कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

अति लोपोन्मुख दुरा र लुङखिम भाषाको पाठ्यपुस्तक बन्दै

काठमाडौँ — भाषा आयोगले अति लोपोन्मुख सूचीमा रहेका दुरा र लुङखिम भाषा संवर्द्धनका निम्ति पाठ्यपुस्तक निर्माण गर्ने भएको छ । चालु आर्थिक वर्षभित्रै पाठ्यपुस्तक निर्माण कार्य पूरा हुने आयोगकी सदस्य उषा हमालले जनाएकी छिन् ।

अति लोपोन्मुख दुरा र लुङखिम भाषाको पाठ्यपुस्तक बन्दै

‘आयोगले अति लोपोन्मुख भाषा संरक्षण पहल गरेको छ,’ आयोगले सम्बन्धित समुदायसँग आइतबार गरेको भर्चुअल संवादमा सदस्य हमालले भनिन्, ‘असार पन्ध्रभित्र दुरा र लुङखिम भाषाको पाठ्यसामग्रीको प्रारम्भिक खाका तयार गरिनेछ र सम्भव भएसम्म चाँडै विद्यालयमा औपचारिक पठनपाठनका निम्ति पाठ्यपुस्तक उपलब्ध गराइनेछ ।’

तथ्यांकमा दुरा भाषा बोल्नेको संख्या २ हजार १ सय ५६ जना छन् तर व्यवहारमा दुरा भाषा बोल्ने शून्यप्राय: रहेको अनुसन्धानमा संलग्न भाषाशास्त्री तारामणि राईले बताए । ‘दुराको वक्ता कोही पनि छैन, तर अहिले दुरा भाषाका वक्ता अध्यता मुक्तिनाथ घिमिरेको पहलमा यो भाषाको पुनःउत्थान भएको छ,’ भाषाशास्त्री राईले भने, ‘दुरा सेवा समाजले बच्चालाई मातृभाषा सिकाउने, गीत गाउँनेजस्ता क्रियाकलापले पुस्तान्तरण गर्ने प्रयास सकारात्मक रूपमा अघि बढेको छ ।’

दुरा सेवा समाजका अध्यक्ष देवबहादुर दुराले दुरा भाषाको शब्दकोश, आधारभूत व्याकरण निर्माणको काम भएको जनाएका छन् । लमजुङका स्थानीय शिक्षक मुक्तिनाथ घिमिरेले २०५४ सालमा दुरा भाषामा स्नातकोत्तर हासिल गरेका थिए । उनै घिमिरको पहलमा दुरा भाषा, शब्दकोश र व्याकरण निर्माणको कार्य भएको हो । ‘वक्तै छैन भनिराखे पनि दुरा बस्तीको विद्यालयमा दुराका बच्चाले एकापसमा संवाद गर्न सक्ने अवस्था बनेको छ,’ अध्यक्ष दुराले भने ।

आयोगको तर्फबाट भाषाशास्त्री राईको टोलीले इलाम जिल्लाको सूर्योदय नगरपालिका क्षेत्रमा बोलिने लुङखिम भाषाको अध्ययन भएको छ । ‘लुङखिम भाषा अत्यन्तै संकटमा छ,’ लोपोन्मुख भाषा संरक्षणमा स्थानीय सरकारको सहयोग नरहेको उल्लेख गर्दै उनले भने, ‘लुङखिमका वक्ताको स्थिति एउटा घरमा मात्रै सीमित छ । राम्रो दखल राख्ने नन्दलाल राईको गत हप्ता निधन भयो । त्यसैले संकट देखिन्छ । अब चार–पाँच जनामात्र वक्ता छन् ।’ लुङखिम राई समाजका सदस्य पूर्णबहादुर राईले मातृभाषा संरक्षण पहल जारी राखेको बताए ।

आयोगका कामु सचिव लक्ष्मीप्रसाद भट्टराईले यसअघि अति लोपोन्मुख तिलुङ, बराम र कुसुन्डा भाषाको पाठ्यपुस्तक निर्माण गरी पठनपाठन भइरहेको जनाए । आयोगका सूचना अधिकारी लोकबहादुर लोप्चनले लोपोन्मुख भाषाको पाठ्यपुस्तक निर्माणसँगै ९० घण्टाको मातृभाषा कक्षा संचालन गरिने बताए ।

प्रकाशित : जेष्ठ ३०, २०७८ २०:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?