‘स्रष्टा परिचय पत्र’ दिने प्रज्ञा प्रतिष्ठानको घोषणा

काठमाडौँ — नेपाल प्रज्ञा प्रतिष्ठानले वैशाखबाट ‘स्रष्टा परिचय पत्र’ दिने घोषणा गरेको छ । प्रतिष्ठानले मंगलबार आयोजना गरेको ‘नयाँ वर्ष २०७८ को सांस्कृतिक महत्त्व विषयक प्रवचन तथा स्रष्टा भेटघाट’ समारोहमा घोषणा गरेको हो ।

‘स्रष्टा परिचय पत्र’ दिने प्रज्ञा प्रतिष्ठानको घोषणा

‘नेपालका वाङ्‌मयसेवीलाई परिचयपत्र दिने तयारीमा जुटेका छौं,’ नयाँ वर्षको कार्यक्रमबारे जानकारी दिँदै प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले भने, ‘राष्ट्रपतिज्यूको बाहुलीबाट परिचयपत्र वितरण आरम्भ गर्छौं ।’ स्रष्टा परिचयपत्र कार्यविधि निर्माण भएको जनाइएको छ । प्रतिष्ठानले प्रकाशित गरेको ‘साहित्यकार–कलाकार परिचय कोष’मा करिब पाँच हजार स्रष्टा समेटिएका छन् ।

सदस्यसचिव प्रा. जगतप्रसाद उपाध्यायका अनुसार ‘लेखक/साहित्यकार परिचय–पत्र’ नामाकरण गरिएको छ । परिचयपत्रमा स्रष्टाको नाम/उपनाम, नागरिकता नम्बर, जिल्ला, जन्म मिति, विषय क्षेत्र, विधा खुलाइने छ । ‘कुनै पनि स्रष्टालाई श्रेणीकरण गरिने छैन,’ कार्यविधिबारे उपाध्यायले भने, ‘परिचय–पत्र पाउनका निम्ति सम्बन्धित लेखकले प्रतिष्ठानमा आफ्नो कृति बुझाउनु पर्नेछ ।’

प्रतिष्ठानले महाकवि लक्ष्मीप्रसाद देवकोटाको घरलाई संग्रहालय निर्माण गर्ने प्रक्रिया अघि बढाएको छ । काठमाडौंको मैतीदेवीस्थित १२ आना क्षेत्रफलमा रहेको घर तथा जग्गामा उक्त संग्रहालय निर्माणका निम्ति टेण्डर आह्वान गरेको कुलपति उप्रेतीले जनाएका छन् । ‘सकेसम्म अत्याधुनिक संग्रहालय बनाउने छौं,’ उनले भने ।

विक्रम संवत्को महत्व र नेपालमा चलेका संवत्बारे प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङ र इतिहासविद् प्राज्ञ दिनेशराज पन्तले बोलेका थिए । ‘नयाँ वर्षमा नयाँ किताब पढौं’ नारासहित आयोजना गरिएको समारोहमा प्रतिष्ठानको प्रकाशन ‘प्रज्ञा’, ‘सयपत्री’ र ‘बालप्रज्ञा’ को नयाँ अंक सार्वजनिक गरिएको थियो ।

प्रकाशित : चैत्र ३१, २०७७ २०:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?