कल्प-ग्रन्थ : किताब-कीर्तन

‘लिमिटेड एडिसन’ को लोगोमा पहिलोपल्ट छापिएको यो किताब तिनै ‘लिमिटेड पाठक’ को हातमा हुनेछ, जसले ‘लिमिटेड समय’ मा नगरकोटीलाई ‘अन–लिमिटेड’ माया र सम्मान गरे !
नगरकोटीको कालो कोटको खल्तीका ५ रङका पाइलट पेनका अक्षरहरूले समयको, सत्यताको, कल्पनाको, इच्छाको र इमानको क्यानभास बनाइरहेका थिए । 
भूपेन्द्र खड्का

कोही छोरो होस्, जसले आफ्नी आमाको कथा लेख्न सकोस् । कोही छोरो होस्, जसले आफ्ना बाबाको कथा लेख्न सकोस् । कोही प्रेमी होस्, जसले आफ्नी प्रेमिकाको कथा लेख्न सकोस् । कोही पति होस्, जसले आफ्नी पत्नीको कथा लेख्न सकोस् ।

कल्प-ग्रन्थ : किताब-कीर्तन

कोही पिता होस्, जसले आफ्नो पुत्रको कथा लेख्न सकोस् । कोही मित्र होस्, जसले आफ्नो मित्रताको कथा लेख्न सकोस् । कोही पाठक होस्, जसले पुस्तकको कथा लेख्न सकोस् ।

र, कोही लेखक होस्, जसले पाठकको कथा लेख्न सकोस् ।

यी सबैका कथा लेखिरहेका कुमार नगरकोटीको ‘कल्प–कथा’ को स्मृति–गर्तमा आज फर्कंदै छु म ।

संवत् २०७१ को झरिलो बिहानमा मल्लकालीन सहर पाटनको ‘घन्टाज्’ चिया अड्डामा उनीसँग भेट भएको थियो, किताबी कुराका लागि । त्यसअघिका दर्जनौं शराबी साँझ र चियाका दिवसमा उनी मेरा लागि एक फगत् मास्टर र ‘मोक्षान्त: काठमाडौं फिभर’ का लेखक थिए । मानिसलाई जीवनमा अर्कैको वैभव देखेर धेरै कुराको अम्मल लाग्छ– नशाको, प्यासको, धन–दौलतको, नामको । तर, यी आफ्नै स्वभावका अम्मली थिए– चिया, कफी, शराब, सिनेमा र किताबका । आफैंले निर्माण गरेका जीवनका गुफाहरूमा गुमसुम बस्न मन पराउने यी अम्मलीका सातवटा किताब प्रकाशनको यो संघारमा आइपुग्दा कल्प–ग्रन्थको किताब–कीर्तन अलौकिक छ ।

मनपसन्द गीत गुनगुनाउँदै जंगल पस्ने, कागजी–कुल्फीको सर्कोमा मसानघाटहरूमा निदाउने, यारको हर्जाना तिर्न याराना भैदिने नगरकोटी ‘मिस्टिका’ को लेखनपछि ‘मिस्टिक’ भएर निस्किए । ‘बाथ–टब’ सम्म आइपुग्दा उनको लेखनको बुलाकी निकै सुहाएको थियो । उनी सहरमा अजंगका मान्छे मात्रै थिएनन्, अजंगका कथा सुनाउँदै गरेका लेखक बनिरहेका थिए । उनको कालो कोटको खल्तीका ५ रङका पाइलट पेनका अक्षरहरूले समयको, सत्यताको, कल्पनाको, इच्छाको र इमानको क्यानभास बनाइरहेका थिए ।

यिनै अजंगका मान्छेका सबै किताब काइते ढाँचाका भए, लुते पुस्तक पाठकलाई कति सुम्पनु भन्ने हेतुले जन्मेको हो– कल्प–ग्रन्थ ।

गुदी र बोक्रो

अघिल्लो वर्षको चैतमा कोरोना ‘काल’ बनेर सहर नपसेको भए कल्प–ग्रन्थको यो स्वरूप हुने थिएन । नगरकोटीले आफूलाई लेख्न मन लागेका शैलीका कथा लेखिरहेका थिए । लामा कथाका बान्कीमा उनी ‘ग्रे–स्टोरिज’ को मफलर झुन्ड्याइरहेका थिए । सहरका स्वप्न सुन्दरीका नाममा समर्पित कथालाई उनले ‘पोस्ट–कार्ड स्टोरिज’ बनाइरहेका थिए ।

पटकथा लेखनको डाइलगीय व्यसनलाई ‘स्क्रिन–प्ले स्टोरिज’ मा पात्राणीकरण गर्दै थिए । कतै ‘इन्स्टलेसन स्टोरिज’ त कतै ‘परास्टोरिज’ भन्दै आफ्नो मगज मथिंगल गर्दै थिए । यसैबीच कथाका दुई भयंकर बान्की निस्किए– कन्सेप्चुअल स्टोरिज र टाइपोग्राफिक स्टोरी ।

