मामुली टिपोट- साहित्य/विविध - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मामुली टिपोट

'महामारीको दोस्रो लहरले च्याप्दै लगेपछि थाहा भयो गाउँमा भ्यूटावर हैन राम्रो अस्पताल चाहिने रहेछ । मन्दिर र सालिक त पछि बनाउँदै गरे हुने रहेछ । पहिलो कुरा औषधि-अक्सिजनको जुगाड गर्नुपर्ने रहेछ ।'
दीपक पराजुली

न्यारेटर हूँ म । आख्यानकारले चलाखी गरे । तिनका आख्यानमा म सर्वज्ञाता बनाइएँ । कहिलेदेखि मैले यिनीहरुको सेवा गर्दै आएको हो, थाहा छैन । जतिसुकै सेवा गरे पनि मैले एक टुक्रो मेवा पाएको इतिहास छैन ।

कुरा थपिहालेँ, त्यही इतिहासले छोडेका खाली ठाउँ भर्न यिनीहरुले मलाई हात लिने गर्छन् । आफ्नो मनमा कट्कटी जमेका क्लेश-कुण्ठा पोख्न पनि यिनीहरुले मलाई नै मोहरा बनाउने गर्छन् । कालान्तरमा शब्दसेवाका नाउँमा, जनसेवाका नाउँमा र अझै राष्ट्रसेवाको नाउँमा समेत अनेक पदवी-पुरस्कार, उपाधि-अलंकार थाप्ने भन्नुस् वा लुँड्याउने यिनीहरु नै हुन्छन् । मैले यिनीहरुको रिस गरेको होइन !

पाठकहरुलाई कति सजिलै फस्ल्याकफुस्लुक पार्न खोज्छन् यिनीहरु । कमलो मनका सोझासिधा पाठकहरु यिनको शिकार बनेको देख्दा मलाई काउसोझैं बिझाउँछ । सुनेको छु, बजारमा अचेल निकै चनाखा पाठकहरु आएका छन् । अब यिनीहरुमध्ये कतिको जोत्ने दिन डुबिगए भन्दा हुन्छ । चनाखा पाठकहरुले यिनलाई कलाको कसीमा निर्ममतापूर्वक घोट्ने नै छन् । यो थाहा पाएर म साँच्चै उत्साहित भएको छु । हुन त पहिलो पटक माहेन्द्री नदीको तटमा व्यासले महाभारतको रचना गर्दा पनि म उस्तै उत्साहित भएको थिएँ । यथार्थमा, त्यसयता एक जुगमा एकादुई पटक मात्रै म उत्साहित हुन पुगेको छु । जरुरी छैन, पाठकले मन पराए भन्दैमा मैले आख्यानकारका कर्तुत आच्या कृति मन पराउनै पर्छ । मैले घमण्ड गरेको होइन !

बीसबाइसका भर्भराउँदा तन्नेरीदेखि उमेरले बल्ल पचास टेक्दै गरेका सँगीदौंतरीसमेत आफ्नैअघि सास नपुगेर भकाभक ढले । उता केन्द्र सरकार औँला भाँच्दै लास गन्दै बस्न थाल्यो । उफ्, यस्तो दिन पनि देख्नुपर्‍यो ! यस्तो लेख्दै गर्दा मेरा नौनाडी फतक्क छन् । हात लगलग कामेका छन् ।

आख्यानकारले ममाथि थोपरेको अन्तर्यामी भूमिकाबाट आज म मुक्त छु । आज तपाईँ पाठकको आँखाअघि उभिएको छु म । तापनि वाचन गर्नुपर्ने कुनै कथा मसँग छैन । स्थापित गर्ने नाउँमा दुःखको भूमरीमा जाकिदिनलाई कोही पात्र मसँग छैन । रसरंगिलो कुनै संवाद छैनन् मसँग । आज मसँग छन् त मात्र तीन टुक्रा दृश्य । दृश्य पनि के भन्नु र खै, असलमा यो त एउटा सिकारु संवाददाताले गरेको टिपोट जस्तो छ । मान्यवर, आज यही मामुली टिपोटमा चित्त बुझाउनुहोस् !

