१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

ललितकलामा खुसीका रङ

काठमाडौँ — प्रकृतिका विभिन्न चीजबिजलाई क्यानभासमार्फत आफ्नै रङ र रेखामा ढालेर जीवनलाई उत्सवमय बनाउँछिन् चित्रकार शिवांगिनी राणा । क्यानभासमा प्रकृति, जीवनका आशा र सकारात्मक ऊर्जा बोकेर यतिबेला नेपालगन्जदेखि उनी काठमाडौं आइपुगेकी छन् । 

ललितकलामा खुसीका रङ

बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा शुक्रबारदेखि उनको एकल प्रदर्शनी ‘बोल्ड एन्ड ब्युटिफुल’ भइरहेको छ । प्रदर्शनीमा शिवांगिनीका साढे दुई दर्जनभन्दा बढी चित्रकला अवलोकन गर्न सकिन्छ । स्प्रे र एक्रेलिक माध्यममा अमूर्त शैली आधार बनाएर सिर्जना गरिएका उनका कलामा फूल होस् या चरा र तिनका प्वाँख, पुतलीका अनेकौं रूपरङमा पोतिएका रङहरूले प्रकृतिप्रतिको अनुराग झल्कन्छ । ‘मेरो पेन्टिङमा दुःख, निराशाभन्दा पनि खुसीका रङहरू छन्,’ उनले भनिन्, ‘आफूवरपरको वातावरण र त्यसका अनुभवहरूलाई म क्यानभासमा उतार्ने गर्छु ।’ प्रकृति र यसका आफ्नै चक्रलाई विशेष रङमा उतार्नु उनको खुबी हो । उज्याला रङहरूमा क्यानभासमा उतारिएका अमूर्त आकृतिहरूका अर्थ कलापारखीहरूलाई स्वयं बुझाउन दिनु उनको अर्को विशेषता मान्न सकिन्छ । अमूर्त कला आफैंमा कुनै निश्चित रूपरेखा हुँदैन । जहाँ कलाकारको स्वतन्त्र फर्म र रङको संयोजन हुन्छ । अवलोकन गर्नेलाई उनले आफू अनुकूलका भाव प्रस्ट्याउने स्वतन्त्रता दिएकी छन् ।

पेसाले शिवांगिनी होटल व्यवसायमा संलग्न युवा उद्यमी हुन् भने कला सिर्जना सोख हो । उनी नेपालगन्जस्थित होटल वाटिकाको प्रबन्धनिर्देशकसमेत हुन् । कलाप्रतिको उनको अनुरागले गर्दा नै उनले आफ्नै होटलमा ‘वाटिका आर्ट ग्यालरी’ नाम दिएर औपचारिक रूपमा नै ग्यालरी सञ्चालनमा ल्याएकी छन् । होटल व्यवसायसँगै कला प्रवर्द्धन गर्नु उनको अर्को उद्देश्य हो । कलालाई स्थानीय समुदाय र त्यहाँका कलाकारहरूलाई सिर्जनामा प्रोत्साहन दिन ग्यालरी सञ्चालन गरिएको शिवांगिनीले बताइन् ।

प्रकृति र रङसँगको गहन स्वाध्ययन उनको अमूर्त कलामा प्रस्ट देख्न सकिन्छ । कलाप्रति आमा प्रतिमा राणाको लगावले उनी पनि बाल्यकालदेखि नै सिर्जना कर्ममा तानिएकी थिइन् । प्रकृतिका अनेकौं वस्तुहरूका रङहरूलाई नियाल्दै उनले क्यानभासमा ती सबैलाई उतार्न र अर्थ्याउन सिकिन । यतिबेला ग्यालरीमा प्रदर्शित ‘डान्स अफ बर्थ’, ‘पिकक’, ‘वान्टर रोज’, ‘गार्डेन अफ इभ’, ‘बटरफ्लाई अब्स्ट्रयाक्याक्ट’ लगायत शीर्षकका उनका कलाकृतिहरूले उत्साहका रङहरू छरिरहेको भान हुन्छ । जुन चित्रहरूलाई शिवांगिनीले झन्डै दुई वर्षको अवधिमा महामारीकै समयमा सिर्जना गरेकी हुन् ।

प्रकाशित : असार २७, २०७८ ०८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?