पदम गौतमको उपन्यास 'विश्रामपुर' सार्वजनिक - साहित्य/विविध - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पदम गौतमको उपन्यास 'विश्रामपुर' सार्वजनिक 

कान्तिपुर संवाददाता

काठमाडौँ — पदम गौतमद्वारा लिखित उपन्यास 'विश्रामपुर' बजारमा आएको छ । राजनीति हुँदै साहित्य र पत्रकारितामा लागेका पदम गौतमको पहिलो उपन्यास हो 'विश्रामपुर' ।

यसअघि उनका 'फूलको लासमाथि' र 'रगतको शयनकक्षमा' कविता संग्रह तथा 'एकलासको फूल' र 'घाम झुल्कनुअघि' गजल संग्रह प्रकाशित छन् ।

राजनीतिले लगातार चुसेको एक देहाती गाउँको कथा हो – 'विश्रामपुर' । उपन्यासका अधिकांश घटना कतै न कतै हरेक दुर्गम गाउँका कथासँग मिल्छन । आन्चालिक शब्द र स्वाद मिसाएर लेखिएको यो उपन्यासमा जनमत संग्रहदेखी यता झन्डै चार दशकको राजनीतिक, सामाजिक र आर्थिक चित्रण छ । राजनीतिले देखाएको सपना र सत्ताले गर्ने सपनाको हत्यापछी पिँधमा रहेका नागरिकले भोग्नुपर्ने भुक्तमानको दस्तावेजीकरण हो – 'विश्रामपुर' ।

उपन्यास लेखिनुको पृष्टभूमिका बारेमा लेखक भन्नुहुन्छ – 'यो उपन्यासको भावभूमि र मुख्य विषय तीन-चार दशकअघिका त्यहाँका मान्छेका सपनाको हत्या हो । मैले समाजका सपना र मेरा कल्पनालाई एकै ठाउँमा जोड्ने प्रयास गरें धेरै पटक । पात्र र गाउँ काल्पनिक भएपनि सपना उही हुन्, मान्छेका कथा उही हुन् ।'

सांग्रिला बुक्सले प्रकाशन गरेको 'विश्रामपुर' उपन्यास २७२ पृष्ठको छ र यसको मूल्य ४८४ रहेको छ ।

प्रकाशित : फाल्गुन ७, २०७७ १२:३३
प्रतिक्रिया
पठाउनुहोस्

अभावमा गुज्रेर सीमामा निगरानी

‘अस्थायी टेन्टमा जेनतेन ज्यान अटाउँथ्यो । स्थानीयबाटै भाँडाकुँडा जुटाएर खानपानको बन्दोबस्त गर्नुपर्थ्यो ।’
मनोज पौडेल

कपिलवस्तु — उनले बोरामा भात राखेको कहिल्यै देखेका थिएनन् । दाल कोकको बोतलमा पनि हालिन्छ भन्ने थाहा थिएन । तरकारी र अचार प्लास्टिकको झोलामा देख्दा उनी अचम्म पर्थे । ‘अझ गाडीले पोकापन्तुरामा ल्याएर छाडेको खानेकुराले छाक टार्नुपर्छ भनेर त कल्पना पनि गरेको थिइनँ,’ सशस्त्र प्रहरी बलका असई भक्तवीर चौधरीले भने । 

चौधरी कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि कपिलवस्तुको सीमा क्षेत्रमा खटिएका थिए । एक दिन होइन, दुई दिन होइन, चार महिनाभन्दा बढी समय बोरामा ल्याइएकै भात खाएर उनले ड्युटी गरे ।

कृष्णनगर बीओपी (बोर्डर आउटपोस्ट) आसपास २०/२२ ठाउँमा पाल गाडेर सीमामा चौबिसै घण्टा सुरक्षा खटाइएको थियो । जेठ–असारका बेला थियो । गर्मी उधुमै हुने । रोगको प्रकृति थाहा छैन । सर्वसाधारणदेखि जनप्रतिनिधिसम्म त्रासमा थिए । बजार बन्द थिए । भाँडाकुँडा र खाद्यान्न लगेर पकाउन सक्ने अवस्था थिएन । त्यसैले बोरा र बोतलमा ल्याइएका दालभात खानुपर्ने बाध्यता बनेको थियो । ‘धन्न कृष्णनगर बीओपीले दिनभरिजसो पकाउँदै गाडी पुर्‍याउँदै सुरक्षाकर्मीलाई खाना खुवाएको थियो,’ चौधरीले भने ।

चौधरीले फौजमा काम गरेको २१ वर्ष भयो । करिब ७ वर्ष सशस्त्र द्वन्द्वमा गुज्रियो । तर त्यति बेला यसपालिको साढे ४ महिनाजति गाह्रो उनलाई लागेको थिएन । ‘कहिले यो दिन जान्छ भन्दै बस्यौं,’ उनले सुनाए, ‘यसबाट पार पाउन पाए नयाँ जीवनको सुरुवात हुन्छ जस्तो लाग्थ्यो ।’

