृति रहेका छन् । पुन: प्रकाशनमा धनवज्र बज्राचार्यको ‘लिच्छविकालका अभिलेख’ लगायत छन् । कीर्तिपुरस्थित सिनास हातामा स्थापना गरिएको शिवलिंग र बुद्धको मूर्ति उद्घाटन गरिएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीका राजनीतिक सल्लाहकार लालबाबु यादवले नेपालको संस्कृति, सभ्यता पश्चिमाभन्दा राम्रो रहेको तर पश्चिमाको नक्कल गर्ने प्रवृत्ति बढ्नु दु:खद् भएको बताए । ‘त्रिविका चार अनुसन्धान केन्द्रले गरेका ऐतिहासिक, वैज्ञानिक अध्ययन, अनुसन्धानलाई सरकारको नीतिगत निकायले कार्यान्वयन गर्ने परिस्थिति बन्न जरुरी छ,’ उनले भने, ‘नेपालको संस्कृति, सभ्यतालाई प्रवर्द्धन गर्न पश्चिमाको नक्कल गर्ने प्रवृत्तिलाई निस्तेज पार्न यी अध्ययन अनुसन्धानबाट प्राप्त तथ्यलाई कार्यान्वयन गर्न जरुरी छ ।’

प्रकाशित : श्रावण १, २०७८ १९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?