अफगानी रणमैदानका कथा



काठमाडौँ — केदार सङ्केतको उपन्यास ‘अफगानी रणमैदान’ सार्वजनिक भएको छ । सङ्केतले ‘अफगानी रणमैदान’ मा आफ्नो जीवन संघर्ष र भोगाइमा आधारित कथा समावेश गरेका छन् ।


अफगानिस्तानको काबुलस्थित ५ सयभन्दा बढी सदस्यको बसोबास रहेको अमेरिकी क्याम्पमा सन् २०१३ जुन १ का दिन बिहानै सखारैमा तालिवानी समूहबाट भएको आक्रमणपछिको अवस्थाका बारेमा सङ्केतले आफूले देखेका–भोगेका प्रत्यक्ष–परोक्ष रणमैदानको दृष्यलाई बाहिर ल्याएका छन् ।
‘यो हाम्रो टिमले त्यसदिन गरेको लडाइँको कथा हो र, देखाएको बहादुरीको इतिहास पनि हो,’ उनी भन्छन्, ‘त्यति मात्रै होइन, यो त आफ्नो नैतिकता, इमान्दारिता, दक्षता, साहस र निपुणतामा घुलित ९ घण्टासम्मको लडाइँको त्रासद तर साहसपूर्ण परिवेशलाई आधार बनाएर तयार पारिएको सत्य कथा पनि हो ।’
अफगानी रणमैदानको कथा उतार्ने क्रममा यसको वास्तविक दृष्यचित्र देखाउन केही तस्बिरसमेत कथामा प्रयोग भएको छ ।
बेलायती सेनामा लामो समय आबद्ध रहेर हाल बेलायतमा अवकाशको जीवन बिताइरहेका केदार सुनुवार साहित्यिक रुपमा केदार संकेतको नामले चिनिन्छन् । उनका ‘आफैं जलेको देश’(कविता संग्रह), ‘एथेन्सको झरी’(नियात्रा), ‘पैंयुका फूलहरु’(हाइकू संग्रह), ‘अफिम फूल्ने देशमा’ लगायतका कृति प्रकाशित छन् ।
प्रकाशित : चैत्र २६, २०७७ ११:५७