होम कार्कीको ‘सनैया’ सार्वजनिक- साहित्य/विविध - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

होम कार्कीको ‘सनैया’ सार्वजनिक

कान्तिपुर संवाददाता

काठमाडौँ — पत्रकार होम कार्कीले लेखेको पुस्तक ‘सनैया’ सोमबार सार्वजनिक भएको छ । पुस्तकको प्रकाशक किताब पब्लिसर्सले यसमा खाडी मुलुकमा सुन्दर जीवनको खोजी गर्न जाने नेपाली युवाहरुकाे कथा पुस्तकमा समेटिएको जनाएको छ ।

‘जुन दिन म अप्ठ्यारोमा परेका कामदारहरुलाई भेटेर फर्कन्थें, त्यो रात मेरो निद्रा भाग्थ्यो । फिटिक्कै निदाउन सक्दिनथें । ती झझल्कोहरुलाई ल्यापटपमा उतारेपछि मात्रै मलाई शान्ति मिल्थ्यो,’ लेखक कार्की भन्छन्, ‘यो किताब त्यसैको परिणाम हो ।’

पुस्तकमा वैदेशिक रोजगारीका नाममा चलिरहेको आप्रवासी मजदुरहरुको उत्पीडन र सङ्घर्षको चक्रलाई भिन्नभिन्न पात्र र भिन्न–भिन्न कथाका माध्यमबाट चित्रण गर्ने प्रयास गरिएको प्रकाशकले जनाएको छ ।

एक दशकदेखि वैदेशिक रोजगारीका बहुआयामिक पाटाहरुको रिपोर्टिङमा संलग्न कार्की कान्तिपुर दैनिकमा कार्यरत छन् । यो पुस्तक लेखनका लागि उनले खाडी क्षेत्रमा कार्यरत् ५ सय ४० जना नेपाली कामदारसँग कुराकानी र अन्तर्वार्ता गरेको प्रकाशकले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रकाशित : चैत्र १६, २०७७ १६:२९
प्रतिक्रिया
पठाउनुहोस्

चीनद्वारा ८ लाख डोज कोरोना खोप प्रधानमन्त्री ओलीलाई हस्तान्तरण 

कान्तिपुर संवाददाता

काठमाडौँ — चीनले कोरोना भाइरस विरुद्धको खोपको ८ लाख डोज प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार आयोजित कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत हउ यान्छीले नेपाललाई उपलब्ध गराएको खोपसम्बन्धि दस्ताबेज प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गरेकी हुन् । 

चीनले सहयोगस्वरुप दिएको ८ लाख डोज कोरोना खोप सोमबार मात्रै काठमाडौं आइपुगेको थियो ।

कोरोना खोप हस्तान्तरण कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाल र चीनबीचको मैत्री सम्बन्ध खोपको सहयोगले थप मजबुद बनाएको बताएका छन् ।

ओलीले भारत र चीन दुवै छिमेकी मुलुकबाट नेपाललाई खोपको सहयोग भएको बताएका थिए । त्यस्तै, थप कोरोना खोप खरिदका लागि सरकारले तयारी अगाडि बढाएको पनि जानकारी दिएका छन् ।

खोप हस्तान्तरण कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत हउ यान्छीले राष्ट्रपति सी चिनफिङको ‘भ्याक्सिनलाई विश्वव्यापी सार्वजनिक सम्पत्ति बनाउने प्रतिबद्धता'को कार्यान्वयन भएको बताएकी थिइन् । उनले नेपाल र चीनबीच जनताको स्वास्थ्यप्रतिको प्रतिबद्धताको प्रतिकसमेत खोप हस्तान्तरण कार्यक्रम रहेको धारणा राखेकी थिइन् ।

प्रकाशित : चैत्र १६, २०७७ १६:२५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×