१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

शासकलाई प्रश्न गर्ने कल्पनाका कविता

‘आफ्नो उमेरअनुसार कम्तीमा २–४ ठाउँ प्रेमका मादक कविता लेख्नुपर्ने हो कल्पनाले तर यस्तो लाग्छ, उनमा त बैंस पनि रिसकै चढेको छ ।’
दीपक परियार

पोखरा — गम्भीर स्वभाव । बिरलै देखिने मुस्कान । कवि कल्पना चिलुवाललाई अर्की कवि सरस्वती प्रतीक्षाले ‘रिसाहा कवि’ को उपमा दिइन् । कल्पनाको कवितासंग्रह ‘चुल्ठो’ को बुधबार पोखरामा परिचर्चा गर्दै कवि प्रतीक्षाले उनका कविता आक्रोश र विद्रोह बनेर पोखिएको बताइन् । 

शासकलाई प्रश्न गर्ने कल्पनाका कविता

‘कतै उपभोक्तावादी बजारसँग रिस, देशलाई यातनागृह बनाउने शासकहरूसँग रिस, हत्यारा न्यायाधीशहरूसँग रिस त कतै दलित र गैरदलितबीचको खाडलसँग रिस,’ प्रतीक्षाले भनिन्, ‘आफ्नो उमेरअनुसार कम्तीमा २–४ ठाउँ प्रेमका मादक कविता लेख्नुपर्ने हो कल्पनाले तर यस्तो लाग्छ, उनमा त बैंस पनि रिसकै चढेको छ ।’

कल्पनाका कवितालाई कुनै एउटा वादको फित्ताले मात्रै नाप्न खोजियो भने त्यो उनका कविताप्रति अन्याय हुन जाने प्रतीक्षालाई लाग्छ । ‘एउटा वाद होइन, थुप्रै वादका कोलाज भने कल्पनाका कवितामा भेटिन्छन्,’ प्रतीक्षा भन्छिन्, ‘कल्पनाका कवितामा कसैले एउटै वाद मात्रै देख्छ भने त्यो इन्द्रेणी एउटै रङले मात्रै बनेको भने जस्तै निरर्थक भनाइ हुन्छ ।’

प्रतीक्षाका अनुसार नारीवाददेखि प्रगतिवादसम्म, यथार्थवाददेखि अस्तित्ववादसम्म, मानवतावाददेखि माक्र्सवादसम्म सबै सबै रङले पोतिएका छन् कल्पनाका कविता । शीर्ष कविता ‘चुल्ठो’ मा परम्परागत चुल्ठोमा दासी बनाइएका नारीको मुक्तिको आवाज छ । थुप्रै कवितामा प्रबल नारीवादी स्वर सुन्न पाइन्छ । विद्यमान सरकार, शासक, शासन प्रणालीप्रति उनीभित्र यति जीवित तिक्तता छ कि त्यो तिक्तता उनका राजनीतिक कवितामा पढ्न पाइन्छ । उनको तिक्तता कतै आक्रोश र कतै विद्रोह बनेर पोखिएको छ ।

‘समसामयिक राजनीतिक परिवेशका विद्रूप चित्र हेर्नु छ भने कल्पनाका कविता हेर्दा हुन्छ,’ प्रतीक्षाले थपिन्, ‘उनको कविताको क्यानभासमा डोरम्याट बनाएर बिछयाइएका सर्वसाधारणको ऐठन छ । कम्युनिस्ट घोषणापत्रले आफ्ना खुट्टा पुछ्ने वामपन्थी नेताहरूको कुकृत्यको पर्दाफास छ । पूर्वछापामारको बेइज्जतीपत्र छ । हाम्रो समयको राजनीतिक स्खलनको दस्ताबेज हो चुल्ठो ।’

तर लेखनशैलीमा आफ्नो मौलिकपन नहुनु कल्पनाको सबैभन्दा ठूलो कमजोरी ठान्छिन् उनी । ‘आफैंभित्रको सुन्दर कविता नपढेका कारण जे कुरामा पनि विद्रूप देख्ने बानी उनलाई परेको हो कि भन्ने शंका गर्न सकिन्छ,’ उनले भनिन्, ‘मानवताका मुहारमा झल्कने प्रेम, करुणा र स्नेहलाई नरम भएर हेरिदिए कल्पनाका कविताको आयतन अझै बृहत्तर हुन सक्थ्यो कि †’

साहित्यकार डा. कृष्णराज अधिकारीले स्तरीय बनाउने नाममा जटिल विम्बको प्रयोग गर्नबाट कल्पनाका कविता मुक्त रहेको बताए । ‘कल्पनाका कविताको सबैभन्दा सबल पक्ष सरलता हो,’ पुस्तकको परिचर्चा गर्दै उनले भने, ‘कवितामा विद्रोह चेत अर्को शक्ति हो । शासकसँग आँखा जुधाएर प्रश्न गर्न सक्ने दुर्लभ कविता लेख्ने कवि हुन् कल्पना ।’

परिचर्चाकार सुमिनाले कल्पनाका कवितामा विशुद्ध वर्तमान समाजको दर्पण मात्रै नभएर परिवर्तनका लागि आवश्यक विचारहरू पनि भएको बताइन् । ‘उनका कविताले पाठकको मन र मस्तिष्कमा एक प्रकारको तहल्का मच्चाउँछन्, आँधीबेहरी सिर्जना गर्ने क्षमता राख्छन्,’ उनले भनिन्, ‘पाठकलाई कुण्ठा पढाएर तिक्ततातर्फ मात्रै धकेल्ने कविता छैनन्, बरु उमंग, ऊर्जा भर्दै सकारात्मकतातिर डोहोर्‍याउने कविता छन् ।’

पोखरालाई कर्मथलो बनाएकी कवि कल्पनाले कृतिमा आममानिससँग सरोकार राख्ने कविता संगृहीत गरेको बताइन् । ‘कवितामार्फत आममान्छेसँग जोडिन पाउँदा खुसी लागेको छ,’ उनले भनिन्, ‘लेख्ने कलम मेरो भए पनि कविताको श्रेय पोखरा र पोखरावासीप्रति जान्छ ।’ बेला पब्लिकेसन्सले बजारमा ल्याएको कृतिमा ५६ कविता छन् ।

प्रकाशित : फाल्गुन २०, २०७७ १२:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?