।। एक ।।

बालुवाटार दरबारमा घाम लगेको छ । घरीघरी यताउता कुदिराख्ने बादलले पारेको छायाँ दरबारको छतमा बगेको देख्न सकिन्छ । यो कुनै खास महत्वको कुरा होइन । यसलाई यहाँ उल्लेख नै नगरेको भए हुन्थ्यो । मौसमको एक सामान्य चर्तिकला मात्रै हो यो । घाम लागेको छ भन्दैमा त्यहाँ प्रचण्ड गर्मी छ भन्ने अड्कल नकाट्नुहोला नि फेरि ! किनभने, वरपरको वातावरण पनि त्यस्तै छ ।

खास महत्वको कुरा चैं के हो भने दरबारभित्रबाट एकोहोरो आवाज आइरहेको छ । आवाज कस्तो भन्दाखेरी- घ्वार्रघुर्र-घ्वार्रघुर्र-घ्वार्रघुर्र-घ्वार्रघुर्र...! अब शंका गर्नेले त बालुवाटारमा बालुवा पेलेर तेल निकाल्ने काम भइरहेको हुनसक्छ भन्देलान् । तर, यथार्थमा त्यस्तो हुँदै होइन । यो ठेकीमा दही मथ्दा आउने आवाज हो भनेर सामान्य अक्किल भएको जो कोहीले भनिदिन सक्छ । पक्का कुरा हो । पत्यार नलागे भित्रै गएर हेरौँ न त !

भित्र- यो किचन रुम हो र यहाँ प्राइममिनिस्टरले ठेकीमा मदानी घुमाईघुमाई दही मथिरहेका छन् । याद गर्नुहोला, उहाँ संविधानको धारा ७६ को उपधारा १ को प्राइममिनिस्टर हो । यहाँका कोठाचोटाहरुमा एक हैनन् अनेक प्राइममिनिस्टरहरु छन् । जस्तो यो बेड रुम हो र यहाँ उपधारा २ का प्राइममिनिस्टरले दही मथिरहेका छन् । यो बाथ रुम हो, यहाँ उपधारा ३ का प्राइममिनिस्टरले दही मथिरहेका छन् । एट द सेम टाइम, विभिन्न धारा एवं अनेक-अनेक उपधाराबाट बनेका प्राइममिनिस्टरहरुले प्रत्येक रुममा दही मथिरहेका छन् । अनि बाहिर...?

बाहिर- मोही खान पाउँला, घिउ खान पाउँला भन्ने आशमा अनेकथरीका मान्छेले बालुवाटार घेरेका छन् । प्रत्येकको हातमा रित्तो ढुङ्ग्रो छ । तपाईँले अकुपाई बालुवाटार भन्ने सुन्नुभएकै होला । हो, आज रित्ता ढुङ्ग्रो हल्लाउँदै जम्मा भएका मान्छेहरुले बालुवाटारलाई अकुपाई गरेका छन् । तपाईँ नझुक्किनुहोला, यी ती अकुपाईवाला होइनन् जो सरकारको गलत कदमविरुद्ध हिजो बालुवाटार घेरा हाल्न आएका थिए ।

रित्ता ढुङ्ग्रो हल्लाउँदै आज आएका मान्छेहरु ती हुन् जसको फोटो प्रायः अखबारको अग्रपृष्ठमा छापिएको हुन्छ । अनलाइन न्युज पोर्टलका भित्ता पनि तिनीहरुकै अनुहारले ओगटेको हुन्छ । मिडियाका श्रव्यदृश्य च्यानलहरुमा पनि प्रायः तिनीहरुलाई नै चर्को-चर्कोसँग बोलिरहेको देख्नसुन्न सकिन्छ । यस कालखण्डमा तिनीहरुलाई नै छाप्नु अनि तिनीहरुकै कर्कश आवाजलाई दोहोर्‍याईतेहेर्‍याई प्रसारण गर्नु नै मिडियाको मूल धर्म बनेको छ ।