चौधरीले कोरोनाबारे हल्ला धेरै सुनेका थिए । तर यसबारे धेरै कुरा थाहा थिएन । कस्तो सतर्कता अपनाउने ज्ञान पर्याप्त थिएन । परै बस्नुपर्छ, मान्छे छुनु हुँदैन भन्ने मात्रै थाहा थियो । ‘हल्लैहल्ला र भनेको सुनेको भरमा सतर्कता अपनाउँदै बस्यौं,’ चौधरीले सुनाए, ‘भाइरस सर्छ भन्ने डरले मान्छे हिँडेका बाटोतिर गएनौं । खुट्टाबाट भाइरस भएर सर्छ भनेर नयाँ–नयाँ बाटो प्रयोग गर्थ्यौं ।’

मध्यविन्दु नगरपालिका–१५ पर्सौनी, नवलपुरका असई चौधरी सीमा सुरक्षाका लागि खटिएका बेला ३ ठाउँमा कमान्डर भएर बसे । कमान्डरले बढी संवेदनशील हुनुपर्थ्यो । आफूभन्दा आफ्ना साथीलाई बढी हेरविचार गर्नुपर्थ्यो । जनताका कुरा पनि सुन्नुपर्थ्यो । सीमा अलपत्र परेकाको व्यवस्थापन गर्नुपर्थ्यो । उता भारतीय समकक्षीसँग पनि ‘डिल’ गर्नुपर्थ्यो । ‘समस्या, अभाव र त्रासमै दिनरात बिताउनुपर्‍यो,’ चौधरीले भने ।

चौधरी सबैभन्दा बढी कृष्णनर नगरपालिका–३, लक्ष्मीनगरमा जेठ १३ देखि तीन महिना कमान्डर भएर बसे । उनको टोलीले सुरुमा दशगजाबाट १० मिटरमा नेपालतर्फ टेन्ट टाँगेको थियो । तीन पटक टेन्ट सार्दासार्दै उनी ५० मिटर वर आए । वर्षाको पानी निकास नहुँदा डुबान भएर टेन्ट सार्नुपरेको थियो । एउटा टेन्टमा ८ जना बस्नुपर्थ्यो । ‘राति टेन्टमा पानी पस्दा सबै बिस्तरा र लत्ताकपडा भिज्यो । बिस्तरा र कपडा दुई दिनसम्म नसुक्दा निक्कै गाह्रो भयो,’ चौधरीले भने, ‘त्यतिबेला कतै जाने ठाउँ थिएन, झरी थियो । अर्को टेन्ट र बिस्तरा ल्याउने अवस्था थिएन ।’

कृष्णनगर नेपालका १० प्रमुख भन्सार नाकामध्ये एक हो । तर कोरोना रोकथामका लागि चैतदेखि नै नाका बन्द गरिएको थियो । कृष्णनगर नजिकैको अनौपचारिक नाका हो लक्ष्मीनगर । चौधरी त्यहीं खटिएका थिए । लक्ष्मीनगरबाटै ब्रोड गेज रेलको लिक देखिन्छ । यो लिक भारतको राष्ट्रिय रेल नेटवर्कसँग जोडिएको छ । भारततिर पनि संक्रमण बढेपछि प्रवासी नेपाली घर फर्कन थाल्दा सीमा व्यवस्थापनमा सकस भयो । दैनिक सयौं प्रवासी नेपाली सीमामा आएर बस्न थाले । सुरुसुरुमा पस्नै नदिनु भन्ने केन्द्रको निर्देशन थियो । ‘कोरोना फैलिएला कि भनेर उनीहरूको नजिक जान पनि डर लाग्थ्यो । परैबाट अनुनयविनय गरेर उनीहरूलाई उतै बस्न भन्थ्यौं । पछि क्वारेन्टाइनमा राख्नु भन्ने निर्देशन आयो,’ चौधरीले सुनाए, ‘त्यसपछि सीमा कटाउँदै ल्याउँदै राख्न थालियो । त्यसपछि घर भएको पालिकामा पठाउने नीति आयो ।’

सीमा अनेक खाले मान्छेको भीड हुन्थ्यो । भीड व्यवस्थापन गर्नै हम्मे हुन्थ्यो । ‘हामी सदाशयता देखाएर सम्झाइबुझाइ गर्थ्यौं । हाम्रो कुरा नमानेपछि भारतीय एसएसबीलाई आग्रह गर्थ्यौं । उनीहरूले सिटी फुक्नासाथ भाग्थे,’ उनले भने ।

सीमा क्षेत्रमा ड्युटीमा खटिएका बेला घरबाट फोन आउँथ्यो । परिवारजनले चिन्ता व्यक्त गर्थे । आफ्नो दुःखकष्ट जेजस्तो भए पनि उनी सब ठीक छ भनेर जवाफ दिन्थे । चौधरीले कृष्णनगर नजिकैको चल्तीको नाका कुकुरभुकुवा र ठकुरापुर नाकामा पनि टेन्टमा बसेर सीमा निगरानीको ड्युटी गरे । ‘पछिपछि त टेन्ट नै राम्रो र सुरक्षित लाग्न थाल्यो । टेन्टमा बस्नेहरू कोही संक्रमित भएनन् । बाहिर जाँदा पो के–कसो हो जस्तो भयो,’ उनले भने ।

