कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

‘संरचनागत विभेदको सिकार मधेस’

जनकपुर साहित्य महोत्सव
सन्तोष सिंह

धनुषा — जनकपुर साहित्य महोत्सवमा शुक्रबार राजनीतिको भविष्य र भविष्यको राजनीतिबारे छलफल गर्दै विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्र र राजनीतिक विश्लेषक तुलानारायण साहले सरकारको नीतिका कारण मधेस, विकट क्षेत्र र समुदाय विभेदमा परेको औंल्याए । दुवै जनाले राजनीतिकर्मी समुदायगत स्वार्थमा हिँड्ने भएकाले मुलुकको सबै भू–भागको परस्पर विकास हुन नसकेको बताए ।

‘संरचनागत विभेदको सिकार मधेस’

राजनीतिक विश्लेषक साहले काठमाडौंमै राजनीति सिमित हुँदा मधेसको समस्या समधान हुन सकेको बताए । ‘मधेसीहरुले आफूलाई कांग्रेस, एमाले, माओवादी बुझेपनि ती दलका नेतृत्वकर्ताले मधेसीलाई मधेसी मात्रै बुझेको छ,’ उनले भने,‘मधेसकै व्यक्ति प्रधानमन्त्री भएपनि संविधान संशोधन हुनै सक्दैन । संशोधनका लागि दुई तिहाईको प्रावधानले त्यो सम्भव देखिँदैन ।’

युवा कञ्चन झाले 'मधेसको एजेन्डा अहिलेपनि संविधान संशोधन नै हो । त्यो अजेन्डामा तपाईंको दलको पोजिसन के हो ?' भनेर मिश्रलाई सोधेका थिए । मिश्रले संविधानमा रहेका प्रावधानअनुसार आफू संशोधनको पक्षमै रहेको बताए । ‘आन्दोलन, बन्द–हड्ताल वा गोली हानाहान गरेर संविधान संशोधन हुनुपर्छ भन्ने पक्षमा म छैन ।’

राजनीतिक विश्लेषक साहले नेपालमा लोकतन्त्र र राष्ट्रवादीले अन्य मुद्दा छाडेर काठमाडौंमा सुशासनको गीत गाएर मधेसीको धोती फुस्काउन नमिल्ने बताए । राज्यले कर उठाउने कार्यालय मधेसमा राख्ने र कर्मचारी भर्ना गर्ने कार्यालय पहाडमा राखेर संरचनागत विभेद गरेको उनले बताए । ‘नेपालमा राजनीति गर्ने चार धार छन,’ साहले भने,‘ पहिचान र समावेशी, विकासवादी, लोकतन्त्रको दुहाई दिने र राष्ट्रवादीलाई प्रमुखता दिने चार राजनीति गर्ने दलको शासन गर्ने चार तरिका रहेको छन् । जनकपुर प्रतिरोधको राजनीतिको सन्देश दिन्छ ।’

मिश्रले तराई–मधेसलाई राजनीतिको केन्द्रमा नराखेसम्म नेपालको राजनीति कहिल्यै स्थिर हुन नसक्ने बताए । ‘काठमाडौंले जनकपुरलाई हेर्ने दृष्टिकोण विभेद भयो भने मुलुकको विकास हुँदैन,’ मिश्रले भने, ‘आन्दोलनमा मधेसीलाई ताकेर छाती र टाउकोमा गोली ठोक्नेलाई के भन्ने ? मधेस भावनमा पीडा छ । अधिकारको चेत छ । सम्मानको खोजी छ ।’

मधेसको भावनालाई सम्बोधन नभए मुलुकको राजनीति अस्थिरतातर्फ धकेलिने उनले बताए । उनले राजनीतिसँगै समाजमा पनि भ्रष्टाचारको संस्कार बढेको बताए । संघर्षको परिणाम स्वरुप प्राप्त भएको स्थनमा आसा गर्ने स्थान रहेको उल्लेख गर्दै हिमाल, पहाड, तराईमा सिमना नभएपनि मनमा गडेको सिमा कहिल्यै नमेटिने मिश्रले बताए ।

जनकपुर साहित्य महोत्सवको तेश्रो दिनको पहिलो सत्रमा ‘मैथिल मिठास’ शीर्षकमा करुणा झा, परमेश्वर कापडी, डा.कुलप्रसाद कोइरालासँग बद्रिनाथ झाले बहस गरेका थिए । दोस्रो सत्र ‘मेरो नगरको कथा’ विषयमा जनकपुरधाम उपमहानगरकी उपप्रमुख रीता कुमारी मिश्र, पूर्वमेयर बजरंगप्रसाद साह र वृषेशचन्द्र लालसँग पत्रकार अजित तिवारीले बहस गरेका थिए । शुक्रबार साँझका दुई सत्र वैदेहीरु र साहित्य र व्यंग्यमा बुद्धिसागर, विप्लव प्रतीक र लेनिन बन्जाडेले बहस गरेका थिए ।

प्रकाशित : फाल्गुन २१, २०७७ १८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?