कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

नेपालमा समाजशास्त्रीय अभ्यासको अपुरो व्याख्या 

नारायणी देवकोटा

मान्छेहरु बढो मिठो लाग्ने गरी लेख्ने—बोल्ने गर्छन्, ‘नेपालमा समाजशास्त्रीय व्याख्या कम भयो’, ‘समाजशास्त्रीय लेखाई वा हेराई’ वा ‘सामाजशास्त्रीय कोणबाट हेर्दा’, ‘समाजशास्त्रीय अध्ययन’ वा यस्तै यस्तै ।

नेपालमा समाजशास्त्रीय अभ्यासको अपुरो व्याख्या 

कसैले समाजको बारेमा बोल्ने मानिसलाई समाजशास्त्री भनेर भनिदिन्छन् (उदाहरणको लागि केही समय अगाडि त्रिविका पूर्वप्राध्यापक सञ्जीव उप्रेतीलाई ‘समाजशास्त्री’ भनेर एक अनलाइनले लेखेको थियो) ।

अनि यसरी लेखेबोलेका वा भनिरहेको मानिसले कतिपय बेलामा गैरसमाजशास्त्रीय (मनोविज्ञान, अर्थशास्त्र वा पम्परागत अन्ध विश्वासका) कुरा लेखिरहेका बोलिरहेका पनि हुन्छन् । कतिपय सार्वजानिक कार्यक्रममा समाजशास्त्रको दुहाइ दिँदै गैरसमाजशास्त्रीय विचार व्यक्त गरिरहेका मानिसका कुरा सुन्दा हामी आँखा आँखाले वा खुसुरखुसुर कुरा काटिरहेका हुन्छौँ ।

समाजशास्त्रीय भन्दै गैरसमाजशास्त्रीय गफ गरेको कुराले आजित भएर होला एक समय मानवशास्त्री सुरेश ढकालले ‘म समाजशास्त्री होइन है’ भनेको पनि सुनिन्थ्यो । उहाँले त्यसो भन्ने अर्को कारण समाजशास्त्र र मानवशास्त्र विभागमा दिनहुँ आफ्नो आफ्नो विषयलाई लिएर भइरहेको किचलो पनि हुँदो हो । त्यसो त चैतन्य मिश्र सरले एमए, एमफिल र पीएचडीका धेरै विद्यार्थीलाई ‘तिम्रो थेसिसमा समाजशास्त्र कहाँ छ ?’ भनेर उछितो काढ्ने गरेको कुरा पनि धेरै पटक सार्वजानिक भइसकेको छ ।

तर, समाजशास्त्र विषय आफै कस्तो छ त भन्नेबारेमा कमै बहस, छलफल, र लेखिएको छ । उक्त कमीलाई केही (केही किन लेखिएको भन्नेबारेमा लेखको अन्त्यतिर थप व्याख्या गरिने छ) हदसम्म सम्बोधन हुने गरी भर्खरै दुई युवा समाजशास्त्री प्रणव खरेल र गौरव केसीले ‘प्राक्टिसेस अफ सोसिओलजी इन नेपाल’ नाम दिएर सम्पादित पुस्तक बजारमा ल्याएका छन् ।

किताबले नेपालमा समाजशास्त्रीय अध्ययनको सुरुवात, समाजशास्त्र र मानवशास्त्र विषयबीचको भिन्नता र संयुक्त विभागमा भएको दुई शास्त्रका शास्त्रीहरुको तिक्ततापूर्ण प्राज्ञिक जीवन, समाजशास्त्र–मानवशास्त्र विषयमा भएका जर्नलहरुको प्रकाशनमा हुने निरन्तरताको अभाव र त्यसका कारणहरु, त्रिविमा पीएचडी गर्ने प्रक्रियासहित पीएचडी गर्दाका अनुभव, त्रिविमा एमए समाजशास्त्र, त्रिवि, पूर्वाञ्चल विश्वविद्यालय, काठमाडौं विश्वविद्यालयमा स्वास्थ विज्ञानको स्नातकमा समाजशास्त्रको अध्यापन, कानुन संकायभित्र समाजशास्त्र पढाउँदाका अनुभवहरु किताबमा पढ्न पाइन्छ ।

किताबको परिचय निक्कै रोचक छ, नेपालको समाजशास्त्रमा नेपाली वा भारतीय समाजशास्त्रीका कृति वा समाजशास्त्रीय रुपमा गैरसमाजशास्त्रीले लेखेका कृतिभन्दा बढी पश्चिमा लेखकहरुका कृतिले ठाउँ पाएको विषयमा सम्पादकहरुले आलोचनात्मक समीक्षा गरेका छन् ।

