बानियाँलाई मदन पुरस्कार हस्तान्तरण

कान्तिपुर संवाददाता

पोखरा — ‘महारानी’ उपन्यासलाई दिइएको मदन पुरस्कार–२०७६ शनिबार लेखक चन्द्रप्रकाश बानियाँलाई हस्तान्तरण गरिएको छ । कोभिड–१९ का कारण गत कात्तिक २ मा अनलाइनमार्फत सम्मान समारोह भए पनि पुरस्कार प्रत्यक्ष हस्तान्तरण हुन बाँकी नै थियो ।

बानियाँलाई मदन पुरस्कार हस्तान्तरण

मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितले पोखरा आएर बानियाँलाई पुरस्कार हस्तान्तरण गरेका हुन् । ‘महारानीलाई मदन पुरस्कारबाट सम्मानित गर्न सक्दा नेपाली समाज, इतिहास र भाषाका विविधता हेर्ने र बुझ्ने फरक आँखा भेट्टाएको अनुभव गरेका छौं,’ दीक्षितले भने, ‘एक ठाउँको राजनीति, इतिहास र आख्यान वा गैरआख्यान लेखनी भन्दा भिन्न रहेर फरक क्षेत्र, भाषा, इतिहास र संस्कृतिको विषयमा लेख्ने समय आएको छ ।’

पुरस्कृत स्रस्टा बानियाँले सकुन्जेल साहित्यिक क्षेत्रमा लागिरहने प्रतिबद्धता जनाए । ७ वर्षदेखि बस्दै आए पनि पोखराले आफूलाई र आफूले पोखराले नचिनेको भन्दै उनले स्रष्टाकै भूमिमा आएर पुरस्कृत गर्दा पोखरा र आफूले एकअर्कालाई चिन्ने अवसर पनि पाएको बताए । ‘स्रष्टाकै भूमिमा पुगेर पुरस्कृत गर्दा पुरस्कार र स्रष्टाको गरिमा अझै बढ्छ,’ उनले भने, ‘यो अपवाद नहोस् अब परम्परा बनोस् ।’

कार्यक्रममा कवि तीर्थ श्रेष्ठको विद्वत प्रवचन पढेर सुनाइएको थियो । श्रेष्ठको प्रवचनमा पोखराको वर्णन गरिनुका साथै संस्कृति, पर्यटन, साहित्य, कला, संगीत, शिक्षा, स्वास्थ्य क्षेत्रबारे उल्लेख गरिएको थियो । पोखराले मोदी, मादी र आँधीभित्रको क्षेत्रलाई समेट्नुपर्ने श्रेष्ठले जनाए । यसैगरी भारतको सिलीगुडीमा जगदम्बा श्री पुरस्कार पनि शनिबारै शान्ति ठटाललाई अर्पण गरिएको गुठीले जनाएको छ । दुवै पुरस्कारको राशी जनही ४ लाख रुपैयाँ छ ।

प्रकाशित : फाल्गुन १, २०७७ १७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?