यो दृश्यलाई तपाईँले ध्यान दिएर हेर्नैपर्छ । ती अनुहारहरुलाई तपाईँले याद गर्नै पर्छ । फेरि जोड दिँदै भन्छु- ती अनुहारहरुलाई नबिर्सिनेगरी याद गर्नुहोला ! मनपरी हल्लाइएका रित्ता ढुङ्ग्रोहरु एक आपसमा ठोक्किरहेका छन् । ठ्वाङ-ठुङ्-ठ्वाङ-ठुङ् आवाज आइरहेको छ । भित्रको दही मथेको घ्वार्रघुर्र-घ्वार्रघुर्र अनि बाहिर ढुङ्ग्रो ठोक्किएको ठ्वाङ-ठुङ्-ठ्वाङ-ठुङ् मिलेर जो सिम्फोनी निर्मित भएको छ त्यसलाई तपाईँ पाठकले महसुस गर्न सक्नुपर्छ । आत्मसात गर्न सक्नुपर्छ ।

।। दुई ।।

यो दृश्य माइतीघर मण्डलाको हो । तपाईँलाई थाहा भएकै कुरा हो कि यहाँ यस्ता कार्यक्रमहरु भई नै रहन्छन् । यहाँ प्रायः विरोधकै कार्यक्रम हुने गरेको बारे पनि तपाईँ जानकार नै हुनुहुन्छ । तर आजको विरोध कार्यक्रम भने अलि फरक छ । जस्तो तपाईँले यहाँ अनेक मान्छेहरु जम्मा भएको देख्न सक्नुहुन्छ । ती अनेकको हात अनेक किसिमका व्यानर र प्लेकार्डले अकुपाई गरेका छन् । व्यानर र प्लेकार्डमा यस्तो व्यहोरा लेखिएको देख्न सकिन्छः

-'म्युजिकल चेयर'लाई प्रतिबन्ध लगाऔं !

-'तातोआलु'लाई बन्देज गर !

-भित्र-बाहिर'लाई खारेज गर !

सरकारले हालसालै राष्ट्रिय खेल अध्यादेश जारी गरेको छ । संसद्लाई छलेर ल्याइएको सो अध्यादेश विवादमा परेको छ । 'देशलाई महामारीले अँचेटेको बेला केको खेला !' भन्दै विरोधस्वरुप विरोधी दलका केही सांसदहरुले वक्तव्य जारी गरेका छन् । महामारी नियन्त्रणमा असफल रहेको सरकारले आफ्नो अक्षमता ढाकछोप गर्न यस्तो तिकडम गरेको उनीहरुको आरोप छ । सो अध्यादेशले प्रचलित खेलहरुसँगै म्युजिकल चेयर, तातोआलु र भित्र-बाहिरलाई पनि राष्ट्रिय स्तरको मान्यता दिएकोमा देशभरका खेलप्रेमी समुदाय आक्रोशित बनेका हुन् । अध्यादेशप्रति विरोध जनाउनका लागि उनीहरु यहाँ उपस्थित भएका हुन् । विशेषतः स्कुलमा खेलाइने यी तीन खेलले विद्यार्थीहरुलाई पथभ्रष्ट बनाएको उनीहरुको आरोप छ । उनीहरुको भनाइअनुसार,

-म्युजिकल चेयरले विद्यार्थीलाई चरम अवसरवादी बन्न प्रेरित गर्छ ।

-तातो आलुले निजलाई जिम्मेबारहीन-उत्तरदायित्वविहीन बन्न सिकाएको छ ।

-भित्र-बाहिरले भविष्यका कर्णधारहरुलाई केवल आदेशको पालन गर्ने सिर्जनशीलताहीन भुत्ते औजार मात्र बनाउने छ ।