परिचय खण्डमा उठेका सवाल, त्रिवि समाजशास्त्रमा पश्चिमा लेखकका कृतिहरुले स्थान पाएको सवाललाई त्रिवि समाजशास्त्र विभागका वर्तमान प्रमुख युवराज लुइँटेलले आफ्नो लेखमा केही हदसम्म सम्बोधन गरेका छन् । त्यसैगरी प्राध्यापक लुइँटेलको केन्द्रीय विषयवस्तु त्रिविमा समाजशास्त्र/मानवशास्त्र विभाग किन फुट्यो त भन्ने सन्दर्भ रहेको छ । जहाँ, नेपालमा अघोषित र घोषित रुपमा समाजशास्त्र विषयको अध्ययन अनुसन्धान (विश्वविद्यालयमा पढाउन भन्दा अगाडि नै समाजशास्त्रको प्रयोग सरकारले आफ्ना नीति, योजना र कार्यक्रममा राख्दै हटाउँदै गरिरहेको थियो) र विश्वविद्यालयभित्रको प्राज्ञिक अभ्यासका क्रममा भएका गैरसमाजशास्त्रीय अभ्यासमा केन्द्रित रहेको छ । गैरसमाजशास्त्रीय विषयवस्तुको उत्पादन, पठनपाठन र कार्यक्षेत्रमा हुने लुइँटेलको भाषामा ‘गलत’ अभ्यासबाट मुक्तिका उकाली ओराली उनको लेखमा पढ्न पाइन्छ ।

त्यस्तै अध्येता प्रत्युष वन्तको लेख समाजशास्त्र÷मानवशास्त्र विषयका जर्नल प्रकाशनका उकालीओरालीमा केन्द्रित छ । जर्नलमा किन लेख्ने, जर्नल किन प्रकाशित गर्ने ?, त्यसको प्राज्ञिक राजनीतिक मूल्यका वरिपरि उनको लेख घुम्छ । समाजशास्त्र मानवशास्त्रमा प्राज्ञिक भविष्य बनाउन चाहनेका लागि यो एक प्रकारको सहयोग गर्ने लेख छ ।

त्यसैगरी त्रिवि समाजशास्त्र विभागका निवर्तमान प्रमुख टीकाराम गौतमले त्रिविमा पीएचडी गर्ने क्रममा आफूले गरेको मेहनतलाई जोडेका छन् । टीकाराम गौतमको लेखले त्रिविमा पीएचडी गर्न चाहनेहरुका लागि प्रक्रिया बताउँछ र साथसाथै चैतन्य मिश्र जस्ता कडा प्राध्यापकलाई गुरु थापेर पीएचडी गर्दा पाउने दुःख र खारिने ज्ञानको बारेमा बताउँछ । लेख पढ्दा थाहा हुन्छ उनले पीएचडीको साथसाथै गुणात्मक अनुसन्धान विधि सिक्नका लागि उनले गरेको बौद्धिक लगानी ।

समाजशास्त्रका प्राध्यापक तथा अनुसन्धाता लोकरञ्जन पराजुलीले त्रिवि समाजशास्त्र केन्द्रीय विभागको पठनपाठनलाई केन्द्रमा राखेर लेख तयार गरेका छन् । नेपाली भाषाको पढाइको पृष्ठभूमिका विद्यार्थीहरु, अंग्रेजी भाषाको भारी, गह्रौँ पाठ्यक्रम, पठनपाठनको माध्यम भाषा, नेपालीमा अनुवाद भएका किताबको अभाव र बजारमा पाइने कमसल किताबका बीचबाट गुज्रिरहेका विद्यार्थीको विषयमा चिन्तायुक्त चासो उनको लेखभरि पाउन सकिन्छ ।

शिक्षक तथा अनुसन्धानकर्मीद्वय देवेन्द्र उप्रेती र ओबिन्द्रबहादुर चन्दले चिकित्सा विज्ञानभित्र समाजशास्त्र/मानवशास्त्र विषयको समावेशिता (लेखकको भाषामा समाजशास्त्र/मानवशास्त्र विषय चिकित्सा विज्ञानको पढाइमा सीमान्त विषय हो)को वरिपरि घुमेको छ । लेखकहरु आफै उक्त विषय पढाइरहेको सन्दर्भसहितको लेख रोचक छ । साथसाथै यो लेखले पाठकलाई त्रिविबाट बाहिर निकालेर पूर्वाञ्चल र काठमाडौं विश्वविद्यालयको सानो दर्शन गराउँछ । जहाँ चिकित्सा विज्ञानभित्र समाजशास्त्र विषयका पाठ्यक्रम निर्माण, शिक्षक छनौट प्रक्रिया र विद्यार्थीको “नोटमा आधारित” पढाइका विषयसँग साक्षात्कार गराउँछ ।

