अथक साधकको अवसान

तेजप्रकाश श्रेष्ठ

नेपाल–रुस साहित्य तथा संस्कृतिका सेतु कृष्णप्रकाश श्रेष्ठले विश्रान्ति लिएको पाँचौँ दिनमा उनको कर्मभूमि रुसको राजधानी मस्कोको दक्षिण पश्चिममा रहेको खाभान्सकी शवदाहन केन्द्रसमेत स्तब्ध थियो । के भयो यस्तो ?

अथक साधकको अवसान

केही दिनअघिसम्म हँसिलो अनुहारमा उत्साहित ८२ वर्षीय तन्नेरीको जाँगर विश्वभरि फैलिएको थियो, जुम कार्यक्रममार्फत् । साहित्य र संस्कृति उनको धर्म हो, उनको कर्म हो । भर्खर दुई राजधानीः मस्को र काठमाडौं, द्विभाषिक पुस्तक प्रकाशित भएको थियो । अनुवाद, लेखन र कार्यक्रममा आफूलाई होम्न पाउँदा प्रफुल्लित देखिन्थे । हामीलाई पनि उत्साहित तुल्याइरहेका थिए जीवनमा केही गर्नुपर्छ भन्दै । अपर्झट उनी ओझेल परे जुम पर्दाबाट । फोन, मेसेन्जर गतिशील भएनन् । अरोटपरोट ठप्प भयो । अत्तालियो हाम्रो मन ।

तुरुन्त सम्पर्क गरेँ भियनामा बसेकी उनकी जेठी छोरी जान्ना (मेरी स्नेही भतिजी) लाई । हुन त, मस्कोमै बस्ने उनकी कान्छी छोरी (मेरी स्नेही भतिजी) मारिनालाई फोन गर्दा अझ छिटो हुन्थ्यो खबर पाउन । तर म रूसी भाषा नजान्ने । उनी नेपाली नबुझ्ने । अङ्ग्रेजी पनि कमै बुझ्ने । त्यसैले जान्नालाई फोन गरेँ ।

कृष्ण दाइ त अस्पतालमा भर्ना भइसकेका रहेछन् सिकिस्त बिरामी भएर । छक्कै परेँ म अनि हामी पूरा परिवार । पछि जान्नाले खबर गरिन्, 'पापा स्मार्ट फोन प्रयोग गर्न सक्नुहुन्न । मेसेन्जर पनि चलाउन सक्नुहुन्न । बल्लतल्ल मसँग दुई मिनेट फोनमा कुरा भयो । उहाँलाई अक्सिजन दिइएको छ । साह्रै कमजोर हुनुहन्छ । भोलि एघार बजेसम्म डाक्टरलाई पर्खनुपरेको छ । अनि मात्र के भएको हो थाहा हुन्छ ।’ झन् आत्तियो हाम्रो मन । कृष्ण दाइसँग फोनसम्पर्क ठ्याम्मै हुन सकेन । पछि जान्नाका श्रीमान् श्याम ज्वाँइसँग सम्पर्क राख्न थाल्यौँ ।

दाइलाई कोरोनाले छोएर गएछ । कोरोना त निको भयो तर उनको पुरानो मुटुसम्बन्धी बेथा बल्झिएछ । अनि त दाइको अवस्था दिनपर दिन नाजुक बन्दै गएको जानकारी पाउन थाल्यौँ । केही दिनमै कोमामा पुग्नुभएछ । २६ मार्चमा श्याम ज्वाँइले खबर गर्नुभयो, ‘कृष्णजीलाई केही समय कोमाबाट झिकेर आफ्नै फोक्सोद्वारा सास लिने अभ्यास गराएको थियो । तर त्यो त्यति सफल नदेखिएर पुनः कोमामा राख्यो । अब अर्को समाचार सोमबार मात्रै आउला ।’