विरोध कार्यक्रममा उपस्थितमध्येका एक खेलप्रेमीले यसो भने- 'देश यसरी लथालिङ्ग भताभुङ्ग हुनुमा यही तीनवटा खेल मुख्य जिम्मेवार छ । अब यस्तो भ्रष्ट खेललाई सरकारले राष्ट्रिय मान्यता दिन खोज्दैछ । यो एकदमै अनैतिक छ । यसलाई खारेज गर्नैपर्छ । यसको सबैले विरोध गर्नुपर्दछ । तपाईँलाई लाग्दैन देशका नेताहरुले अहिले यही तीनवटा खेल खेलिरहेका छन् ?'

सो कार्यक्रममा ख्यातिप्राप्त खेलाडीका साथै जानेमाने शिक्षाविद्हरुले समेत सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

।। तीन ।।

नवनिर्मित धरहरा वरपर सुरक्षाकर्मीहरुको बाक्लो उपस्थिति देख्न सकिन्छ । केही ठाउँका स्थानीय जनप्रतिनिधिहरुले आफैंले बनाएको भ्यूटावरबाट हाम फाली आत्महत्या गरेको खबर आएसँगै सुरक्षाकर्मीले सांसदहरुको निवास वरपर गस्ती बढाएका छन् । भ्यूटावरबाट हाम फालेर सुसाइड गर्नेमध्येका एक वडाध्यक्षले सुसाइड गर्नु अघि लेखेको एकपाने नोट फेला परेको छ । तर त्यो सुसाइड नोटको तल्लो भाग च्यातिएको छ । किन च्यात्तियो, कसले च्यात्यो, कसरी च्यात्तियो, यसबारेमा मलाई केही जानकारी छैन । सो हुनाले सुसाइड नोटको पूरा व्यहोरा प्रस्तुत गर्न असमर्थ छुः

आदरणीय वडावासी दाजुभाइ तथा दिदीबहिनीहरु,

मलाई माफ गरिदिनुहोला ! कोरोना फर्केर आयो । हामीले त सँधै बाह्र वर्षमा खोलो फर्कन्छ भन्न मात्रै जानेका । तर यो शैतान बाह्र महिनामै फर्कियो । बडो दुःखका साथ भन्दैछु हाम्रा प्राइममिनिस्टरले कोरोना धपाउन बेसार पानी खाने, अम्बाको पात चपाउने, हाछ्युँसाछ्युँ गर्ने र उडाइदिने टिप्स जो दिनुभएको थियो त्यसले काम गरेन । यसपालिको कोरोना त अघिल्लो वर्षको हजुरबाउ रहेछ । यसपालि साह्रै गाह्रो बनाएको हो ।

अघि चिउँडोमा मास्क सिउरेर सभा-सम्मेलन, उद्घाटन, जमघट, विवाह सबैखाले भीडभाडमा फुक्काफाल भई हिँडियो । महामारीको दोस्रो लहरले च्याप्दै लगेपछि थाहा भयो गाउँमा भ्यूटावर हैन राम्रो अस्पताल चाहिने रहेछ । मन्दिर र सालिक त पछि बनाउँदै गरे हुने रहेछ । पहिलो कुरा औषधि-अक्सिजनको जुगाड गर्नुपर्ने रहेछ । जनताको विश्वास जितेको एक जिम्मेवार प्रतिनिधि हुनुको नाताले यो पत्र लेख्दै गर्दा मलाई अपराधबोधले नमज्जासँग चिमोटिरहेको छ ।