नेपाली साहित्य लेखनमा पहिलो पटक यस्ता शैलीका कथा पढ्दा नगरकोटीलाई पाठकले ‘फिक्सन डिजाइर’ होइन, ‘पोस्ट–फिक्सन डिजाइनर’ को बिल्ला पक्कै भिराउनेछन् । ६३ वटा कथा लेखेपछि त किताब बनिहाल्यो । तर, सुरु भयो कोरोना–कोक्रोको समय, घरमै खाँदिएर बस्ने । यसबीच बालकुमारीको गुफामा नगरकोटीले फेरि केही कथा कोरले ।

सल्लाह भयो, यो भीमकाय किताबमा जाबो ७ वटा कथा थप्दा के नै पो बिग्रन्छ र ! त्यसपछि सुरु भयो, रि–लेआउटको झन्झटिलो कृत्य । त्यसो त नगरकोटीको एउटा किताब डिजाइन गर्न ३–४ महिना लाग्छ, त्यसमाथि यो अजिंगर किताबका लागि समय कति लाग्यो ! उमेश काफ्लेले बारको गिन्ती नगरी खुक्सको सुखमा नगरकोटीको किताबको ले–आउट गरे ।

पाटनको क्याफे–बारमा एक साँझ किताबको खास्टो बनाउने सल्लाहमा ‘सचिन योगल श्रेष्ठ’ जोडिए । कालो किताबको बाहिरी आवरणमा मसिना रेसाहरू प्रयोग गरेर काल्पनिक संसारको निर्माण गरेका उनले ‘टाइपोग्राफिक स्टोरी’ को यस्तो खाका कोरे, जसलाई पहिलो पटक देख्दा नगरकोटी र म झस्कियौँ ! कभरमा फेरि थपियो, जीवनगतिको कालचक्र । अब कभरमा एउटा सम्पूर्णता आयो कि झैं लाग्यो !

प्रि–भुक्तान घोषणा

‘डी–स्क्वायर क्याफे’ पाटनको कृष्ण मन्दिरको उत्तरपट्टि छ । हेर्दा ‘छि: स्क्वाएर’ भन्न मिल्दैन, तर त्यहाँको बसाइँले मनमा तन्तु र मगजमा जन्तु जन्माउँछ, बाराम्बार । अघिल्लो वर्षको अर्ध–लकडाउनमा यस्तै भयो । फ्याट्ट मैले प्रि–भुक्तानको चस्को सुनाएँ । लगत्तै नगरकोटीले थपे, ‘नेपालमा कसैले यसरी किताब छापेको छ कि छैन ?’ मैले छैन भनेसि ‘डन’ भएको यो कथा समाचारमा ‘डन’ नै बनेर निस्कियो । नेपालको यति सानो साहित्य बजारमा त्यसरी ‘प्रि–भुक्तान’ लिएर किताब छाप्छु भन्नु विपना त के कल्पिनै नसकिने कुरा हो, तर भयो ।

भविष्यका कुनै पनि आकर्षणमा पुन: मुद्रण नहुने गरी भएको त्यो घोषणा सबै पाठकका निम्ति चासोको विषय त थियो नै, यसरी गर्न सकिन्छ र भन्ने आशंका पनि उत्तिकै थियो ! जब हाम्रातर्फबाट पहिलो सूचना प्रकाशित भयो, करिब–करिब ९९ प्रतिशतका गालीले पनि हामीलाई घाइते बनाउन सकेन । धेरै प्रतिक्रिया आए, ‘अब नगरकोटी बिकाउ भयो । प्रकाशकले कमाउ धन्दा गर्‍यो । लेख्न सक्नेले यस्तो हतकण्डा गर्दै गर्दैन’ यावत्, यावत् ! तर, पनि पाठक र बजार खोज्ने नयाँ दृष्टिले प्रकाशक र लेखकलाई पुलकित बनाएको थियो ।

प्रकाशनका दृष्टिले पश्चिमाहरूले संसार हल्लाइसके । हामी पाठकको गालीबाट हल्लिनु हुन्न, प्रेरणा लिनुपर्छ भनेर अघि बढ्यौं । इ–सेवा र बैंकिङ पद्धतिबाट भुक्तान लिइयो । नगरकोटीका जबर्जस्त फ्यान र चेतनशील पाठकको सहभागिताले कल्प–ग्रन्थ नेपालको प्रि–भुक्तानको पहिलो किताब बन्यो ।

मुद्रणमा मुद्राराक्षस

७० वटा कथा, ८ सय पेज । कार्ड–कभर बाइन्डिङ, बक्स । पोस्ट–कार्ड, बुक–मार्क । एउटा सिङ्गो कथाको ‘बुक–लेट’ । त्यसबाहिर ब्रान्डेड झोला ।