अन्तिमको लेख सम्पादकद्वयको पूर्वाञ्चल विश्वविद्यालयको काठमाडौं स्कुल अफ ल मा पढाउँदाका अनुभवहरुमा केन्द्रित छ । जहाँ कानुन र समाजशास्त्र विषय कसरी जोडिएको छ भन्नेदेखि उक्त शिक्षालयका प्राध्यापकले कानुनको क्षेत्रलाई आलोचनात्मक बनाउन गरेका पहल, कानुनमा बढ्दो महिला विद्यार्थीको संख्या, कानुनका प्राध्यापक र समाजशास्त्रका प्राध्यापकहरुको हुलियादेखि सीमान्त समुदायका विषयलाई कसरी दैनिक पठनपाठनको हिस्सा बनाउनेसम्मका कुरा समेटिएका छन् ।

लेखहरु निरन्तर प्राज्ञिक कर्ममा संलग्न व्यक्तिहरुद्धारा लेखिएका हुँदा रोचक त छन् नै त्यसमाथि मिहीन रुपमा लेखिएका छन् । तर समग्रमा किताबको कुरा गर्ने हो भने, यो नेपालमा समाजशास्त्रीय अभ्यासको एक अपुरो व्याख्या हो । यो अपुरो व्याख्या हो भन्ने मेरा दुई तर्क छन् । पहिलो त, किताबका पाना पल्टाउनासाथ मनै चसक्क हुने विषय हो, लेखकहरुको छनौटः त्रिवि समाजशास्त्र विभागका दुई विभागीय प्रमुख (निवर्तमान र वर्तमान) र मार्टिन चौतारीसँग जोडिएका लेखकहरु । जो जातगत रुपमा हेर्दा उच्चजातका र लैंगिक रुपमा हेर्दा पुरुषमात्रै छन् । यसो किन भएको होला भन्ने कुरामा आफ्नो दायराबाट सम्पादकहरु बाहिर निस्कन चाहेको देखिन्न भन्ने एउटा कुरा हो । दायराबाट ननिस्की प्राज्ञिक भनेर गरिने काम पनि फेरि गफै त हो ।

होइन भने, समावेशिताको बहस चलिरहेको वर्तमान समयमा समावेशिताका विषयमा नै आफ्नो प्राज्ञिक जीवन बिताएका दुई लेखक प्रत्युष वन्त र युवराज लुइँटेलले यो किताब असमावेशी भयो भनिदिएका मात्रै भए पनि अलि फरक आउँदो हो भन्न सकिन्छ । यो किताबले केही साथी र गुरुहरुका गफबाहेक समाजशास्त्र विभागमा वर्षांै पढाएका महिला प्राध्यापक किन गुमनाम हुन्छन्, ‘सुशीला विभाग’ भनिने समाजशास्त्रका महिला विद्यार्थीले समाजशास्त्रका क्षेत्रमा गरेका योगदानको मूल्यांकन, केन्द्रीय विभागमा जहिले पनि प्राध्यापक थप गर्दा सीमान्त समुदायका मानिसले ठाउँ नपाउनुका कारणले स्थान पाएका छैनन् ।

दोस्रो, समाजशास्त्रका चार क्षेत्र, (प्राज्ञिक, सार्वजानिक, नीतिगत र आलोचनात्मक) मध्ये यो किताब प्राज्ञिकभन्दा बाहिर जान सकेको छैन । जसले विश्वविद्यालमा पढ्ने, पढाउने र जर्नलमा लेख वा किताब लेख्ने कामबाहेक समाजलाई सार्वजानिक सवालमा अगाडि लैजान बहस गर्ने, आन्दोलन गर्ने र नीतिनियम निर्माणका काम गर्ने समाजशास्त्रीहरुका कामलाई कम आकलन गरेको वा आकलन नै नगरेको देखाउँछ ।

अन्त्यमा, किताबको नामले नेपालमा सामाजशास्त्रको अभ्यास बताए पनि गुदीमा गएर हेर्दा समाजशास्त्र/मानवशास्त्र संयुक्त विषयकै कुरा बढी छ । साथै शिक्षक नियुक्तिको प्रक्रिया, कक्षामा प्रयोग गरिने भाषाको प्रयोग, जर्नल प्रकाशनका सन्दर्भले केही हदसम्म नेपालको समग्र प्राज्ञिक अवस्थाको पनि सानो झलक पनि पाइन्छ । र, यसको महत्वपूर्ण योगदान भनेको त्रिविको समाजशास्त्र(मानवशास्त्रको पनि) विषयको प्राज्ञिक अभ्यासको बारेमा चासो राख्नेहरुलाई केही राहत भने दिन्छ ।

प्रकाशित : जेष्ठ ५, २०७८ ११:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?