बिरामीले अस्पतालका बेड भरिए । अक्सिजनको अभाव भयो । मेयर, चिफमिनिस्टर, फेडरल मिनिस्टरसम्म हारगुहार गरेँ । कसैले केही लछारपाटो लाउन सकेनन् । बीसबाइसका भर्भराउँदा तन्नेरीदेखि उमेरले बल्ल पचास टेक्दै गरेका सँगीदौंतरीसमेत आफ्नैअघि सास नपुगेर भकाभक ढले । उता केन्द्र सरकार औँला भाँच्दै लास गन्दै बस्न थाल्यो । उफ्, यस्तो दिन पनि देख्नुपर्‍यो ! यस्तो लेख्दै गर्दा मेरा नौनाडी फतक्क छन् । हात लगलग कामेका छन् ।

केही दिनदेखि म राम्ररी सुत्न सकिरहेको थिइनँ । यसो झुपुक्क हुन्छु अनि नराम्रा-नराम्रा सपना मात्रै देख्छु । कहिले अक्सिजन सिलिण्डर बोकेका मुर्कट्टाहरुले लखेट्दै गरेको देख्छु । कहिले पिचासहरुले सुइले छातीमा घोपीघोपी मारेको । केके हो केके देख्न थालेँ । त्यसपछि निन्द्रामा ऐँठनले बर्बराउन थालेँ । जागै हुँदा प्रकोपको पीडाले बर्बराउन थालेँ । प्रिय वडावासीहरु, तपाईँहरुको सेवक वडाध्यक्ष म बौलाएँ !

कोरोना संक्रमण बुलिस ट्रेन्डमा छ । मृत्युले दिनका दिन पोजिटिभ सर्किट हानिरहेको छ र पनि केन्द्र सरकार कमिसनखोरको चंगुलमा फसेर अक्सिजनदेखि खोपखरिद सम्मका सबै कामहरु होल्ड गरेर बसेको छ । यस्तो बेला, के हाम्रा प्राइममिनिस्टर बालुवाटरमा बेलुन फुक्दै बसेका छन् ?कि ब्लुफिल्म...... (सुसाइड नोटको तल्लोभाग च्यातिएकोले पूरा व्यहोरा प्रस्तुत गर्न सकिएन ।)

यो अधकल्चो सुसाइड नोट सार्वजनिक भएसँगै सनसनी मच्चियो । सामाजिक सञ्जालमा यसैको चर्चा चुलियो । वडाध्यक्षको सुसाइडको रहस्य खोल्ने भन्दै युट्युबमा अनेक भिडियो आउन थाले । रेडियो टिभीका समाचार पनि यसैमा केन्द्रित भए । त्यस उप्रान्त अन्य गाउँ-नगरका मेयरहरुले पनि भकाभक भ्युटावरबाट हामफाल्दै सुसाइड गर्न थाले । केन्द्र-प्रदेशका सांसद अनि मिनिस्टरहरु समेतले सुसाइड एटेम्प्ट गर्न डाँडाकाँडाका भ्यूटावर खोज्दै हिँडेको खबर आउन थाल्यो ।

यसपछि देशका चारवटै सुरक्षा संयन्त्रका प्रमुखहरुको आकस्मिक बैठक बस्यो । विश्वस्त स्रोत चुहाएको सूचनाअनुसार सो बैठकले सुरक्षा जोखिम भएका भीभीआईपीहरुको नाम लिस्टिङ गरेको छ । सो लिस्टमा मिनिस्टरहरुको नाम उल्लेख्य छ । अनेक उपधाराका प्राइममिनिस्टरहरुको नाउँ त झन् अग्रपंक्तिमै छ रे । अलि बढ्तै बोलेँ भन्ठान्नु भयो होला । मेरो कुरामा विश्वास लाग्दैन भने तपाईँ आफैं गएर हेर्नुहोस् । अहिले धरहरा वरपरको सुरक्षा व्यवस्था अत्यन्त कडा बनाइएको छ ।