यो बाहिरी बनावट थियो । भित्री कथा त भित्री पृष्ठको छ । जब किताब भारतको ‘थमसन प्रेस’ पुग्यो, इन्जिनियरका विविध आशंका उब्जिए । मुद्रणको शनिघण्ट हटाउन म त्यहाँ पुगें । किताब छपाइमा ‘रजत वर्ष’ मनाएको प्रेसका निम्ति पनि यो छपाइ घाँडो बन्यो । मेसिन सफा गरेर ‘डमी’ प्रिन्ट गर्दा सोचेको नतिजा निस्केन । अनेकौं प्रयासपछि किताबको कभरका मसिना ‘भेक्टर’ लाई मेसिनले छाप्यो । तर, छपाइले निकै लामो समय लियो ।

कागज पनि ‘प्रि–अर्डर’ नै थियो । सबै काम अलि विशेष हुँदै थियो– कागज, मसी, बाइन्डिङ सबै–सबै । किताब तयार भयो, तर कोरोनाको दोस्रो भेरियन्टले लकडाउन सुरु भयो । तोकेको समयमा किताब सार्वजनिक गर्न सकिएन । पाठकका प्रतिक्रियाले अबचाहिँ घाइते बनायो । एक लेखक र प्रकाशकको प्रयासमा कोरोना तगारो बनेर पटक–पटक पसिरह्यो ।

खर्पन

किताबको प्रचार नगरे पनि त्यसै प्रचार भइरहेको थियो । तापनि एउटा भूतो न भविष्यति लेखकको यस्तो किताब प्रकाशन गर्दा किन गतिलो प्रचार नगर्ने भन्ने सोच आयो । किताबभित्रको गीत ‘खर्पनमा बोकी हिँड्छु अचेल तिम्रो यादका सामलहरू’ लाई हरि लम्सालको सुरमा सजाउने जिम्मा लगाइयो, उनैले संगीत संयोजन गरे । र गाए, आवाजका दुर्गम प्रयोक्ता सुगम पोख्रेलले ।

काठमाडौंको नक्सालस्थित अकोस्टिक स्टुडियोमा यो गीत रेकर्ड गरेर निस्केपछि ‘सुनील पोख्रेल–ब्रदर’ सुगम पोख्रेलले भने, ‘नगरकोटी जोगीको यो गीत मेरा लागि प्रसाद हो ।’ गीत बनेर मात्रै भएन, आम श्रोता–दर्शकलाई पनि देखाउनैपर्‍यो । अन्तत: नगरकोटी काला–सेता पहिरनमा आफ्नै मनपसन्द लोकेसन ‘पशुपति आर्यघाट र वरपर’ रेड क्यामेराको फ्रेमभित्र कुँदिए, अभिनेता बनेर । नितिन चन्दले छायाङ्कन र सम्पादन गरे । यही गीतले मलाई म्युजिक भिडियोको निर्देशक पनि बनायो ।

क्युज सिनेमाघरको ‘लार्जर द्यान थट’ पर्दा र ‘डल्बी डिजिटल’ साउन्डमा यसको लोकार्पण गरियो । किताब रिलिजको मिति पुन: घोषणा भयो, तर किताब गोदाममा थन्कियो । कोरोनाले गर्दा ज्यान बचाउने समय आयो ।

किताबको सुगन्ध

अन्तत: यसै सातादेखि प्रि–भुक्तान गरेका पाठकको दैलोमा किताब पुग्दै छ । देशका कुना–कन्दरा र विदेशका सम्भ्रान्त सहरमा कल्प–ग्रन्थको यात्रा सुरु भएको छ । २ वर्षभन्दा बढी समयको लेखन, सम्पादन, ले–आउट, डिजाइनले पूरा भएको कल्प–ग्रन्थको कथा मेरा लागि मात्रै नभएर लेखक र प्रबुद्ध पाठकका लागि पनि रोचक हुनेछ । करिब आधा करोडको लागतमा हाम्रो देशमा एक लेखकको एउटा किताब छापिनु किताबका अक्षरहरूको सुखद यात्रा हो नै । र हो, हाम्रा पाठकहरूको विकसित मनोबजार । यो भीमकाय किताबको ‘बोक्रो र गुदी’ दुवैका कारण पाठकले लेखक र प्रकाशकलाई सधैं सम्झनेछन् ।

‘लिमिटेड एडिसन’ को लोगोमा पहिलोपल्ट छापिएको यो किताब तिनै ‘लिमिटेड पाठक’ को हातमा हुनेछ, जसले ‘लिमिटेड समय’ मा नगरकोटीलाई ‘अन–लिमिटेड’ माया र सम्मान गरे !

(नगरकोटीको कथासंग्रह ‘कल्प–ग्रन्थ’ ‘बुक–हिल’ ले यसै साता सार्वजनिक गरेको छ ।)

प्रकाशित : असार १२, २०७८ १२:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?