१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

रंगकर्मी मिश्रसहित दुई स्रष्टा पुरष्कृत

श्यामसुन्दर शशि

जनकपुर — वरिष्ठ रंगकर्मी तथा मिथिला नाट्यकला परिषद्का पूर्वअध्यक्ष सुनिल मिश्र तथा परम्परागत संगीत विधाका वरिष्ठ स्रष्टा वंशीबाबा भनिने वंशीधर मण्डल नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानद्वारा पुरस्कृत भएका छन् ।

रंगकर्मी मिश्रसहित दुई स्रष्टा पुरष्कृत

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत तथा भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवलगायतले उनीहरुलाई १/१ लाख नगद, प्रशस्त्री पत्र र दोसल्ला लगाइ पुरस्कृत गरेका हुन् ।

प्रतिष्ठानद्वारा नाट्य तथा प्रदर्शनकारी विधामा योगदान दिने ६ स्रष्टालाई प्रत्येक वर्ष पुरस्कार प्रदान गर्दै आएको छ । रंगकर्मी मिश्रलाई नाट्य विधातर्फ तथा मण्डललाई संगीत विधातर्फ पुरस्कृत गरिएको हो ।

प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा परम्परागत तथा शास्त्रीय संगीत विभागका प्रमुख धीरेन्द्र प्रेमर्षिको अध्यक्षतामा सम्पन्न पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले प्रदेश सरकार यसै वर्ष प्रदेश कला साहित्य प्रतिष्ठान गठन गर्ने जानकारी दिए । प्रदेश सरकारको नीति कार्यक्रम तथा बजेटमासमेत समाहित भइसकेको प्रतिष्ठान गठन सम्बन्धी गृहकार्य सुरु भइसकेको तथा केही महिनाभित्रै ठोस रुप लिने उनले बताए ।

प्रदेश २ भित्रका मैथिली, भोजपुरीलगायतका भाषा, साहित्य, कला, संस्कृति अत्यन्तै प्राचीन तथा मौलिक रहेको उल्लेख गर्दै उनले यसलाई संरक्षण सम्वद्र्धन गर्न प्रतिष्ठान गठन लागिएको बताए ।

भौतिक पूर्वाधारमन्त्री रामसरोज यादवले पूर्वमा कोसीदेखि पश्चिममा गण्डकीसम्म फैलिएको प्रदेश २ को झण्डै ५० प्रतिशत नागरिक मैथिली भाषी भएको तथा यस प्रदेशमा मैथिली र भोजपुरी संस्कृति मान्नेहरुको संख्या अत्यधिक भएकोले प्रदेशको नाम मिथिला भोजपुरा राखिनुपर्ने बताए ।

प्राज्ञ परिषद् सदस्य धीरेन्द्र प्रेमर्षिको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई नीति तथा योजना आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झा, प्राध्यापक परमेश्वर कापडी, मिनाप अध्यक्ष प्रमेख झा, नित्यानन्द मण्डललगायतले पनि सम्बोधन गरेका थिए ।

प्रकाशित : असार २०, २०७८ १९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?