किताब र प्रदर्शनीमा ९ वर्षीया आश्रितीका चित्र- साहित्य/विविध - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

किताब र प्रदर्शनीमा ९ वर्षीया आश्रितीका चित्र

कान्तिपुर संवाददाता

काठमाडौँ — बालचित्रकार आश्रिती श्रेष्ठ र समिर कोजूको बालचित्र किताब सार्वजनिक भएको छ । आश्रितीका चित्र र समिर कोजूको कथामा तयार भएको किताब ‘करण र कार्टुन’को शनिबार नेपाल कला परिषद्‌मा आयोजित एक कार्यक्रममा विमोचन गरिएको हो  ।

वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशी, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्य लगायतले किताबको विमोचन गरेका हुन् । कार्यक्रममा बाल समीक्षक सोइना दाहालले किताबको समीक्षा प्रस्तुत गरेकी थिइन् । किताबमार्फत बालबालिकामा हुने प्रविधि लतलाई कलात्मक रुपमा प्रस्तुत गरिएको उनले बताइन् ।

कार्यक्रममा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्यले 'बालसाहित्यकार पनि सानो उमेरको चित्रकार पनि सानो उमेरको भएपनि समसामयिक कुरालाई प्रकाशमा ल्याएको' बताए । वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीले कला–संस्कृतिको प्रवर्द्धन गरे मात्रै देश समृद्ध हुने मन्तव्य राखेका थिए ।

यसका साथै आश्रितीका चित्रहरुको एकदिवसीय प्रदर्शनी गरिएको छ । दुई वर्षको उमेरदेखि उनले कोरेका चित्रहरु प्रदर्शनीमा राखिएको छ ।

नौ वर्षीया आश्रिती काठमाडौंको महाराजगन्जस्थित मेरिडियन स्कुलमा कक्षा ३ मा अध्ययनरत छन् । 'करण र कार्टुन' चित्रकथालाई बालासाहित्य प्रतिष्ठान नेपालले प्रकाशन गरेको हो । आश्रिती सबैभन्दा कम उमेरमा पुस्तक प्रकाशन गर्ने बालकलाकार भएको प्रकाशकको दाबी छ ।

प्रकाशित : चैत्र २१, २०७७ १४:४१
प्रतिक्रिया
पठाउनुहोस्

प्रयोगमै आएन पीसीआर मेसिन

एक करोड खर्चमा जडान गरिएको मेसिन सञ्चालन नहुँदा प्राविधिक कर्मचारी पनि हटाइयो
लक्ष्मी साह

बारा — कलैया उपमहानगरपालिकासहित जिल्लाका आधा दर्जन स्थानीय तहको आर्थिक लगानीमा पाँच महिनाअघि खरिद गरिएको पीसीआर मेसिन प्रयोगविहीन बनेको छ । मेसिनको ८५ लाख, जेनेरेटर र कम्प्युटरसहित १ करोड खर्चमा उपमहानगरपालिकाले उक्त मेसिन खरिद गरी जडान गरेको थियो । एक पटकमा ९६ जनाको कोरोना परीक्षण गर्न सक्ने क्षमताको उक्त मेसिन जडान गरिए पनि सञ्चालन नहुँदा कोठाभित्र थन्क्याइएको छ ।

‘एक करोड खर्चेर मेसिन जडान भए पनि सञ्चालनमा नआउनु नागरिकको स्वास्थ्य अधिकारप्रतिको खेलबाड हो,’ मेसिन खरिदका लागि १२ लाख अनुदान सहयोग गरेका महागढीमाई नगरपालिकाका मेयर उपेन्द्रप्रसाद यादवले भने, ‘सञ्चालन गर्न असक्षम भए हामीलाई जिम्मेवारी दिए चलाउँछौं ।’ संघीय र प्रदेश सरकारले कोराना जाँचका लागि अनुमति नदिँदा मेसिनबाट कोरोना परीक्षण गर्न नसकिएको कलैया उपमहानगरका मेयर राजेशराय यादव बताउँछन् । ‘अनुमतिका लागि दुवै सरकारसम्म धाएँ,’ उनले भने, ‘सञ्चालनमा नआएपछि कर्मचारी पनि हटाइएको छ ।’

कोरोना जाँचका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुबाट सञ्चालन स्वीकृति नलिँदै मेसिन खरिद गरिएको थियो । मेसिन खरिदपछि ११ जना प्राविधिक र कर्मचारीसमेत उपमहानगरले नियुक्त गरेको थियो । मेसिन सञ्चालनका लागि जिल्ला प्रशासन कार्यालयले माथिल्लो निकायमा पत्राचार गरे पनि कुनै अनुमति नआएको कलैया उपमहानगरअन्तर्गतका जनस्वास्थ्य निरीक्षक अजय जयसवालले बताए । ‘मेसिन खरिद त भयो, तर कोठामा मात्र सीमित भयो,’ उनले भने, ‘अहिले कोरोनाको त्रास बढेकाले मेसिन सञ्चालनमा ल्याउनु जरुरी छ ।’

जिल्लामा कोराना संक्रमणबाट ३० भन्दा बढीको मृत्यु भइसकेको छ । भारतीय सीमासित जोडिएको यस क्षेत्रमा जोखिम रहे पनि मेसिन सञ्चालनका लागि जिल्ला स्वास्थ्य कार्यालय र कलैया जिल्ला अस्पतालले जिम्मेवारी नदिएको स्वास्थ्य कार्यालय प्रमुख रामनरेश यादवले बताए ।

प्रकाशित : चैत्र २१, २०७७ १४:२४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×