१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८४

‘युद्ध, प्रेम र पागलपनको कथा’लाई म्यान बुकर इन्टरनेसनल पुरस्कार

डेभिड डिअप यो पुरस्कार प्राप्त गर्ने पहिलो फ्रान्सेली र अफ्रिकी लेखक हुन्
इकान्तिपुर डेस्क

काठमाडौँ — सन् २०२१ को म्यान बुकर इन्टरनेसनल पुरस्कार ‘एट नाइट अल ब्लड इज ब्ल्याक’ ले पाएको छ । सन् २०१८ मा फ्रेन्च भाषामा प्रकाशित फ्रान्सेली–सेनेगली साहित्यकार डेभिड डिअपको उक्त उपन्यास अमेरिकी कवि अन्ना मोसोभाकिसले अनुवाद गरेकी हुन् ।

‘युद्ध, प्रेम र पागलपनको कथा’लाई म्यान बुकर इन्टरनेसनल पुरस्कार

यस वर्षको पुरस्कार लेखक र अनुवादक दुवैलाई दिइएको हो । दुवैले पुरस्कार राशि ५० हजार पाउन्डको आधा–आधा हिस्सा प्राप्त गर्नेछन् । बुधबार यूकेको कोभेन्ट्री क्याथेड्रलमा आयोजित एक समारोहमा पुरस्कार घोषणा गरिएको हो ।

‘एक पटक त मेरो बढी नै प्रशंसा भयो कि भन्ने लाग्यो, म सपनामा बाँचिरहेको छु जस्तो लाग्यो एउटा जागृत सपनामा,’ साहित्यकार डिअपले पुरस्कार प्राप्त गरेपछि भनेका छन् । उनले सन् २०१८ मै फ्रान्सको प्रतिष्ठित पुरस्कार प्रि गोक्वोँ द लिसिअँ प्राप्त गरेका थिए । म्यान बुकर पुरस्कार प्राप्त गर्ने उनी पहिलो फ्रान्सेली र अफ्रिकी लेखक पनि हुन् ।

यस वर्षको पुरस्कारका लागि १२३ वटा पुस्तकबाट ६ वटाको सर्टलिस्ट तयार पारिएको थियो । यस वर्षको सर्टलिस्टमा डिअपको पुस्तकसहित एरिक भियाको ‘द वार अफ द पुअर’, मारिआना इन्‍रिकेजको ‘द डेन्जरस अफ स्मोकिङ इन बेड’, मारिया स्टेपानोभाको ‘इन मेमोरी अफ मेमोरी’, बेन्यामिन लाबातुतको ‘ह्वेन वि सिज टु अन्डरस्ट्यान्ड द वर्ल्ड’ र ओल्गा रानको ‘द इम्प्लोइज’ परेका थिए ।

इन्टरनेसनल बुकर पुरस्कार प्रत्येक वर्ष अंग्रेजी भाषामा अनुवाद भएका र युके वा आयरल्यान्डबाट प्रकाशित पुस्तकमध्ये उत्कृष्ट ठहरिएकोलाई प्रदान गरिन्छ ।

साहित्यका प्राध्यापकसमेत रहेका डिअपले उपन्यासमा एक युवकको ‘पागलपन’लाई चित्रित गर्ने प्रयास गरेका छन् । त्यस्तै उनले प्रथम विश्वयुद्धका बेला फ्रान्सका लागि लड्ने सेनेगली नागरिकहरुको कथा पनि उपन्यासमा समेटेका छन् । पुस्तकका बारेमा द न्युयोर्क टाइम्समा प्रकाशित समीक्षामा भनिएकोछ, ‘प्रथम विश्वयुद्धको एक शताब्दीभन्दा बढी समयपछि एक महान नयाँ अफ्रिकी लेखकले मानव इतिहासमा लागेको रक्तपातपूर्ण दागका बारेमा एक अतिरिक्त तर असाधारण उपन्यासमा प्रश्न सोधिरहेका छन् ।’

त्यस्तै द टाइम्सले उपन्यासका बारेमा भनेको छ, ‘मार्न र मर्नका लागि पठाइएका पुरुषको आत्मासँग के हुन्छ भन्ने कुराको एक असाधारण र शक्तिशाली अन्वेषण गरिएको छ ।’

हालैमात्र बीबीसीसँगको कुराकानीमा डिअपले आफ्ना जिजुहजुरबुवाका बारेमा भनेका थिए, ‘उहाँले जिजुहजुरआमालाई केही कुरा सुनाउनुभएन । आफ्नो अनुभवबारे मेरी आमालाई पनि सुनाउनु भएन । त्यसैले पनि उक्त युद्ध र युद्धसँग सम्बन्धित विषयहरुमाथि म निकै उत्सुक भएको थिएँ ।’

यस वर्षको निर्णायकमण्डलकी अध्यक्षसमेत रहेकी बेलायती इतिहासकार तथा उपन्यासकार लुसी ह्युजेज ह्यालेटले उपन्यासका बारेमा भनिन्, ‘युद्ध, प्रेम र पागलपनको यस कथामा भयानक शक्ति छ ।’

उपन्यासको प्रमुख पात्रमाथि टुनामुनाको आरोप लगाइएको र उपन्यासको कथानक पाठकहरुलाई अस्वभाविक लाग्ने खालको भएको ह्यालेट बताउँछिन् ।

-बीबीसीलगायतका विभिन्न समाचार संस्थाको सहयोगमा

प्रकाशित : जेष्ठ २१, २०७८ १०:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?