***

यशोधरा गाउँपालिका–७, सेमरी पोस्टका कमान्डर थिए सई देवीलाल आले । असारको मध्यतिर राति निदाउनै लागेका थिए, एक्कासि टेन्ट हल्लियो, उनी अत्तालिए । ‘एकलास सीमामा छौं, के भयो कसो भयो भनेर डर लाग्यो,’ उनले सुनाए, ‘उठेर हेर्दा हावाहुरीले टेन्ट लडाउनै लागेको रहेछ । हामी ४ जना टेन्ट समातेर बस्यौं ।’ त्यति बेला एक घण्टा बढी समय हावाहुरी चलेको थियो । त्यसपछि परेको पानीले पूरै टेन्ट भिजायो । कपडा भिजे । आलेका अनुसार टेन्टमा एक महिना बस्दा ४ पटक पानी पर्‍यो । टेन्ट चुहिन्थ्यो । भुइँ हिलाम्य हुन्थ्यो । हिलोले हातखुट्टामा घाउ भएको र हिँडडुल गर्न गाह्रो भएको उनले सुनाए । ‘औषधि खाँदै ड्युटी गर्‍यौं,’ उनले भने ।

सीमामा रासन, तरकारी किन्न जाने ठाउँ थिएन । गाउँलेलाई अनुनयविनय गरेर चामल तरकारीको व्यवस्था गर्नुपर्थ्यो । स्केल अनुसारको खानपिन पाउन गाह्रो थियो । राम्रो खान नपाउँदा शरीरलाई क्यालोरी पुग्दैनथ्यो । ‘तर पनि सुरक्षाको काममा कुनै कम्प्रोमाइज गरेनौं,’ आलेले भने, ‘१६ घण्टासम्म खटियौं ।’

उनको टोलीले करिब दुई किमि सीमा सुरक्षा गर्नुपर्थ्यो । राति टुकी बालेर ड्युटी चल्थ्यो । मोबाइल फोन गाउँलेकहाँ लगेर चार्ज गर्नुपर्थ्यो । गर्मीमा खलखली पसिना आउँथ्यो । टेन्टभित्र बस्न गाह्रो हुन्थ्यो । लामखुट्टेले उस्तै हैरान पार्थ्यो । अर्कोतिर सर्पबिच्छीको त्रास थियो ।

अरू बेला सेमरी नाकामा आउजाउको चाप बढी हुन्थ्यो । सुरक्षाकर्मी सीमामा टेन्ट टाँगेर बसेपछि आउजाउ ठप्प पारिएको थियो । यसमा स्थानीयले पनि सहयोग गरे ।

राप्ती गाउँपालिका–१, दाङका आलेले आफू सीमामा खटिँदा घर परिवारलाई छरछिमेकले गलत नजरले हेरेको दुखेसो गरे । ‘यो घरको मान्छे सीमामा खटिएको छ । त्यताबाट घरमा कोरोना सर्न सक्छ भन्दा रहेछन् । यस्तो व्यवहार सुन्दा नराम्रो लाग्यो,’ उनले भने । आफ्नो समस्या नसुनाएरै परिवारको मनोबल उच्च बनाउने कोसिस उनले गरिरहे ।

***

सशस्त्र प्रहरी बलका निरीक्षक थकाली थारू सीमावर्ती रंगपुरमा टेन्ट टाँगेर बसेका थिए । राति झमझम पानी परेका बेला हतियार जोगाउन समस्या हुन्थ्यो । टेन्टबाट पानी चुहिएर खाट, बिस्तरा र लगाउने कपडा सबै भिज्थे । ‘आफूले लगाउने रेनकोटले ढाकेर हतियार जोगाएँ,’ उनले भने, ‘अरू साथीले पनि आफू भिजेर भए पनि हतियार सुरक्षित राखे ।’

थारूका अनुसार अस्थायी टेन्टमा जेनतेन ज्यान अटाउँथ्यो । खाना खुला ठाउँमै पकाउनुपर्थ्यो । स्थानीयबाटै भाँडाकुँडा जुटाएर खानपानको बन्दोबस्ती गरिएको थियो । सहयोग गर्नेहरू विभिन्न बहाना बनाएर भारततिर आउजाउ गर्न खोज्थे । रोक्नासाथ भाँडाकुँडा र खाट माग्न आउँथे । ह्यान्ड पम्पको ह्यान्डिल निकालेर लुकाइदिन्थे । मोटरको लाइन काटेर पानी आपूर्ति बन्द गर्थे । ‘नयाँ समस्याबाट जुझ्न सक्यौं,’ सिद्धार्थनगर नगरपालिका–८, भैरव पथ रूपन्देहीका चौधरीले भने, ‘यसले सबैको क्षमता बढाएको छ । तत्काल दुःख भए पनि कार्यकुशलता बढेको महसुस भएको छ ।’

प्रकाशित : फाल्गुन ७, २०७७ १२:२९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×