२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

सामाजिक सुधारका लागि लड्नैपर्छ : नोम चोम्स्की

इकान्तिपुर डेस्क

काठमाडौँ — अमेरिकी भाषाविद्, दार्शनिक, इतिहासकार, सामाजिक चिन्तक नोम चोम्स्कीले विश्वभर तानाशाही प्रवृत्ति हावी भएको भन्दै सामाजिक सुधारका लागि विभिन्न माध्यम र अभियानमार्फत लड्नैपर्ने बताएका छन् । 

सामाजिक सुधारका लागि लड्नैपर्छ : नोम चोम्स्की

शुक्रबारदेखि सुरु भएको जयपुर साहित्य उत्सवको तेस्रो दिन भारतीय पत्रकार श्रीनिवासन जैनसँगको अन्तरक्रिायमा चोम्स्कीले पछिल्लो समय विश्व राजनीतिमा कसरी सर्वसत्तावाद हावी भइरहेको छ भन्ने विषयमा चर्चा गरे । चोम्स्कीकै पुस्तक ‘हु ऱ्युल्स द वर्ल्ड’ बाट प्रेरित ‘वास्तवमा विश्वमा कसले शासन गरिरहेको छ ?’ शीर्षक रहेको उक्त अन्तरक्रियामा चोम्स्कीले सर्वसत्तावादतर्फ लम्किइरहेको विश्व राजनीति, ट्रम्पपछिको अमेरिका र सामाजिक सुधारका सम्भावनाबारे आफ्ना विचार प्रस्तुत गरेका थिए ।

केही महिनाअघि अमेरिकी संसद् भवनमा भएको आक्रमण कसरी अमेरिकाका लागि टर्निङ प्वाइन्ट बन्यो भन्नेबारेमा उनले आफ्नो मत व्यक्त गरे । डोनाल्ड ट्रम्प अहिले शक्तिमा नभए पनि ‘प्रोपोगान्डा’ कारण उनका समर्थक अहिले पनि उल्लेख्य संख्यामा भएको उल्लेख गर्दै चोम्स्कीले अमेरिकी प्रजातन्त्रका लागि चुनौती कायमै रहेको बताए । पछिल्ला केही दशमा ‘नवउदारवादी आक्रमण’ बढेका कारण विश्व राजनीतिमा तानाशाही प्रवृत्ति हावी भएको चोम्स्कीले बताए । पछिल्लो समय असमानता र सर्वसत्तावादलाई छुट्याएर हेर्न नसकिने पनि उनको भनाइ थियो । उनले अमेरिकी संस्था ऱ्यान्ड कोर्पोरेसनको एउटा अध्ययनलाई उदाहरण दिँदै पछिल्लो ४० वर्षमा ९० प्रतिशत जनसंख्याबाट १ प्रतिशत जनसंख्यामा ५० ट्रिलियन डलर ट्रान्सफर भएको बताए ।

अमेरिका, भारतलगायतका केही मुलुकमा पछिल्लो समय देखिएको कट्टरपन्थी बहुलवादले प्रजातन्त्रलाई कति खतरा छ भन्ने जैनको प्रश्नमा चोम्स्कीले भने, ‘यसमा कुनै जादुको छडी छैन । तपाईँले सधैँ लडेजस्तै प्रजातन्त्रका लागि पनि शैक्षिक कार्यक्रम, संगठन र अभियानमार्फत लड्नुपर्ने हुन्छ ।’

कट्टरपन्थी बहुलवादलाई परास्त गर्नका लागि वैचारिक दलभित्रका लोकप्रिय शक्तिले प्रगतिशील सामाजिक कारबाही गर्नुपर्ने पनि उनको विचार थियो । उनले यसमा अमेरिकी राष्ट्रपति जो बाइडेनले जलवायु परिवर्तनका क्षेत्रमा कसरी बाराक ओबामा प्रशासनले भन्दा पनि लोकप्रिय कार्यक्रम लागू गर्न खोज्दैछन् भन्दै उदाहरण प्रस्तुत गरेका थिए । बाइडेनका एजेन्डाले कसरी अभियानले सिधै प्रभाव पार्दछ भन्ने देखाएको पनि चोम्स्कीले बताए ।

‘समयक्रमसँगै कुनै राजीतिक वा सामाजिक आन्दोलनले काम गर्न सक्छ,’ भारतीय स्वतन्त्रता संग्रामको उदाहरण दिँदै उनले भने, ‘यसका लागि समर्पण र प्रतिबद्धता चाहिन्छ । यो आफै हुँदैन, सामाजिक कार्यक्रम र सुधारका लागि लड्नैपर्छ ।’ श्रमिक आन्दोलन, नागरिक अधिकार आन्दोलन(सिभिल राइट्स मुभमेन्ट) र महिला अधिकार आन्दोलनको उदाहरण दिँदै चोम्स्कीले एकताबद्ध र प्रतिबद्ध भई गरिने आन्दोलन सफल हुने बताए । ‘यहाँ आशावादी र निराशावादी हुनुपर्ने कुनै बिन्दु छैन । अहिले चुनौतीलाई सामना गर्दै अवसर लिने समय हो । समस्या समाधान गर्ने समय हो । यो गर्न सकिन्छ र आशावादले भन्छ : ल अब गरौँ ।’

जयपुर साहित्य उत्सवको चौधौं संस्करण कोरोना महामारीका कारण भर्चुअल रुपमा आयोजना भएको छ । हरेक वर्ष विश्वभरका चर्चित लेखक, विद्वान, मानवअधिकारकर्मी, राजनीतिज्ञ, व्यावसायिक नेतृत्व, खेलाडी, कलाकारलगायतका व्यक्तिको सहभागिता हुने गर्छ । यस वर्ष पनि जयपुर साहित्य उत्सवमा विभिन्न क्षेत्रका चर्चित व्यक्तिको सहभागिता रहेको छ । यो संस्करण फेब्रुअरी २८ सम्म चल्नेछ ।

प्रकाशित : फाल्गुन १०, २०७७ ११:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?