प्रकाशित : जेष्ठ ८, २०७८ १८:३०
प्रतिक्रिया
पठाउनुहोस्

संसद् विघटन गर्ने पाइलाको प्रतिकार गर्न नागरिक अगुवाहरुको अपिल

कान्तिपुर संवाददाता

काठमाडौँ — संसद् विघटन गर्ने पाइलाको प्रतिकार गर्न नागरिक अगुवाहरुले अपिल गरेका छन् । संविधान र संसद्को सर्वोच्चताको चिर–हरणको दुराग्रही  प्रयत्नमा संलग्न हरेक व्यक्ति र समूहलाई कानुनी र राजनीतिक तवरले दण्डित गर्नु आवश्यक भएको उनीहरुले बताएका छन् । 

शनिबार नागरिक अगुवाहरु अरूणा उप्रेती,कृष्ण प्रसाद पोडैल,पिताम्बर शर्मा,विन्दु शर्मा,महेश मास्के,सुदिप श्रेष्ठ,हरि रोकालगायतले एक विज्ञप्ति जारी गर्दै संसद्को विघटन गर्ने पाइलाको प्रतिकार गर्न र पहिले जस्तै ऐक्यबद्ध भई आ–आफ्नो क्षेत्रबाट योगदान दिन उनीहरुले अपील गरेका हुन् ।

उनीहरुले चार महिनाको अन्तरालमा प्रधानमन्त्री केपी ओलीबाट जेठ ७ गते गरिएको प्रतिनिधिसभा को दोस्रो विघटन त्यति बेला गरिएको प्रतिगमन पुस ५ कै पुनरावृत्ति रहेको बताएका हुन् । विज्ञप्तिमा भनिएको छ, 'धारा ७६ को उपधारा ४ अनुरुप अल्पमतको सरकारले बहुमतसिद्द गर्नुपर्ने बाध्यकारी बुँदालाई वेवास्ता गर्दै र राजीनामा पनि नदिई धारा ५ मा लैजाने उपक्रम , राष्ट्रपतिबाट कुनै एक सांसदको नेतृत्वमा बहुमतको सरकार बनाउन मात्र २१ घण्टाको म्याद दिइनु, र आफ्नो पक्षमा बहुमतको दाबी गरेका दुई समुहको हस्ताक्षरको यथार्थ जाँच गर्ने अवसर नदिई "दुवै पक्ष को दाबी नपुगेको" निर्णय गरिनु र मध्यरातमा प्रधानमन्त्री ओलीले संसद् विघटनको प्रस्ताव राष्ट्रपति समक्ष लग्नु र त्यसको एक घण्टा मै संसद् विघटन र मध्यावधि चुनावको घोषणा हुनु दोस्रो प्रतिगमनको सिलसिलेवार घटनाक्रम हुन् ।'

कोरोना भाइरसको विश्वव्यापी महामारीको दोस्रो लहरले पैदा गरेको जनस्वास्थ्य संकट र असह्य पीडासँग जुधिरहेको बेला त्यसबाट आम जनताको प्राण रक्षा गर्नुको सट्टा, राजनीतिक संकट उत्पन्न गरेर जनतालाइ प्रतिरोधको लागि सडकमा ओर्लिन बाध्य गरिएको विज्ञप्तिमा उल्लेख छ । कोभिड प्रकोपको भयावह परिवेशमा निरंकुशताको पटकपटक अभ्यास गरिएको र संविधान र जनताको प्रतिनिधित्व गर्ने सार्वभौम संसद्माथि पटक पटक प्रहर भइरहेको उनीहरुले बताएका छन् ।

संसदको विघटनबाट उत्पन्न राजनैतिक संकटले मुलुकलाई पुनः राजनीतिक अस्थिरताको दलदलमा र विदेशी शक्तिको सम्भावित चलखेलतिर घचेटेको विज्ञप्तिमा उल्लेख छ । यो कार्यले अन्तर्राष्ट्रिय समदायमा नेपाललाई अत्यन्त लज्जित समेत बनाएको उनीहरुले बताएका छन् ।

प्रकाशित : जेष्ठ ८, २०७८ १८:२७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×