हस्तलिखित ग्रन्थ जतन सुरु

ताडपत्र र रूखका बोक्रामा रहेका लेखोटको ढुसी सफाइदेखि पदक्रम मिलाएर नम्बर दिँदै जतन गरिँदै
गणेश राई

काठमाडौँ — जब कागज बनेको थिएन, त्यस बेला पनि लेखपढको काम हुन्थ्यो । मानिसहरू रूखका बोक्रामा लेख्थे । त्यस्ता पुरातात्त्विक महत्त्वका लेखोट त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयमा छन् । करिब पाँच सय वर्ष पुराना हस्तलिखित ग्रन्थहरू अब सफाइ गरेर नम्बर मिलाउँदै पुस्तकालयमा संरक्षणको काम भइरहेको छ ।

हस्तलिखित ग्रन्थ जतन सुरु

कतिपय दुर्लभ कृतिहरू धुजाधुजा हुन थालेपछि पुस्तकालयले संरक्षणको काम अघि बढाएको हो । अधिकांश ग्रन्थ कालो मसीले बाक्लो कागजमा लेखिएका छन् । ताडपत्र र काठको बोक्रामा लेखिएका छन् । कतिपय बाँसको पट्याँसमा पनि लेखिएका छन् । सबै ग्रन्थ पाना–पाना गरी खप्ट्याएर राखिएका छन् । एउटै पानाको दुवै पातोमा अक्षर लेखिएका छन् । पुराना यस्ता लेखोट एउटा पानाको एकातर्फ पहेंलो र अर्कोतर्फ सादा छ ।

‘किरा नलागोस् भनेर हरिताल दलेर राखिएको हुनेरहेछ,’ पहेंलो भागको चर्चा गर्दै संरक्षणमा संलग्न संरक्षण सहायक केदार घिमिरे भन्छन्, ‘एकपछि अर्को पाना खप्टाएर राख्दा दुवैतिर पहेंलो भाग पर्दोरहेछ । त्यसैले किरा लाग्नबाट जोगिँदोरहेछ ।’ यसरी जोगाइएका ६ सय ५० भन्दा बढी हस्तलिखित ग्रन्थ छन् ।

ती ग्रन्थहरू पाना–पानामा पढिने र राख्दा भाँचिन नदिन एकातर्फ अग्राख काठको पातलो फल्याक ग्रन्थकै आकारमा मिलाएर खप्टाइएका छन् । त्यसलाई रंगीविरंगी कपडामा बेरेर राखिएका छन् । ती सबै त्रिभुवन विश्वविद्यालय (त्रिवि) केन्द्रीय पुस्तकालयका र्‍याकमा छन् । बेलाबखत अध्येता आएर पढ्छन् । नत्र पोकाको पोकामै थिए । ‘यहाँ तीन सयदेखि पाँच सय वर्षका हस्तलिखित ग्रन्थ छन्,’ पुस्तकालय प्रमुख पूर्णलाल श्रेष्ठले भने, ‘त्यसयताका हस्तलिखित ग्रन्थ पनि छन्, जसमा डिल्लीरमण रेग्मी लिखित ग्रन्थ धेरै सेरिजमा छन् ।’


त्रिवि र जर्मनीको ह्याम्बर्ग युनिभर्सिटीअन्तर्गत हस्तलिखित ग्रन्थ संस्कृति अध्ययन केन्द्रबीच सम्झौता भएअनुसार संरक्षण काम सुरु भएको छ । केन्द्रका तर्फबाट डा. विदुर भट्टराई नेतृत्वमा ‘हस्तलिखित ग्रन्थ संग्रह संरक्षण’ कार्य थालिएको हो । संरक्षण कार्यमा त्रिविका बबिता सिंह र पार्वती पाठक तथा अध्ययन केन्द्रबाट तेजमाया महर्जन र केदार घिमिरे दैनिक खटिँदै आएका छन् ।

यी ग्रन्थ फरक शताब्दीका मात्र होइनन्, फरक–फरक भाषा, फरक–फरक लिपि र विषयका छन् । आयुर्वेद, भोट भाषा कागज, बौद्ध धरानी, बौद्ध सूत्र, दर्शन, धर्म, गाथा, गीता, हिन्दु धर्म, स्तोत्र, सूत्र, तन्त्र र टीका छन् । यसैगरी इतिहास, ज्योतिष, कथा, काव्य साहित्य, किराँत पुस्तक, महाभारत, महात्म्य, मन्त्र, रामायण, संहिता, पुराण, स्मृति, उपनिषद्, वंशावली, वास्तुशास्त्र, वेदवेदान्त, विविविधान, व्याकरण, योगा, युद्धशास्त्रलगायत छन् । अधिकांश नेपाली, संस्कृत, हिन्दी, मैथिली, नेपालभाषाका छन् भने किराँत पुस्तक किराँत लिपिका माध्यमबाट लिम्बू भाषामा लेखिएका छन् ।

स्याहार्ने काइदा भने नयाँ छ । संरक्षणकर्मीले होसियारीका साथ ग्रन्थका पोकाहरू आलोपालो खोल्छन् । हस्तलिखित ग्रन्थहरूको अवस्था बुझ्छन् । सबैको आँखा अक्षरको स्थितिमा पर्छ । ‘अक्षर मेटिने भए त्यसलाई संवेदनशील छ भनेर बुझ्छौं,’ संरक्षण सहायक घिमिरेले भने, ‘भ्याकुम प्रयोग गर्ने कि ब्रस गरेर अक्षरमा लागेको ढुसी फाल्न सकिन्छ । यदि ब्रस प्रयोग गर्दा अक्षर मेटिन्छ भने होसियारी अपनाउँछौं ।’

ग्रन्थको दुवै पातोमा लागेको ढुसी ब्रसले हटाउने वा भ्याकुमले तानेर सफा पार्छन् । सफा देखिएपछि विगतमा राखेकै पोकाजसरी नयाँ नेपाली कागजले बेर्छन् । नयाँ सुतीको सेतो कपडामा पोको पार्छन् । त्यो पोकालाई ‘इफ्लुट बोर्ड बक्स’ मा राख्छन् । त्यसलाई बाहिरबाट चिनिने गरी लेबल नम्बर टाँस्छन् । त्रिवि केन्द्रीय पुस्तकालयमा ६ सय ५० वटाभन्दा बढी हस्तलिखित ग्रन्थ छन् । अहिलेसम्म १ सय २० ग्रन्थ सफा गरिएको छ । त्यसमध्ये ५० वटा बक्समा राखिएको र १५ वटा बक्स लेभलिङ गरिएको संरक्षण सहायक घिमिरे जनाए ।

प्रकाशित : फाल्गुन ६, २०७७ २१:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?