हामी पनि शुभ खबर आउने आसमा सोमबार पर्खेर बस्यौँ । शनिबार र आइतबार बिदा हुने हुँदा विशेषज्ञ डाक्टर अस्पताल आउँदा रहेनछन् । त्यसैले सोमबार पर्खनुपर्दो रहेछ । तर सोमबारको दुखद् खबरले हामी सन्न भयौँ । टुहुरा भयाैँ, नितान्त टुहुरा । ज्वाइँ श्यामले फेसबुकमा ‘साहित्यकार कृष्णप्रकाश श्रेष्ठको निधन’ शीर्षकमा जीवनी र योगदानसहितको लामै समाचार पोष्ट गरे । यसबाट शुभचिन्तकहरूमा शोकको लहर फैलियो ।

भतिजी जान्ना ४ दिनपछि मात्र मस्को पुग्न सकिन् । भतिजी मारिनाले एक्लै ती दुखद क्षणहरू सहिन्, सहनुपर्‍यो । दाइ दिवंगत भएको पाँचौँ दिनमा बल्ल उनीहरूले पापाको अन्तिमपल्ट झुलुक्क अनुहार हेर्न पाए । हामी यतै छट्पटाइरह्यौँ ।

त्यसै दिन अन्त्येष्टि क्रिया सुरु भयो । विश्व नेपाली साहित्य महासंघ, रुस शाखा, गैर आवासीय नेपाली संघ, रुसका पदापधकारीहरूको उपस्थितिसमेतमा उनका स्नेही दुई छोरीहरू जान्ना र मारिनाले बाकसमा राखिएको आफ्ना पूजनीय पिताको पार्थिव शरीरमा फूल गुच्छा चढाउँदै दागबत्ती स्वरूप दियो प्रज्वलन गरिँदा पार्श्वभागमा संस्कृत श्लोक गुन्जियो । त्यसैबेला हामी उनको जन्मथलो थानकोटमा हलिः नेवाः गुथिमा श्रद्धाञ्जली सभाको आयोजना गरिरहेका थियौँ ।

सोही दिन माननीय नेपाली राजदूत खिमानन्द भुसालको उपस्थितिमा तिब्बती लामा डिग खाम्बो दाशिनिभाले बुद्ध मन्त्र उच्चारण गरी नेपाली दूतावास मस्कोमा सुरु गरिएको श्रद्धाञ्जली सभामा मस्कोमा वरिष्ठ लेखक, कवि, समालोचक, अनुवादक, संस्कृतिविद्, बहूमुखी प्रतिभाका धनी ८२ वर्षीय अथक स्रष्टा स्व. कृष्णप्रकाश श्रेष्ठको नेपाली भाषा साहित्य र संस्कृतिको विकास र प्रवर्द्धनमा अतुलनीय योगदानको उच्च कदर गर्दै उनले थालेका अधुरा कामहरू सम्पन्न गर्ने प्रतिवद्धता जनाइएको जानकारी पायौँ । त्यसैबेला थानकोटमा हलिः नेवाः गुथिले उनको योगदानको कदर गर्दै चिरस्थायी स्मृतिका लागि अक्षयकोषको शुभारम्भ गरिँदै थियो । अक्षयकोषको ब्याजबाट छात्रवृत्ति, पुरस्कार– सम्मान वा उनका अप्रकाशित कृतिहरू क्रमशः प्रकाशित गर्दै जाने उद्देश्य राखिनु सुखद अनुभूति रह्यो ।

हाम्रा प्रातःस्मरणीय जेठा दाइ कृष्णप्रकाश श्रेष्ठको जन्मथलो र कर्मथलो दुवैतर्फ उनको इच्छा आकांक्षा र अधुरा रहेका कामहरू पूर्ण गर्ने प्रतिवद्धता जनाइनु कम गौरवको कुरा होइन । उनको योगदानको कदरस्वरूप गरिएको प्रतिवद्धताअनुरूप कार्यान्वयन गर्न सकेमा अझ उच्च मूल्यांकन हुनेछ ।

यी पनि पढ्नुहोस् :

प्रकाशित : चैत्र २८, २०७७ १३:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?