कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

पृथाको कथामा ‘विवर्तन’

काठमाडौँ — टेकनाथ दहालद्वारा लिखित उपन्यास ‘विवर्तन’ शनिबार काठमाडौंमा विमोचन भएको छ । महाभारतकी पृथा (कुन्ती) लाई मुख्य पात्र बनाएर लेखिएको उपन्यास कवि विष्णुविभु घिमिरे, समालोचक डा. लक्ष्मणप्रसाद गौतम, डा. ज्ञानू पाण्डे र लेखक दहालले विमोचन गरेका हुन् ।

पृथाको कथामा ‘विवर्तन’

पुस्तकमाथि बोल्दै डा. गौतमले महाभारत विशाल सागर भएकाले यसबाट जति पनि उपकथा झिक्न मिल्ने बताए । ‘विवर्तन उपन्यासमा महाभारतमा नभनिएका सूक्ष्म घटनासमेत रोचक शैलीमा भनिएको छ,’ गौतमले भने, ‘महाभारतको सामान्य ज्ञान भएका पाठकलाई विवर्तनले आकर्षित गर्नेछ ।’ लेखकले महाभारतको कथालाई विपठन र पुनर्पठन गरेको उनको भनाइ थियो ।

समालोचक पाण्डेले महिलाको सत्व महिलामै निहीत रहेको कुरा उपन्यासले उठाएको बताइन् । ‘महिला भोग्ने विषय भनेर गरिएको सामाजिक परिभाषाको विपक्षमा यो उपन्यास उभिएको छ,’ उनले भनिन्, ‘महाभारतकी कुन्तीको कथालाई आजको युगीन शैलीमा भन्न लेखक सफल छन् ।’ उपन्यासमा यौनदेखि अध्यात्मसम्म अटेको भन्दै उनले विषय विविधताका रुपमा पनि अध्ययन गर्न सकिने उनले बताइन् । ‘यौन मनोवैज्ञानिक, समाज यथार्थवादी, पर्यावरण, सांस्कृतिक र नारीवादी कोणबाट पनि उपन्यासलाई बृहत् आयाममा अध्ययन गर्न सकिन्छ,’ उनले भनिन् । नारीको प्राकृतिक अधिकारको पक्षमा रहेको भन्दै उनले लेखकको प्रशंसा गरिन् ।

प्रमुख अतिथि कवि घिमिरेले वर्षको सुरुमै पठनीय उपन्यास प्रकाशन भएको भन्दै लेखकको कल्पनाशीलताको चर्चा गरे । उपन्यासको कथा सहज रुपमा बगेको र यसका पात्र जीवन्त रुपमा आएको उनले बताए ।

लेखक दहालले २०६४ सालमै उपन्यासको खाका तयार पारेको भन्दै पाण्डु र पृथा पात्र खडा गर्न निकै कठिन भएको खुलाए । वाल्मिकी क्याम्पसका उपप्राध्यापक रहेका दहालको ‘विवर्तन’ पहिलो उपन्यास हो । उपन्यास ‘इन्डिगो इन्क’ले प्रकाशन गरेको हो ।

प्रकाशित : वैशाख ४, २०७८ १९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?